अस्मिता खतिवडा / २५ असार, धादिङ – नेपाल सरकारको पुर्वाधार विकास कार्यक्रम अन्तर्गत सडक स्तर उन्नतिका लागि सरकारले लागु गर्न लागेको नीतिका विषयमा सांसद गुरु प्रसाद बुर्लाकोटीले टिप्पणी गरेका छन् ।
विनियोजन विधेयक २०७३ को विभिन्न शिर्षकहरुमाथि हुने छलफल सम्बन्धी सम्भावित कार्यक्रममा मन्त्रीले जबाफ दिए पछि बुर्लाकोटीले जिज्ञासा राख्दै सडकको लम्बाई अनुसार स्तरउन्नतीको रकम छुट्याइनुपर्ने बताए । डिभिजन कार्यलय मार्फत प्रमाणीकरण गरेर सडकको लम्बाई अनुसार रकम छुट्याऊनु पर्नेमा बुर्लाकोटीले जोड दिए ।
प्रधानमन्त्रीको ध्यानाकर्षण गराऊँदै सांसद बुलाकोटीले भने– ‘छोटो–लामो सबै दुरीका सडकलाई रु ४ लाख २० हजार दिने निर्णय गलत छ । ३० किलोमिटर सडकलाई पनि ४ लाख २० हजार १ किलोमिटर सडकलाई पनि ४ लाख २० हजार भन्नु सहि छैन । डिभिजन कार्यलय मार्फत प्रमाणीकरण गरेर रकम वितरण गर्नुपर्छ ।’
त्यस्तै संसदमा आफ्नो कुरा राख्दै धादिङका अर्का सांसद दिलमान पाख्रिनले कटुञ्जेबाट त्रिपुरेश्वर हुँदै गोरखा आरुघाट निस्कने मध्यपहाडी लोकमार्ग डेढ वर्ष देखि अहिले सम्म निर्माण कार्य सुरु नभएको प्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।