Fri. Mar 14th, 2025

मागका आधारमा धादिङका किसानहरुलाई अनुदान दिएका छौँ : कौडाल

mahendra kaudal

नेपाल सरकारले किसानहरुलाई लक्षित गरी देशभर युवा लक्षित कार्यक्रमको आयोजना गरेको छ । यसले हरेक जिल्ला जिल्लामा किसानहरुलाई आयआर्जन तथा व्यवसायीक रुपमा खेती गर्नका लागि जिल्ला कृषि विकास कार्यलय मार्फत अनुदानको व्यवस्था मिलाइएको छ । यसै सन्दर्भमा किसानलाई प्रदान गरिएको कृषि अनुदान तथा धादिङको अवस्थाका बारेमा जिल्ला कृषि विकास कार्यलय धादिङका प्रमुख महेन्द्र कौडालसँग पाविलन्युज डटकमका संवाददाता अस्मिता खतिवडाले गरेको कुराकानी

युवा लक्षित कृषि अनुदान कार्यक्रम किन ?

– युवाहरु कृषि पेशामा विकर्षण भएको ठानेर नेपाल सरकारले युवाहरुलाई कृषि पेशामा लाग्नका लागी तरकारीको कार्यक्रम, च्याऊको कार्यक्रम, मौरीको कार्यक्रम लगायतका कृषि सम्बन्धी विभिन्न कार्यक्रम संचालन गर्दै आएको अवश्था छ । यसको मुख्य उद्येश्य भनेको विदेशबाट फर्केका युवाहरु, रोजगारीको शिलशिलामा विदेशिन खोजेका युवाहरु, लक्षित वर्गका युवा युवतीहरुलाई आफ्नै देशमा निश्चित अनुदान रकम विऊ पुंजीको रुपमा नेपाल सरकारले दिने, त्यो अनुदान रकमबाट उहाँहरुले आफ्नो श्रम र सिप प्रयोग गरेर लगानी बढाएर देशमा नै बसेर आत्मनिर्भरता तिर जानको लागी यो कार्यक्रम ल्याइएको हो । तरकारी उत्पादनका लागी भनेर प्रति किसान रु ४० हजार अनुदान दिएका छौँ भने माछा पालनका लागी भनेर प्रति किसान रु ५० हजार, च्याऊ खेतीका लागी रु ४० हजार र मौरी पालनका लागी रु १ लाख ८० हजार सम्म चाहिं हामीले युवा लक्षित अनुदान दिइरहेको अवस्था छ ।

 यो कार्यक्रम धादिङमा कहिले देखि लागु भयो र यस पटक कति युवाहरु कार्यक्रमबाट लाभान्भित भए ?

– युवा लक्षित कृषि अनुदान रकम अहिले धादिङ जिल्लामा दोस्रो वर्षमा चलिरहेको छ । गत वर्ष जस्तो मौरी पालन र च्याऊ खेतीको कार्यक्रम यो वर्ष हाम्रो जिल्लामा संचालन हुन सकेन । मौरी पालन र च्याऊ खेतीको कार्यक्रम चाहिं यसपाली कटौती भएको छ भने हामीले अहिले तरकारीको क्षेत्रमा युवा लक्षित कार्यक्रम अन्तर्गत ६० जना युवाहरुलाई रु ४० हजारका दरले अनुदान रकम वितरण गरेका छौँ । जहाँ ३० प्रतिशत अर्थात २२÷२३ जना महिलाहरु अनिवार्य हुनहुन्छ । त्यस्तै लक्षित वर्ग भनेर हामीले चेपाङ समुदायका २२ जना युवाहरुलाई पनि रु ४० हजारका दरले अनुदान दिइसकेका छौँ । त्यस्तैगरी मत्स्य पालन अर्थात माछा पालन अन्तर्गत पनि केहि युवाहरु छनोट प्रक्रियामा रहिरहेको अवश्था छ ।

जिल्लाका कुन कुन क्षेत्रका युवाहरु कार्यक्रममा समेटिएका छन् ?

– हामीले सरसर्ती सबैजसो गाविसलाई त समेटेका छौँ, जस्ले युवा लक्षित कार्यक्रममा आफ्ना प्रस्तावहरु पेश गर्नुभएको थियो । त्यसमा पनि हामीले तरकारी खेती गरेर स्व–आर्जन गर्न सक्ने, तरकारीको बजारीकरणका लागी पकेट क्षेत्र मानिएका स्थानका युवा किसानहरुलाई हामीले प्राथमिकतामा राखेका छोँ । आफ्नो जग्गा नभए्र पनि भाडामा जग्गा लिएर तरकारी खेती गर्न चाहने युवाहरुलाई पनि हामीले प्रेरणा दिइरहेका छोँ ।

 मलाई पनि अनुदान चाहियो भनेर निवेदन दिने युवाहरु त धेरै थिए होला, कसरी सिमित युवाहरुको छनोट गर्नुभयो ?

