मोहनबहादुर कँडेल –
सहकारी स्वच्छ सामूहिक भावनाबाट संगठित सामूहिक रुप हो । यसमा समान उद्देश्य, चाहना, आवश्यकता तथा इच्छा भएका दुई वा दुई भन्दा बढी मानिसहरु सदस्यको रुपमा रहन्छन् । सहकारीको सदस्यता प्राप्त गर्नका लागि धार्मिक, राजनैतिक, जातिगत र भाषिक आदी कुनै प्रकारको विविधताले असर पार्दैन । आफनो दैनिक जीवनमा आइपर्ने आवश्यकताहरुको परिपूर्ति एक्लैले पूरा गर्न कठिनाई पर्ने भएकाले समूहमा रही क्रियाशील रहन्छन् । यो एक किसिमको साझा संस्था हो । सामान्य अर्थमा सदस्यको हैसियत बनाएका व्यक्ति तथा समुदायको विकाससँग सम्बन्धित संस्थालाई सहकारी भनिन्छ ।
सहकारी भनेको के हो रु भन्ने सन्दर्भमा विभिन्न अर्थशास्त्री तथा सहकारीविद्हरुले विभिन्न किसिमका धारणाहरु व्यक्त गरेको पनि पाइन्छ । केही अर्थशास्त्री तथा सहकारीविद्हरुले दिएका परिभाषालाई यहाँ उल्लेख गर्नु सान्दर्भिक ठानिएको छ । यसै सन्दर्भमा विद्धान् हेनरी क्यालभर्ट ले समान आर्थिक चाहनाको प्रवद्र्धनका लागि व्यक्तिहरु स्वैच्छिक रुपमा मानवीय हिसावले एक आपसमा सम्बन्धित भएको सङ्गठनलाई नै सहकारी मानेका छन् । त्यसैगरी अर्का विद्धान् सी.एफ्.स्टि̭कलेन्ड ले सहकारीले इमान्दारितापूर्वक व्यक्तिहरुले साझा आर्थिक उद्देश्य प्राप्तिका लागि तयार गरिएको सङ्गठन जनाउने धारणा व्यक्त गरेका छन् । यसमा व्यक्तिगत जानकारी विवेक एक अर्कामा सहयोगी हुन सक्दछ ।
निर्णय निर्माण प्रक्रियामा सवै सदस्यलाई आफनो विचार, भावना तथा सुझाव राख्ने अधिकार सहकारीमा रहन्छ । प्रजातान्त्रिक मूल्य मान्यता, व्यवहार र आचरणको भरपुर अभ्यास गरिने भएकाले सहकारी संस्थामा सामाजिक न्याय सुरक्षित रहन्छ । सहकारी ऐन, विनियम, र आधारभूत नियमहरुको सीमाभित्र रही सदस्यहरु पारस्परिक सहकार्यका लागि एकजुट हुन्छन् । यसले विशेष गरेर सदस्यहरुको आर्थिक, सामाजिक तथा मानसिक सक्षमतामा वृद्धि तथा सुधार गर्ने उद्देश्य राखेको हुन्छ । तर पनि सामुदायिक उत्तरदायित्व अन्तर्गत समाज कल्याण र विकासका कार्यमा पनि महत्वपूर्ण योगदान पु–याउन सक्दछ । व्यक्तिगत रुपमा आफ्नो आवश्यकता पूरा गर्न नसक्ने, विभिन्न किसिमका शोषणबाट मुक्त हुन चाहने र आफ्नो जीवनस्तर सहकारिताको माध्यमबाट उकास्ने व्यक्तिहरुका लागि सहकारी उपयोगी देखिन्छ ।
