अस्मिता खतिवडा / ५ साउन, धादिङ – धादिङमा हालसम्म ६० प्रतिशत रोपाइँ सकिएको छ ।
समयमै वर्षा सुरु भएका कारण गत वर्षको तुलनामा बढी रोपाँई सकिएको जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । मनसुन पूर्ण रुपमा सक्रिय भई सबै ठाँउमा एकैनाशले पानी परेका कारण गत वर्षको तुलनामा यस वर्ष जिल्लाको विभिन्न क्षेत्रमा रोपाईँ सकिएको छ ।
जिल्लामा अबको १५/२० दिनमै सबै रोपाइँ सकिने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले जानकारी दिए । जिल्लाका अधिकांश स्थानमा रोपाइँ सकिएपनि कतिपय स्थानमा भने मकै नपाकेकाले मकै लगाइएका खेतमा रोपाइँ गर्न बाँकी रहेको कौडालले जानकारी दिए । अघिल्लो वर्षको तुलनामा यो वर्ष छिटो रोपाई सकिने जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।
कार्यालयले दिएको जानकारी अनुसार अघिल्लो वर्षको यहि समयमा ४० देखि ४५ प्रतिशत मात्रै रोपाइँ भएको थियो । असार पहिलो साता देखि श्रावण दोस्रो साता सम्मको समय धान रोपाइँका लागि उपयुक्त मानिन्छ ।
जिल्लामा कुल १६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क छ । उन्नत जातका सावित्री, मकानपुरे १, सुख्खा ( १, २, ३ ), खुमल ( ४, ७, ६ ) लगायतका धान रापिंदै आएको छ । धान खेती अनुकुल वर्षा भएकाले यस वर्ष धादिङमा शत प्रतिशत क्षेत्रमा नै रोपाइँ हुने जिल्ला कृषि विकास कार्यलय धादिङको अनुमान छ । गत वर्ष धादिङमा ३० प्रतिशत क्षेत्रमा रोपाइँं नै भएको थिएन ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३३ प्रतिशत योगदान रहेकोमा धानको मात्र १० प्रतिशतभन्दा माथि रहेको छ । हाल नेपालमा धान खेती हुने जमिन वार्षिक रूपमा ६ प्रतिशतले घट्दै गइरहेको तथ्यांकले देखाउँछ । बर्सेनि उर्वर भूमि घरघडेरीका लागि उपभोग हुँदै जानु, जग्गा प्लटिङ गरी बाँझै राख्नु आदि कारणले खेतीयोग्य जमिनको क्षेत्रफल घट्दै गइरहेकाले चामलको उच्च मागलाई धान्न धानको उत्पादकत्व वृद्धि गर्नु आवश्यक रहेको विज्ञको भनाइ छ ।