Fri. Jan 31st, 2025

नयाँ शक्ति र बाबुराम

माधव गुरुङ –

Madhav gurung
निक्कै हल्ली खल्ली र प्रचारका साथ पूर्व माओवादी नेता तथा पुर्व प्रधानमन्त्रीको अगुवाईमा मुलुकमा यतिखेर नयाँ दलको अवतरण भएकोछ । मुलुकको राज्यसत्ता विरुद्ध हतियार उठाएको कम्युनिष्ट दलको प्रमुख नेताका हैसियतमा मात्र नभई युद्धका मुख्य रणनीतिकारका रुपमा परिचय बनाएका बाबुरामको पछिल्लो राजनैतिक कदमलाई धेरैले अर्थपुर्ण रुपमा हेरेकाछन् । माओवाद विचारधारा आधारित दलका नेताको माक्र्सवादी चिन्नतमा आएको व्यापक परिवर्तनलाई कसैले मुलुकको वर्तमान परिस्थितिको उपजका रुपमा हेरका छन् भने कसैले बाबुराममा आएको वैचारिक विचलन भनेका छन् । अनि कसैले बाबुरामको अवसरवादी चरित्रको नयाँ स्वरुप भनेकाछन् ।

मुलुकले नयाँ संविधान जारी गर्दै गर्दा त्यसको मुख्य मस्यौदाकारका रुपमा भुमिका निभाएका पुर्व माओवादी नेता बाबुराम भट्टराईले संविधान जारी भए लगत्तै त्यसमा रहेका केही बुँदामा असहमति जनाउँदै आफु सम्बद्ध दल तथा सांसद पद समेतबबाट राजिनामा गरी नयाँ शक्तिको अभियान थालनी गरेको करिब एक बर्ष पछि काठमाण्डौको रंगशालामा पाँचलाख संस्थापक सदस्य दावी गरिएको नयाँ शक्ति घोषणा गर्दै गर्दा नेपालका राजनीतिक वृत्तमा पनि निक्कै तरंग उत्पन्न गर्यो। नयाँ शक्तिको अभियानमा संलग्नहरु मध्ये बाबुराम मात्र त्यस शक्तिको एक्ला हर्ताकर्ता भएको र नयाँ शक्तिको एक मात्र बलियो मियो बाबुराम मात्र भएको कुरा स्वंय उसका गतिविधिहरुबाट प्रष्ट देखिन्थ्यो ।

कुनै पनि राजनैतिक विचारधारालाई मुख्य रुपमा स्वीकार नगरी अबको निकास आर्थिक बिकास भन्दै जनतालाई आकर्षित गर्न नयाँ शक्तिले बाबुरामको एक मात्र छविलाई प्रश्तुत गर्न चाहेबाट पनि नयाँ शक्तिको धरातल बाबुराम बाहेक अरु केही होइन भन्ने तर्कलाई मद्दत गरेको देखिन्छ । नयाँ शक्तिको उदयले नेपाली जनताको आर्थिक सम्वृदिको चाहनालाई कसरी सम्बोधन गर्न सक्छ त्यो भविष्यको गर्भमा रहे पनि उसको उपस्थितिले नेपालको राजनीतिक खेल मैदानमा अर्को खेलाडीको उपस्थितिले राजनैतिक रंगमञ्चमा रोमाञ्चकता भने अवश्य पनि थपेकोछ ।

बाबुराम भट्टराईको नयाँ शक्तिले धेरै नेपाली जनतालाई आकर्षित गरे पनि त्यसको नयाँपनलाई भने बाबुरामको विगतको भुतले निरन्तर पछ्याइरहने देखिन्छ ।नयाँ शक्तिको मुख्य नायक बाबुराम नै भएकोले पनि उसको विगतमा भएको राजनैतिक भूमिका र उनले गरेका राजनैतिक आन्दोलन र त्यसका दुष्परिणामहरुबाट पन्छिएर नयाँ शक्तिको धारातल स्वच्छ मान्न सकिन्न ।नयाँ शक्तिले अबलम्बन गर्ने राजनैतिक कार्य दिशा वामपन्थी लोकतान्त्रिक शैलिको हुने भनिएपनि मुल सैद्धान्तिक धरातल बिना बाबुरामको एक्लो प्रयास र डिजाइनमा मात्र नयाँ शक्ति नयाँ नहुने निश्चितछ ।

