Tue. Mar 4th, 2025

भीडद्वारा शासित नेता, लोकतन्त्र र विकल्पको कुरा

सुदर्शन खतिवडा –

sudarsan khatiwada
नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालयदेखि पार्टीका संयोजक डा.बाबुराम भट्टराईको निजी निवास सानेपासम्म नियाल्दा केही रोचक यथार्थसँग साक्षात्कार भइन्छ । केन्द्रीय कार्यालयमा प्रायः सबै नेताहरु खाली खालीजस्तै हुँदा पार्टीका संयोजक डा.बाबुराम भट्टराईलाई ‘श्वास फेर्ने फुर्सद’ पनि हुँदैन । उमेरले साठी नाघेका उनको जीवनशैली दौडधुपमै बितिरहेको छ । वरिपरि झुम्मिन चाहने भीडहरुद्वारा लखेटिएका जस्ता देख्छु म उनलाई ।

उनीसँग हात मिलाएर, उनले हस्ताक्षर गरेको पार्टी सदस्यता लिएर, उनीसँग फोटो खिचेर सामाजिक सञ्जालमा राख्नासाथ धेरै नयाँ शक्तिका नवप्रवेशी अभियन्ताहरुलाई पुरानोबाट रातारात रुपान्तरण भएर ‘नयाँ’ बन्छु भन्ने भ्रम दिनानुदिन झांगिरहेको छ ।

जिल्लातिर बस्दा नागरिकता बनाउने अचम्मको तरिका देखेको÷भोगेको थिएँ । कुनै दलको नेताको हात समाएर जिल्ला प्रशासन पुग्यो, सिधै सिडियोलाई भेट्यो अनि सामान्य प्रक्रियालाई पनि कुल्चिएर नागरिकता बनायो । सिडियो एनजिओको गोष्ठीमा सहभागितादेखि दलका नेताहरुको प्रक्रिया मिचेर आउने ‘सिधा काम’ गर्न व्यस्त । उनीभन्दा तलका कर्मचारी सधैं बेरोजगार र सर्वसाधारणलाई सामान्य काम गर्न पनि सास्ती र झन्झट । प्रक्रिया र पद्धति सधैं आवश्यकताको अचानो बन्नुपर्ने ।

जिल्लामा भोगेको केन्द्रमुखी प्रवृत्तिले काठमाडौंलाई त गाँजेको छ नै, वैकल्पिक राजनीतिक धार निर्माणमा लागेको नयाँ शक्तिलाई पनि गाँजेको छ । पुराना राजनीतिक पार्टीहरुलाई भोगेकै छौं । जब नयाँ उत्साहको साथ नयाँलाई हेर्छु, उही ताल, उही संस्कार, उही अभ्यास अनि सुगाको शैलीमा नयाँको रटान ।यहाँनेर लाग्छ, ‘उही काम उही तरिकाले पटकपटक दोहो¥याउने तर फरक नतिजाको अपेक्षा गर्नु पागलपन हो’ भन्ने अल्बर्ट आइनस्टाइनको भनाईलाई बिर्संदै हामीले ज्ञान र विज्ञानका गफ चुटिरहेका छौं ।

कुनै समय थियो, जतिबेला सयौं वर्षदेखि भगवानकै रुपमा आदर्शीकरण गरिएका राजासँग लड्नुपर्ने थियो । फलामलाई काट्न फलाम नै चाहिन्छ भनेझैं हामीले पनि हाम्रा नेताहरुलाई आदर्शीकरण ग¥यौं । पूजा पनि ग¥यौं । हाम्रा नेताहरु बलिया भए, राजतन्त्रविरुद्ध छेडिएको लडाई जितियो । राजाले ‘देखिने’ श्रीपेच फुकाल्दै दरबार छाडेर गए तर हाम्रा नेताहरुको शीरको ‘नदेखिने श्रीपेच’ हामीले फुकाल्न सकेनौं र नेताहरुले आफैं फुकाल्न चाहेनन् पनि ।

