१७ पुस, धादिङ – आफ्नो स्वर्गीय माता पिताको सम्झनामा निमार्ण गरिएको मलामी विश्राम घरको उद्घाटन गरिएको छ ।
बिहीबार एक कार्यक्रमको आयोजना गरी नीलकण्ठ नगरपालिकाका कार्यकारी अधिकृत विश्वराज मरासैनीले उद्घाटन गर्नुभएको हो ।
नीलकण्ठ नगरपालिका – ३, शान्तबजार बस्ने रिद्धिप्रसाद दनै श्रीमती बेश कुमारी दनैले आफ्नो स्वर्गीय पिता माईबकस दनै र माता विष्णुमाया दनैको सम्झनामा कुल ६ लाखको लगानीमा निमार्ण गरेकोे हुन् ।
मलामी विश्राम घर बनीसकेपछि अब सहज हुने देखिएको छ । त्यस वरपरको वातावरण, तटबन्ध, शौचालय निमार्णमा नीलकण्ठ नगरपालिकाले पहल गर्ने कार्यक्रममा जानकारी गराइएको छ ।
पुछार बजार टोल सुधार समितिका अध्यक्ष अमृता रेशमीको अध्यक्षतामा सम्पन्न उदुघाटन कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमालेका वैकल्पिक सदस्य खेम लोहनी, नेपाल पत्रकार महासंघ धादिङका निवर्तमान अध्यक्ष सीताराम प्रसाद बर्मा, समाजसेवी, बजारबासीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको अवसरमा मलामी विश्राम घरको निर्माणमा सहयोग गरेबापत पुछार बजार टोल सुधार समितिले रिद्धिप्रसाद दनैलाई सम्मान पनि गरेको छ ।