बाबुराम भट्टराईमा आएको सैदान्तिक विचलन खासमा उसको पहिलो हुन चाहने उत्कट अभिलाषा(जुन अभिलाषा माओवादीमा प्रचण्डले सन्यास नलिए सम्म पुरा हुन सक्दैनथ्यो) थियो वा मुलुकको आवश्यक्ता त्यो त आगामी निर्वाचनहरुले नै स्पष्ट गर्ला । मुलुकको मुख्य कार्यकारी पदमा रहेर परख भैसकेका बाबुरामको नयाँ शक्तिले बाबुराम बिना पनि दिशा लिन सक्छ सक्दैन त्यो भविष्यको गर्भमै रहेपनि बाबुराम बिनाको नयाँ शक्ति कल्पना पनि गर्न नसकिने तथ्य त्यस भित्र अटाएको अन्य व्यक्तिहरुको अनुहार हेरेर थाहा हुन्छ जुन कुरा उसले आफ्नो घोषणा सभाको प्रचारमा अपनाएको शैलीले पुष्टि गरेकोछ ।

बाबुराम भट्टराईले आफ्नो विगतको छविका बारेमा स्पष्ट नगरी उनकै एकल नेतृत्व र प्रयासमा थालिएको नयाँ शक्ति अभियानको उपादयेता पुष्टि उनको आर्थिक बिकासको नाराले मात्र गर्न सक्दैन। बाबुराम माथी लागेका आरोपहरु तथा उनको विगतको राजनैतिक दर्शनका बारेमा उनको स्पष्ट धारणा नआएसम्म नयाँ शक्ति पनि पसलहरुको भीडमा खोलिएको नयाँ पसल मात्र हुनेछ जस्ले ग्राहकलाई सेवाबाट भन्दा पनि नारा र विज्ञापनबाट आर्कषित गर्ने गर्दछ ।दल समान विचारहरुको साझा चौतारी हुने भएपनि विचार नै नभएकाहरुको जमात बटुुलेर बाबुराम भट्टराईले नयाँ शक्ति सिर्जना गरेका छन् । नयाँ शक्ति बाबुरामको बिकास महत्वकांक्षा भन्दा पनि पुरानो दलमा रहँदा पहिलो हुन नसकेको कुण्ठाको परिणाम हो वा अन्य कुनै त्यसको बारेमा अनुमान मात्र लगाउन सकिएपनि हालका लागी नयाँ शक्तिलाई शुभकामना मात्र भन्न सकिन्छ ।

अर्थमन्त्री हुँदा बटुलेको विकासप्रेमी छवी उनले आफ्नो प्रभानमन्त्रीत्वकालमा निमिट्यान्न पारेका थिए गलत राजनैतिक अडानका कारण ।हठी र आफ्नो आलोचना सुन्न नचाहने बाबुरामको नयाँ शक्तिले कसरी समाजमा नयाँपनको आभाष दिनेछ आगामी दिनहरुमा प्रष्टिदै जानेछ ।थुप्रै आशंकाहरुलाई मलजल दिदै माओवादी केन्द्र(तत्कालीन नेकपा माओवादी)बाट अलग्गिएका बाबुरामले आफ्ना बारेमा जनमानशमा उठेका भ्रमहरुलाई नचिरीकनै नयाँ शक्तिको उपदेयता पुष्टि गर्न खोज्नु राजनैतिक बेइमानी हुनेछ ।

पुरानो पार्टीमा रहँदा लिएको राजनैतिक दर्शन र विचारलाई गलत नठानी र त्यसलाई त्याग्नुपर्नाको उचित जवाफ नदिइकनै हिंसा जनित राजनैतिका कार्य दिशा ठीक थियो पनि भन्ने अर्कोतिर मुलुकमा नयाँ शक्तिको आधारभुत विचार र दर्शननै नबोक्नुले उनको विचलन केका लागी भन्ने प्रश्न जन्माउन सक्छ।।राजनैतिक दिशाका सवालमा एमालेलाई नभाले न पोथी भन्दै उभयलिङ्गीको दर्जा दिएका बाबुरामले उनी आफै चै अहिले कुन लिंगी भएका छन् ?जवाफ जनताले खोज्दैछन्।

About The Author