नेपाल कृषिप्रधान देश हो । यहाँको अर्थतन्त्रमा साना तथा गरिव किसानको बाहुल्य रहेको पाइन्छ । धेरैजसो किसानहरु गरिवीको रेखामुनि रहेका छन् । उनीहरुको जीनवलाई प्रभाव पार्ने र त्यससँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने आवश्यकताहरु आफै पूरा गर्न सक्ने अवस्थामा छैनन् । आफ्नो आर्थिक तथा सामाजिक समस्याहरुको समाधान गर्न सक्ने सीप, क्षमता, दक्षता र हैसियत स्वयम्ले विकसित गर्न नसकेको वर्तमान स्थिति देखिन्छ । त्यसैगरी अरु मानिसहरु पनि विभिन्न पेशा, व्यवसाय र रोजगारमा क्रियाशील छन् । तर उनीहरु पनि आफनो पेशा तथा व्यवसायबाट सन्तुष्टि लिन सकेका छैनन् । यसको अर्थ उनीहरुको पनि आफ्नै किसिमको आवश्यकता, चाहना र साझा उद्देश्यहरु रहेका छन् जुन पूरा भै राखेको अवस्था छैन् । यस्तो परिवेशमा सहकारी उनीहरुको जीवनका लागि आधारशीलाको रुपमा लिन सकिन्छ ।
सर्वप्रथम बेलायतबाट सुरु भएको सहकारी अभियान अहिले विश्वव्यापी बनिसकेको सन्दर्भमा हाम्रो जस्तो विकासोन्मुख देशका लागि वरदान सावित भएको छ । विश्वका हरेक देशले आफ्नो परिवेश अनुसार सहकारी ऐन नियमको निर्माण गरी कार्यान्वयन गर्ने गरेको पाइन्छ । नेपालमा पनि सहकारी ऐन नियम तर्जुमा गरिएका छन् तर सहकारीकोे महत्व सहकारीकर्मी र सर्वसाधारण मानिसहरुको तहसम्म अझै बुझाउन र पु–याउन नसक्दा सहकारी विकासमा थुप्रै समस्याहरु सृजना भएका छन् । सहकारी विकासमा देखिएका समस्याहरुलाई यसप्रकार उल्लेख गर्न सकिन्छ ।
१) पुँजीको अभाव
कुनै पनि सहकारी संस्थाको उद्देश्य सदस्य तथा समुदायको साझा हित गर्नु नै हो । सहकारी संस्था सधै आम सदस्यहरुको सामाजिक तथा आर्थिक सुधार र विकासका लागि वित्तिय र अन्य आवश्यकतानुसारको परामर्श सेवा प्रदान गर्न क्रियाशील रहन्छ । तर हाम्रो जस्तो देशमा बसोवास गर्ने अधिकाँश मानिसहरुको आर्थिक अवस्था कमजोर छ । सहकारीमा आवश्यकता बमोजिम पुँजी निर्माण र त्यसको वैज्ञानिक वितरण हुन सकेको छैन् । सदस्यहरुले चाहेर पनि अपेक्षित बचत गरी पुँजी संकलन गर्न सक्दैनन् । जति मात्रामा पुँजी संकलन गर्न सकिन्छ, त्यत्ति मात्रामा व्यक्ति र समाजको आवश्यकता परिपूर्ति गर्न सकिन्छ । व्यक्ति र समाजको प्रगतिका लागि सञ्चालन गरिने कार्यक्रम तथा योजनाहरु विना लगानी सम्पन्न गर्न सकिदैन् । त्यसकारण पुँजीको अभावले सहकारी विकासमा कठिनाइ उत्पन्न गराएको छ ।
२) सहकारी संस्थाहरुको अवैज्ञानिक स्थापना
सहकारीहरु आफ्नो उद्देश्य र कार्यक्षेत्रलाई सिमित राखी स्थापना भएको पाइन्छ । विशेष गरेर व्यक्ति र समुदायको विकाससँग सम्बन्धित सवै पक्षलाई समेट्न सक्ने ढंगबाट सहकारीहरु स्थापना हुन सके मात्र यसले सदस्यहरुको सर्वाङ्गिण विकासमा योगदान पु–याउन सक्छ । नेपालमा ग्रामीण विकास र कृषिलाई उद्देश्य राखेर धेरैजसो सहकारीहरु खुलेपनि संस्थाको कार्यालयहरु गाउँ गाउँमा अझै पनि स्थापना हुन सकेका छैनन् । सुविधायुक्त ठाउँ, शहर बजारको छेउछाउ र जिल्ला सदरमुकाममा संस्था स्थापना गर्ने प्रवृत्ति देखिन्छ । वास्तवमा गाउँका किसानहरु चाहेर पनि सहकारी संस्थासँग सम्बद्ध हुन सकेका छैनन् । यसले गर्दा पनि सहकारिताको विकास आवश्यकता अनुसार गर्न सकिएको छैन् ।