– वास्तवमा भन्नुपर्दा छनोट गर्ने काम निकै आलोचनात्मक हुन्छ । हामीलाई पनि धेरै समस्या परेको हो । हाम्रो धादिङमा युवा लक्षित कृषि अनुदान कार्यक्रमका लागी निवेदन दिने युवाहरु सांढे ४ सय को हाराहारीमा हुनुहन्थ्यो । त्यस मध्येबाट ६० जना तरकारी खेती गर्ने युवाहरुलाई छनोट गर्दा हामीलाई निकै नै समस्या प¥यो । किनभने धेरै मेहनती युवाहरु तथा हामीले अनुदान दिनै पर्ने युवाहरुलाई पनि हामीले समेट्न नसकेको अवश्था छ । किनभने अनुदान रकम निकै थोरै थियो, निवेदन अत्याधिक । यसरी ६० जना मात्रै युवा छनोट गर्दा विशेष प्रावधानमा रहेर हामीले काम ग¥यौँ । जो विदेशबाट फर्केर और नेपालमा कृषि पेशा गर्न चाहनुहुन्छ उहाँहरुले आफ्नो पासपोर्टको फोटोकपी पनि हामीलाई दिनुभएको थियो । त्यस्ता युवाहरुलाई हामीले प्राथमिकता दिएको अवश्था छ । र लक्षित वर्गका युवाहरुलाई पनि हामीले प्राथमिकता दिएका छौँ । यसरी युवा छनोट गर्दा ३० प्रतिशत महिला अनिवार्य हुनुपर्नेमा पनि हामीले जोड दिएका छौँ ।

अघिल्लो वर्षको अनुदान कार्यक्रम कस्तो रह्यो ?, कार्यक्रम प्रभावकारी भयो भन्ने आधार के ?

– जो जो किसानहरुले अनुदान पाउनुभयो । उहाँहरुले आफुले पनि लगानी थपेर ३÷४ लाख लगानी गरेर तरकारी खेती गरिरहेको उदाहरणहरु धेरै छन् । हामी आफु फिल्डमा गएर हेर्दा खेरी पनि निकै राम्रो गरेको र हिजोको अवस्थाबाट उहाँहरु निकै माथि उठिसकेको अवस्था छ । उहाँहरु निकै सफल भएको उहाँहरुकै भनाईबाट पनि पुष्टि हुन्छ । त्यसैगरी स्थानिय अन्य कृषक दाजुभाइ तथा सहकारीका व्यक्तिहरु संग हामीले बुझ्दा खेरी पनि अनुदान पाएकार यि युवाहरुले निकै नै राम्रो गरे, अन्य युवाहरुलाई पनि यसरी उत्साहित गर्न सकेमा विदेश जाने क्रम घट्थ्यो की भन्ने जस्ता जिज्ञाशाहरु पनि आइरहेका छन् । युवा लक्षित कार्यक्रम चाहीं अझै बढाइदिनुप¥यो, केन्द्रमा भनिदिनुप¥यो भन्ने लगायतका कुराहरु पनि आइरहेका छन् । नागरिकहरुबाट, हाम्रा दाजुभाइ दिदिबहिनीहरुबाट आएका ति पृष्ठपोषण, ति जिज्ञाशा नै हामीले हाम्रो सफलताको कशीको रुपमा लिएका छाँैँ ।

अघिल्लो वर्ष र यस वर्षको अनुदान कार्यक्रममा के फरक छ ?

