काठमाडौं – एमाले स्थायी कमिटी बैठकले संविधानका विवादित विषय पुनस् संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिमा फर्काउन नहुने निष्कर्ष निकालेको छ। बैठकले संवाद समितिमा विवादका विषय फर्काउँदा संविधान निर्माण नहुने सहमति नहुने हो भने प्रक्रियाबाट निकास निकाल्ने निर्णय गरेको हो।
एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकले माघ ८ मै संविधान बनाउने गरी पार्टीले भूमिका खेल्ने निर्णय गरेको हो। संविधान निर्माणमा दबाब दिन पार्टीले पुस १८ गते सबै जिल्लामा आयोजना गर्न लागेको बृहत् कार्यकर्ता भेला सफल बनाउन केन्द्रित हुने निर्णय पनि बैठकले गरेको छ।
काठमाडौंबाहिरका १५ मुख्य सहरमा आयोजना हुने कार्यकर्ता भेलामा पार्टी अध्यक्ष केपी शर्माओलीलगायत केन्द्रीय पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ।
करिब एक घन्टा बसेको स्थायी कमिटी बैठकमा कांग्रेस(एमाले संविधान बनाउन लागिपरे पनि एमाओवादी संविधान बन्न नदिने ढंगले प्रस्तुत भएको विषयमा छलफल भएको थियो।
अन्तिम अवस्थासम्म पनि एमालेले सहमतिका लागि पहल गर्नेछ, सहमति हुन नसक्ने हो भने प्रक्रियाबाट अघि बढ्न सहमति खोज्नुपर्छु, बैठकको निष्कर्ष सुनाउँदै सचिव भट्टराईले भने, फेरि संवाद समितिमा विवादलाई फर्काउनु हुँदैन, सभाबाटै निकास निकाल्नुपर्छ।
बैठक पार्टी नेताहरूको कार्यविभाजन गर्ने कार्यसूचीसहित बसेको भए पनि गृहकार्य नपुगेकाले यसबारे कुनै निर्णय भएन। दुई साताअघि सम्पन्न केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको जिम्मा स्थायी कमिटीलाई दिएको थियो। शीर्षनेताहरू काठमाडौंबाहिरका कार्यक्रममा व्यस्त भएकाले गृहकार्य नपुगेको भट्टराईले जानकारी दिए।
(अन्नपूर्ण अनलाइनबाट साभार)