सामन्तवादविरुद्ध लड्दा अभ्यास गरिएको अति नेतृत्व केन्द्रीकरणको हाम्रो अभ्यासले हामीलाई ग्रस्त बनाइरहेको छ । जब व्यक्तिहरु आश्चर्यजनकरुपमा बलिया हुँदै जान्छन् र प्रक्रिया र प्रणाली कमजोर हुने अभ्यासलाई हामी जानी वा नजानी प्रश्रय दिइरहेका हुन्छौं, ढुक्क हुनुहोस् लोकतन्त्र कमजोर भइरहेको छ । मलाई जनयुद्धकालको सम्झना छ, रक्सी पिएर समाजलाई दुःख दिने व्यक्तिलाई माओवादीले ‘जनकारवाही’स्वरुप नियन्त्रणमा लिन्थ्यो । एकाध हप्तासँगै हिँडे पछि ऊ पछि आफैं माओवादीको पूर्णकालीन कार्यकर्ता बन्दथ्यो । त्यसको केही समयमै ऊ गाउँका अगुवा र शिक्षकहरुलाई ‘कन्भिन्स’ गर्न थाल्दथ्यो । त्यतिबेला जनयुद्धमा जुन एउटा ‘प्रणाली’ स्थापित थियो, त्यो बलियो थियो, जसले त्यो अभियानमा सहभागी हुनासाथ बलियो बनाउँथ्यो, सापेक्षित सक्षम बनाउँथ्यो । यतिबेला मैले नयाँ शक्तिमा लाग्ने भीडलाई नजिकबाट हेरिरहेको छु तर मलाई कुनै पनि ‘अलौकिक भगवान’ वा व्यक्तिप्रति विश्वास छैन । म त बरु यो पार्टीले अहिलेसम्म पुराना पार्टीहरुले गरिरहेको अभ्यासलाई सच्याएर पार्टीलाई सुविचारित र बलियो प्रणालीको रुपमा विकास गर्न सक्छ कि सक्दैन, त्यसैसँग यसको भविष्य अन्तरनिहित रहेको कुरामा ढुक्क छु ।

डा. भट्टराई स्वयम् नेता कार्यकर्ताहरुसँगको भेटघाटमा भन्ने गर्नुहुन्छ, ‘व्यक्ति ठूलो कुरा होइन, मुख्य कुरा त प्रणाली हो । मसँग त्यस्तो जादूको छडी छैन । हामी सबैले मिलेर काम गर्नुपर्छ ।’ तर अभ्यासको जुन श्रृंखला छ, यसले उहाँको भनाईमाथि प्रश्न चिह्न ठडाइरहेको छ । व्यक्तिमा निष्ठा, क्षमता र कर्मको तीनवटै गुण छ तर पनि परिवर्तन हुँदैन भने त्यसको एउटै अर्थ हुन्छ व्यक्ति र प्रणालीको बीचमा बेमेल छ । दिर्घकालीन नतिजाको लागि कि व्यक्ति फेरिनुपर्छ कि प्रणाली । दुवै फेरिन असम्भव भयो भने दुवैको औचित्य सकिन्छ ।

हाम्रो समाज र संस्थाहरुमा मर्यादाहरुको यति धेरै पर्खालहरु खडा भएका छन् कि यसले स्वभाविक गतिलाई नै अवरुद्ध गरिरहेको छ । कुनै दलको युवा नेता बहुप्रतिभाशाली र सक्षम भए पनि उनी पार्टीको मुख्य नेतृत्वमा पुग्दा ६० कटिसकेका हुन्छ किनकी मर्यादाक्रमको यति धेरै अग्ला पहाडहरु खडा भएका छन् कि छोटो समयमा त्यसलाई पार गर्नु मुस्किल प्रायः हुन्छ ।

ओबामा आफ्नो विशिष्ट क्षमता देखाउँदै हात हल्लाउँदै राजनीतिमा आउन सक्छन्, केही युनिभर्सिटीहरुमा आफ्ना प्रवचन दिन्छन् र रातारात राजनीतिको शीर्ष स्थानमा उदाउन सक्छन् तर हाम्रोमा त्यो सुविधा छैन । यो किन ?किनकी जनतादेखि कार्यकर्तासम्मले तल्लो मर्यादाक्रममा रहेकालाई टेर्दै टेर्दैनौं । माथिल्लो मर्यादाक्रममा भएकाहरु काम र अवसरलाई बाँढेर बढीभन्दा बढी नेता कार्यकर्तालाई परिचालन गर्नै चाहँदैनन् वा जान्दैनन् । यहाँ नेता र कार्यकर्तादेखि जनतासम्मको प्रवृत्तिले अतिकेन्द्रीकरणलाई मलजल गर्न कुनै न कुनै भूमिकामा सघाइरहेका हुन्छन् । क्षमतालाई भन्दा पदलाई विश्वास गर्नु पनि सामन्तवाद हो । यो चिन्तन जनतादेखि सुरु भएर नेतासम्म छ ।