३) नेतृत्वको समस्या
सहकारी संस्था त्यस्तो प्रजातान्त्रिक भावना भएको संस्था हो, जहाँ आफनो कार्यकारिणी, सञ्चालक, नेता आफ्नै सदस्यहरुले आफूहरुमध्येबाट निश्चित अवधिका लागि विनियमले तोके बमोजिम चयन गर्नुपर्ने हुन्छ । तर संस्था सञ्चालन गर्न जुझारु, क्रियाशील, सक्षम, सेवाको भावना भएको, नेतृत्व सीप भएको क्षमतावान् व्यक्तित्वको आवश्यक पर्दछ । नेतृत्वका लागि त्यस्ता व्यक्ति छनोट गर्न कठीन छ । नेतृत्वमा पुग्ने चाहना धेरैको हुन्छ, चाहना राख्नु स्वाभाविक पनि हो तर सेवा अवधिभर क्रियाशील पाउन कठीन छ । पुरानो नेतृत्वले नछाड्ने र नयाँ नेतृत्वले नधान्ने समस्याले सहकारी विकासमा बाधा उत्पन्न गरेको देखिन्छ ।
४) सहकारी शिक्षाको अभाव
सहकारीका आधारस्तम्भ नै यसका सदस्यहरु हुन् । सक्षम, शिक्षित र क्षमतावान् सदस्य नै सहकारीका सम्पति हुन् । आफना् सवै सदस्यहरुको क्षमता अभिवृद्धि गर्नु सहकारी संस्थाको दायित्व पनि हो । तर सहकारीमा प्रवेश गर्न इच्छुक व्यक्तिलाई सहकारी शिक्षामा समावेश गरे पश्चात मात्र सदस्यता प्रदान गर्ने परम्पराको विकास सहकारीमा भएको पाइदैन् । सदस्यता प्राप्त व्यक्तिलाई पनि प्रर्याप्त रुपमा सहकारी शिक्षा सम्बन्धी विविध कार्यक्रमहरु सहकारीहरुले प्रदान गर्न सकिराखेको अवस्था छैन् । एकातिर सहकारीमा सदस्यता संख्या वृद्धि गर्ने सोचको आधारमा मात्र सदस्यता वितरण गरिएको पाइन्छ भने अर्कातिर सहकारीको सिद्धान्तलाई भन्दा पनि सदस्य बनेपछि क्रृण लिन पाइन्छ भन्ने मानसिकताबाट प्रेरित भएर सहकारीहरुमा सदस्य बन्ने लहरले सहकारी शिक्षाको अभाव प्रस्ट रुपमा देखिन्छ ।
५) दक्ष जनशक्तिको अभाव
कुनै पनि संस्थालाई आफ्नो निर्धारित उद्देश्य प्राप्त गर्नका लागि दक्ष, इमान्दार, सक्षम, गतिशील र लगनशील जनशक्तिको आवश्यक पर्दछ । सहकारी पनि एक किसिमको संगठित संस्था भएकोले कुशल व्यवस्थापनका लागि योग्य जनशक्ति आवश्यक हुन्छ । तर नेपालमा यस्तो साझा संस्थालाई आवश्यक पर्ने जनशक्ति पर्याप्त मात्रामा उपलब्ध छैन् । यसको प्रत्यक्ष प्रभाव हाम्रा जस्ता सहकारी संस्थाहरुमा परेको देखिन्छ । यसले गर्दा संस्थाबाट सञ्चालित कार्यक्रमहरु प्रभावकारी रुपमा लागू हुन सकेको छैन् ।
६) नीतिगत समस्या
