२२, असार – पोर्चुगलका नानी भ्यालेन्सियामा अनुबन्धित भएका छन् । स्पेनिस क्लब भ्यालेन्सियाले फेनरवाचीका नानीलाई अनुबन्ध गरेको जानकारी दिएपनि कतिमा अनुबन्ध गरिएको हो भन्ने खुलाएको छैन । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी २९ वर्षका नानी अहिले युरोकपका लागि पोर्चुगलको टिममा छन् ।
नानीलाई इंग्लिस क्लब स्टोक सिटीले भित्र्याउन चाहेको थियो । उनले स्पोर्टिङ लिस्बोनबाट व्यवसायिक खेल जीवन सुरु गरेका थिए । नानीले भ्यालेन्सियासँग तीन वर्षको सम्झौता गरेका छन् ।
नानी सन् २०१५ मा तीन वर्षको सम्झौतामा फेनरवाची गएका थिए । म्यानचेस्टर युनाइटेडमा रहँदा नानीले चार वटा प्रिमियर लिग र एक च्याम्पियन्स लिग उपाधि जितेका थिए । गएको सिजन फेनरवाचीबाट ४६ खेल खेलेका उनले १२ गोल गरेका थिए ।
नानी भ्यालेसिन्या आएपछि सन् २००८ को सिजनमा एउटै क्लब म्यानचेस्टर युनाइटेडबाट खेलेका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो र नानी आउँदो सिजन एउटै क्लबबाट नभएपनि एउटै लिग, ला लिगामा एकअर्का विरुद्ध खेल्ने भएका छन् । रोनाल्डो सन् २००९ देखि ला लिगा क्लब रिय मड्रिडमा छन् ।