सानो प्रसंगको याद आयो, एउटा किसानले खेतमा काम गर्दागर्दै गहिरो खाडलमा कसैले उपहार दिएको घडी खसालेछ । धेरै खोज्यो, फेला पार्न सकेन । नजिकैको विद्यालयको विद्यार्थीहरुको भीडलाई घडी खोज्न अनुरोध गर्दै उनले भने, ‘मेरो घडी फेला पार्नेलाई म उपहार दिनेछु, किनकी त्यो घडी मेरो लागि सामान्य छैन ।’ हुलमुलका बीचमा विद्यार्थीहरुले एकसाथ घडी खोजे, पाउन सकेनन् । सबै फर्किपछि एउटा विद्यार्थी एक्लै आयो, खाडलमा पस्यो र घडी निकालेर बाहिर निस्कियो । किसानले अचम्म मान्दै सोध्यो, ‘यो कसरी सम्भव भयो ?’ बालकले शान्तपूर्वक जवाफ दियो, ‘मैले घडी होइन, घडीको टिकटिक आवाज पछ्याएँ र यो सम्भव भयो ।’

म निश्चितताका साथ भन्न सक्छु, यदि बिपी जेल परेका थिएनन् भने उनको प्रसिद्ध कृतिहरु जन्मिने थिएन । हामीले हाम्रा नेताहरुलाई सामान्यभन्दा सामान्य र प्राविधिक काममा यतिधेरै व्यस्त बनाइरहेका छौं कि हामीले उनीहरुको क्षमता र सम्भावनामाथि बन्ध्याकरण गरिरहेका छौं ।

विचारको संकटमा बाटो नपाएर निसास्सिएको आजको विश्वलाई हामीले नयाँ बाटो दिने कुरागरिरहेका छौं । तर हामी स्वयम् भने भीडहरुद्वारा शासित छौं । हामीले हाम्रा नेतृत्वहरुलाई पनि बेफुर्सद बनाइदिएका छौं । रोगले ग्रस्त बुढा प्रधानमन्त्री केपी ओली दैनिक दर्जनौं कार्यक्रममा धाउन बाध्य छन् । प्रचण्डको हालत त्यस्तै छ । अरु नेताको पनि । यो त ठिकै छ, तर वैकल्पिक राजनीतिक अभ्यासमा जुटेको हाम्रो पुस्ता किन उही पुरानै आदतको दास भइरहेका छौं ? आवाज पछ्याएर घडी फेला पार्ने बालकजस्तै युगको आवाज सुनेर बाटो खोज्नुपर्ने नेतृत्वलाई हामीले जबरजस्त भीडमा हराउन बाध्य पारिरहेका त छैनौं ?

बाबुराम सहभागी हुने कुनै कार्यक्रममा पुग्छु । मञ्चमा कुर्सी नराख्ने बाक्लो अभ्यास थालेको छ नयाँ शक्तिले । तर दर्शकदिर्घाको अगाडि राखिएका केही कुर्सीहरु नेताहरु बस्दछन् । बाबुरामकै वरिपरि बस्नेको भीड देख्छु । पछाडि बसेर मनमनै सोच्छु, ‘कार्यक्रममा सहभागी एक दर्जनभन्दा बढी सचिवालय सदस्यहरु जनताको लहरमा छरिएर बस्दै कार्यकर्ता र सहभागीहरुसँग अन्तरक्रियामार्फत आत्मीयता बढाए वैकल्पिक राजनीतिक धार निर्माणमा के घाटा लाग्थ्यो होला र ?’