– खासै त्यस्तो फरक केहि पनि छैन । एक प्रकारले भन्नुपर्दा गत वर्षको अनुदान वितरण कार्यक्रम हामे लागी एऊटा अनुभव पनि हो । गत वर्षबाट हामीले सिक्नुपर्ने पाठ पनि धेरै छन् । अनुदान दिंदा खेरी कस्ता युवाहरुलाई समेट्दा राम्रो हुंदो रहेछ, कस्ता युवाहरुलाई दिंदा सफल नहोर्इंदो रहेछ भन्ने कुरा हाम्रो जिल्ला कृषि विकास कार्यलयलाई पनि एऊटा सिकाइको माध्यम पनि भयो । त्यसले गर्दा हामीमा पनि धेरै सिकाई भएको छ र अनुदान कार्यक्रमलाई परिस्कृत गर्दै व्यवहारिक रुपमा संचालन गर्नका लागि हामीलाई पनि प्रेरणा मिलेको छ । निकै लोकप्रिय रुपमा यो कार्यक्रम संचालन भएको छ । अनुदान कार्यक्रमले गर्दा कृषि पेशा प्रति युवाहरुको ध्यान पनि आकर्षित हुँदो छ । रु ४० हजार उहाँहरुको लागी त्यत्ति ठुलो रकम त हैन, तर पनि नेपाल सरकारले प्रेरणा स्वरुप दिएको यो रकम बाट युवाहरु निकै हर्षित हुनुहुन्छ, खुशी हुनुहुन्छ । यो बाहेक ५ प्रतिशत ब्याजदरमा कृषि ऋणका लागी पनि हामीले सिफारिस गरिरहेको अवश्था छ । धादिङ जिल्लामा पनि ५ करोड भन्दा बढि नेपाल वाणिज्य बैंकबाट ऋण वितरण भएको अवश्था छ ।

 आगामी वर्षमा अनुदान रकम तथा सिट सङ्ख्या बढ्छ ? संभावना कस्तो देख्नुभएको छ ?

यो कार्यक्रम त अवश्य पनि बढ्दै नै जाने कार्यक्रम हो । घट्ने खालको कार्यक्रम होइन । किनभने हामीले युवाहरुलाई कृषि प्शामा आकर्षित गर्न सकेनौं भने, नेपालमा त बच्चाबच्ची र बुढाबुढी मात्रै रहने अवश्था पनि आउन सक्छ । त्यर्सले गर्दा पनि युवाहरुलाई नेपालमै रहेर नेपालकै माटोमा सुन फलाउनका लागि यस्ता कार्यक्रमहरु निश्चय नै बढाउनुपर्छ । नेपाल सरकारले आगामी वर्षको वजेटमा यो कार्यक्रमलाई बढाउन लागेको छ । यो बाहेक पनि नेपाल सरकरले कृषि पेशालाई सम्मानीत पेशाको रुपमा लैजानका लागी कृषकलाइ पेन्सनको व्यवश्था गर्ने कुरामा पनि कृषि मन्त्रालयले आफ्ना कार्यक्रम अगाडी बढाइरहरको छ ।

 युवाहरुलाई कृषि पेशामा आकर्षित गर्नको लागि आगामी दिनमा जिल्ला कृषि विकास कार्यलय धादिङ कसरी लाग्नेछ ?

– कृषिलाई मर्यादित र आकर्षित बनाउनका लागि कृषकलाई निक्षेपको व्यवश्थाका लागी यहि वर्षको बजेटमा पनि रकम विनियोजन गर्ने लक्ष्य कृषि मन्त्रालयको छ । यो वर्ष यसलाई सम्भाव्य अध्ययनको रुपमा लिइएको छ । आगामी वर्ष पक्कै पनि यो कार्यन्वयनमा आउनेछ । त्यो बाहेक कृषकलाई ५ प्रतिशत अनुदानमा सुलभ कृषि ऋण उपलब्ध गराउने, कृषकलाई जोखिमबाट जोगाउन ७५ प्रतिशत अनुदानमा कृषि विमा गराऊने, कृषकहरुलाईै धान काट्ने, धान चुट्ने तथा जोत्ने विभिन्न प्रकारका मेसिनहरु ५० प्रतिशत अनुदानमा उपलब्ध गराऊने लगायतको व्यवश्था मिलाइंदैछ । त्यस्तै जग्गा बाँझो राख्ने काम निरुत्साहित गर्नको लागि किसानले चाहेमा जग्गा भाडामा लिएर पनि व्यवसाय तथा खेती गर्न सक्ने व्यवश्था मिलाउने लगायतका कार्यक्रमहरु पनि आगामी वर्षका लागी प्रस्तावित भएका छन् । मलाई जहाँ सम्म लाग्छ, आगामी वर्षको वजेटमा यो प्रस्तावमा सरकारको ध्यान अवश्य जानेछ ।

 अन्तमा, कृषि पेशामा लाग्न चाहने युवाहरुलाई तपाईंको सन्देश ?

– कृषिको भविष्य कृषि पेशामा लाग्ने युवाको भविष्य निकै राम्रो छ । विदेश जानुपर्दैन, स्वदेशकै माटोमा सुन फलाउन सकिन्छ । यसमा कृषि विकास कार्यलय धादिङ तथा कृषि मन्त्रालयले तपाईंहरुलाई सधैं साथ दिइरहनेछ । धन्यावाद ।

About The Author

अन्य समाचारहरु: