सरिता श्रेष्ठ
१६ पुस, धादिङ – धादिङमा चलिरहेको महोत्सवमा केराबाट बनेको परिकारहरु प्राय सबैले चाख्न भ्याएका छन् ।
केरा फलको रुपमा मात्र खाने गरेकाहरुले अन्य परिकारका रुपमा पनि पाउँदा दङग पर्दै चाख्ने गरेको व्यापारीहरु बताउँछन् । केराबाट बनेको परिकार खान भनेर मात्र पनि मेलामा आउने गरेको नीलकण्ठ नगरपालीका – ६ सुब्बा श्रेष्ठको भनाई छ ।
सदरमुकाम धादिङबेसीमा पुस ७ गतेदेखि सुरु भएको मध्यमाञ्चल क्षेत्रीय मेला तथा चौथो धादिङ महोत्सवमा राखिएको केराको मःम, चिप्स र वुंगाको अचार चाख्न सधैँ लाइन नै बस्नुपर्ने हुन्छ ।
धेरैले केरा एउटा फल मात्र हो भन्ने बुझेको छ । तर यसबाट हरेक किसिमका परिकार बनाउन सकिन्छ भन्ने कुरालाई चितवन केरा व्यावसायी समितिले चरितार्थ गरिदिएको छ । समितिले केरा एक परिकार अनेक नारा दिएर ५ वर्ष अघिबाट सञ्चालनमा ल्याएको हो ।
केराबाट मःम, चिप्स र वुङ्गोको अचार बनाइन्छ । मेला महोत्सवमा आफूहरुले भ्याएसम्म विक्रि गर्ने गरेको समितिका सदस्य तिलक प्रसाद भट्टले जानकारी दिनुभयो ।
केरा फलमात्र होईन आधार पनि हो भन्दै केरा खेती पहिचान, कृषिमा नयां अभियान नारा दिँदै देशभर हुने मेला महोत्सवमा भ्याएसम्म आफूहरु गएर व्यावसायिक प्रचार प्रसार र विक्री गर्दै आइरहेको समितिको भनाई छ ।
धादिङ मेलामा दैनिक १ हजार भन्दा बढीले केराको परिकारको स्वाद लिई गरेको गरेको भट्टले बताउनुभयो । केरा खेतीलाई खाद्यन्न संकट हुने क्षेत्रमा विस्तार गरी फललाई आधारका रुपमा खान सचेतना फैलाए खाद्यन्न संकटमा कमी हुन सक्छ ।