नेपालमा अझै पनि सहकारी संस्थाको विकास सम्बन्धी नीति विवादमुक्त रुपमा आउन सकेको छैन् । संस्थाको संस्थागत विकासका लागि नीतिगत स्पष्टता अनिवार्य हुन्छ । एकातिर अस्थिर राजनीतिक कारणले सहकारी ऐन तथा नियमावली समयानुकूल संशोधन र कार्यान्वयन हुन सकेको छैन् भने अर्कातिर सहकारी सञ्चालक तथा सदस्यहरुले सहकारी ऐन तथा नियमावली र विनियमको अध्ययन गरी कानुनी रुपमा साक्षर बन्न सकेको अवस्था छैन् । यसले सदस्य, सञ्चालक, समान प्रकृतिका अन्य संस्था र सरकारी निकायहरुले गर्ने कामका बीच समन्वयको अभाव रहेको छ । सरोकारवालाहरुको सम्बन्धमा पहूँच वृद्धि हुदाँ सहकारिताको विकासमा श्रृजित अवरोध हटी समस्या समाधानका लागि योगदान पुग्दछ ।
७) गरिबी
नेपालका अधिकाँश किसानहरु गरिव छन् । गरिवीको कारण उनीहरु पछाडि परेका छन् । सहकारी तथा अन्य साझा संस्थाहरुबाट क्रृण लिन आवश्यक धितो समेत उनीहरुसँग छैन् । धितो राखेर क्रृण लिन सक्ने भएका किसानहरुले पनि क्रणको वास्तविक रुपमा सदुपयोग गर्न सकिराखेका छैनन् । उनीहरु आफुले लिएको क्रृणबाट दैनिक व्यवहार चलाउन व्यस्त छन् । खास गरेर लगानी उत्पादनमुखी हुन सकेका छैनन् । यसले गर्दा उनीहरुले पाएको क्रृण उत्पादक भन्दा अनुत्पादक कार्यमा बढी खर्च हुने गरेको तितो यथार्थ हाम्रो सामु छ । यो पनि सहकारी विकासका लागि समस्या हो ।
अन्तमा विश्वमा नै लोकप्रिय इतिहास बनेको सहकारी नेपालको अर्थतन्त्रमा पनि एक सफल अभियानको रुपमा देखिएको छ । नेपाल र नेपालीहरुको आर्थिक उन्नयन र समुन्नतिका लागि सहकारी वरदान सावित भएको छ । सहकारीमा नियमित बचत गर्ने बानीले व्यक्तिलाई आत्मनिर्भरतातर्फ उन्मुख गरेको छ । तापनि शहरी क्षेत्रको तुलनामा ग्रामीण वस्ती वस्ती सम्म सहकारीलाई पु–याउन सकिएको छैन् । विशेष गरेर समान उद्देश्य र आर्थिक हैसियत भएका व्यक्तिहरुको साझा मञ्चको रुपमा सहकारी विकसित हुनु यसको विशेषता हो । सहकारिताको भावनाले व्यक्ति र समुदायमा सुख, शान्ति, समृद्धि र सवैखालको सम्पन्नता अनुभूति गर्न पाउनु नै सहकारीको यो आफैमा गौरवको पक्ष पनि हो ।
तथापि सहकारी विकासमा उल्लेखित समस्याहरु चुनौतिको रुपमा उभिएको छ । यो चुनौतिलाई अवसरको रुपमा ग्रहण गरी सहकारी विकासमा अगाडि बढ्नुपर्ने देखिन्छ । समस्या नै समाधानको जननी भएकोले सवैको सामूहिक प्रयासबाट सहकारीभित्र देखिएका समस्याहरुलाई हटाउन सकिन्छ । तर यसका लागि सहकारीकर्मी र सम्बन्धित सरोकारवालाहरुको सकारात्मक सोच र जिम्मेवारीपूर्ण उत्तरदायित्व खाँचो देखिन्छ । सहकारी आन्दोलनमा सहभागी हामी जो सुकैले पनि सहकारीको मर्म र भावनालाई कदर गर्न सके अवश्य नै सहकारी विकासका लागि धेरै रचनात्मक कार्यहरु सञ्चालन, रेखदेख र व्यवस्थापन गर्न सकिन्छ ।