यस्तो परम्परा केन्द्रदेखि जिल्लासम्म विद्यमान छ । हामी सबैलाई थाहा छ, नेता भनेका मानिस नै हुन् हामी जस्तै । गुण र दोषसहितका । न उनीहरु देवता हुन् न राक्षस । तर हामी मन पर्नासाथ उसलाई भगवान बनाइदिन्छौं र रिस उठ्नासाथ राक्षस । न हाम्रा नेता राक्षस हुन् न भगवान । उनीहरु मान्छे बाहेक केही पनि होइनन् । तर यहाँ हामीले नेतालाई मान्छे बनेर बाँच्ने अधिकार पनि दिएका छैनौं । सामाजिक सञ्जाल प्रयोगकर्ता हामी नेपालीको मानसिकता र चेतनास्तरले यही भन्दछ ।

जब हामीलाई नेता अलिकति मनपर्छ, पूजा गर्न थालिहाल्छौं । लाग्छ, माओवादी केन्द्रका लागि प्रचण्ड, नयाँ शक्तिका लागि बाबुराम, एमालेलाई ओली भगवान नै हुन् । तर अर्को पार्टीका नेता राक्षस नै हुन् कि जस्तो लागिहाल्छ । जब कार्यकर्ताले पार्टी फेर्छन्, पहिला राक्षस भनेका नेता पुनः देवता बन्न थाल्छन् । प्रचण्ड माओवादी छाडेर वैद्यसँग फुटेर जाँदा प्रचण्डलाई ‘लाल गद्दार’ र वैद्यलाई ‘आदर्श नेता’ मानेका नेता कार्यकर्ता अहिले प्रचण्डतिरै फर्केपछि त्यही सम्बोधनलाई उल्ट्याइरहेका छन् । अब भन्नुहोस्, यहाँ रातारात नेता फेरिएका, रुपान्तरित भएका हुन् कि कार्यकर्ता ? यसले हाम्रो चेतनास्तरलाई देखाउँछ ।

कुरा नयाँ शक्तिकै गरौं, किनकी यसले पुरानोको निरन्तरतामा क्रमभंग गरेर सबैलाई विकल्प दिने कुरा गरिरहेको छ । जब म पार्टी कार्यालयको बनौट हेर्छु, कार्यालयमा कार्यकक्ष बाँडफाँडमा नै अस्वभाविक लाग्ने मर्यादाक्रम छुट्याइएको छ । कार्यकक्षमा विशिष्टिकरण सामान्य कुरा लाग्छ, तर यसले हाम्रो दृष्टिकोण, संस्कार र दिशालाई संकेत गर्दछ । एक नेताबाट अर्को नेताको अस्वभाविक दूरी र अनावश्यक तहहरु सिर्जनाले लोकतन्त्र बलियो हुँदैन । कुनै नेतालाई लागोस् कि म एकदिन कार्यालय नआउँदा मलाई फरक पर्छ, अरुलाई पनि । तर जब संयोजक नआउँदा कार्यालय सुनसान हुन्छ र आउँदा भीड बढ्छ तर अन्य कुनै सदस्यले आफू कार्यालय आउनु र नआउनुको महत्व अनुभूति गर्न सक्दैन भने यसले अन्तरपार्टी जनवादलाई बिस्तारै नोकरशाहमा बदल्छ ।

एमाओवादीमा प्रचण्डको एप्स र निजी वेबसाइट छ तर सिंगो पार्टीको वेबसाइट अद्यावधिक छैन । रुसतिर जाउँ, स्टालिनको पालामा त्यहाँ विकास थियो, पहिलोपटक अन्तरिक्षमा त्यहीँका वैज्ञानिक गएका थिए, जनता लक्षित कार्यक्रम थिए । त्यही बेलाको अभ्यास हो, अहिले पनि रुसका रेष्टुरेन्टहरुमा बिहान बिहान निशुल्क ब्रेड दिइन्छ । तर त्यस्तो व्यवस्था टिक्न सकेन, किन ? किनकी त्यहाँ पार्टीभित्रको जनवाद कहिल्यै सजिव र कामकाजी भएन । यही अभ्यासको विकल्प खोज्नको लागि नै नयाँ शक्ति र त्यो पनि वैकल्पिक राजनीतिक शक्ति हो भने हामीले आफू सच्चिन र नेताहरुलाई पनि सच्याउन ढिला गर्नुहुँदैन ।

About The Author