Fri. Jan 31st, 2025

हामी निदाए देश डुब्न सक्छ

राजेन्द्र प्रताप शाह –

rajendra-pratap
लामो समयको अन्तरालमा स्तम्भ लेख्ने जमर्को गर्दैछु म । पाविल साप्ताहिकका प्रकाशक नवराज छत्कुलीजीको आग्रहलाई टार्न नसकेर एउटा सानो लेख लेख्न खोज्दै थिएँ, स्तम्भ नै शुरु गर्न मन लाग्यो ।

लेख्न थाल्यो लेखेको लेख्यै हुन्छ, लेख्न छोड्यो लेख्न छोडेको छोड्यै हुन्छ । लेख्ने कार्यलाई निरन्तरता दिनै यो स्तम्भ शुरु गरेको हुँ ।

तीन–चार महिनायता म अलि व्यस्त छु । व्यस्ततालाई परिभाषित गर्ने हो भने फुर्सद निकाल्न गाह्रोगाह्रो नै पर्दछ भनेर बुझिदिए हुन्छ । अखबारी लेखनको आकार नै कति ठूलो हुन्छ र ? चिया गफमै एउटा लेख पुरा गर्न सकिन्छ ।

त्यसो भनेर एउटा आर्टिकलको मूल्यलाई एक कप चियासँग तुलना गरेर आर्टिकलको मूल्य, मान्यता र त्यसले समाजमा पार्ने प्रभावलाई कम आँक्न खोजिएको होइन । भन्न खोजिएको के मात्र हो भने आर्टिकलको विषयवस्तु फुरेपछि त्यसलाई अक्षरमा उतार्नु त्यति कठिन कार्य होइन । विषय फुरेपछि त्यसले आफै बाटो तय गर्दछ ।

आर्टिकल या स्तम्भ लेखनको लागि लेखेर मात्र पनि हुन्न । त्यसमा स्पष्ट दृष्टिकोण हुनुपर्दछ, विचार हुनुपर्दछ । समाजलाई ठीकसँग अगाडि बढाउने खाका हुनुपर्दछ ।

जन्ती र मलामी जाँदाका उरन्ठेउले गफ स्तम्भका विषयवस्तु हुन सक्दैनन् । क्याफे र कफी सपमा विचारको मन्थन गर्न सकिएला । त्यस ठाउँलाई स्तम्भ लेख्ने चौतारी बनाउन सकिएला । तर मान्छेको अत्यधिक भीड लाग्ने चिया पसलको गफलाई आर्टिकलको विषयमा प्रवेश गराउन गाह्रै पर्दछ ।

हाम्रो बजार र गाउँघरका चिया पसलमा गफ चुट्ने र सुन्नेको जमघट हुने गर्दछ । यस्ता चिया पसलमा प्रायशः विषयवस्तुलाई हल्का रुपले उठान गर्ने गरिन्छ । त्यसमा गरिने टिप्पणी पनि त्यति गम्भीर प्रकृतिका हुन्नन् । मनोरञ्जनका लागि विषयवस्तुको उठान गरिन्छ, समीक्षा गरिन्छ ।

बिहान उठान गरिएका विषयवस्तुलाई साँझ त्यही स्थान र उही पात्रबाट पुनः फरक ढङ्गबाट प्रस्तुत गरिन्छ । समय र घटनाक्रममा भिन्नता आओस् या नआओस् चिया पसलमा उठान गरिने विषयवस्तुमा त्यसको कुनै प्रभाव देखिन्न ।

केही वर्षअघि मात्र धादिङमा आधा दर्जन पत्रिका प्रकाशित हुन्थे । अहिले त्यो संख्या निकै खुम्चिएको छ । पत्रिकाको स्थान अनलाइनले लिएको छ । अनलाइन पनि व्यवसायिक हुन सकेका छैनन् ।

धादिङबाट कति अनलाइन सञ्चालन गरिन्छ, त्यो मलाई यकिन थाहा छैन । अधिकांश अनलाइन खबर कपी पेष्टको रोगले ग्रसित भएकाले मलाई त्यसमा चासो पनि कम भएको हो । पाविल न्युज डट कम भने फुर्सद मिले हेर्ने गर्दछु ।

यो अनलाइनले व्यवसायिक हुने प्रयास गरेको छ । अनलाइन खबरले न्युज अनलाइन बन्ने केही कोशिस गरेको छ । विषयवस्तुमा विविधता दिन खोजिरहे पनि दक्ष जनशक्तिको अभावले यो अनलाइनले पनि चाहे जस्तो गर्न सकिरहेको देखिन्न ।

पेशेवार लेखकको हामी कहाँ अभाव छ । ठूलो संख्यामा यहाँ पत्रकार भए पनि उनीहरु रिपोर्टिङमै रम्मिरहेका छन् । अध्ययन, चिन्तन र मनन्तर्फ सञ्चारकर्मीको कमै ध्यान गइरहेको छ । मास्टर्स पढाउने कलेज भएर पनि बौद्धिक तर्कको प्रवाह गर्ने यहाँ प्राध्यापकको ठूलो खडेरी छ । मास्टर्स तहमा प्राध्यापन गर्ने शिक्षकहरुले आपूmलाई वैचारिक रुपमा माझ्नु पर्नेमा ट्युशन शिक्षकको रुपमा चिनाउन खोजी रहेका छन् । अधिवक्ताले त लेख्न सक्छन् भनेर पनि पाठकले बिर्सिसके ।

मेरो भनाइ के मात्र हो भने हामी पत्रकार, प्राध्यापक र अधिवक्ताले पनि नलेख्ने हो भने कसले लेख्ने ? हामीले पनि बाटो बिराएको राजनीतिलाई नघच्घच्याउने हो भने कसले त्यसलाई ट्रयाकमा ल्याउँछ ? समाजमा देखिएका विकृति र विसंगतिलाई हामीले नऔंल्यए कसले औल्याउँछ ?

समाज र देश बनाउन हामी अघि नसरे को सर्छ ? फेरि मलाई भन्न मन लाग्यो– हामी निदाए देश डुब्न सक्छ ।

About The Author