लक्की चौधरी – सरकारीस्तरबाट सञ्चालित एकमात्र समाचार उत्पादन एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का एकजना समाचार अधिकृतले गुनासो गर्दै भने, “राससको मेरो बाइलाइनसहितको समाचार नाम चलेको राष्ट्रिय दैनिकमा भोलिपल्ट अर्काको बाइलाइनमा हुबहु प्रकाशित भयो ।” गुनासो गरुँ भने त्यो दैनिक पत्रिका राससको ग्राहक छ । वार्षिक लाखौं तिर्छ । नगरुँ भने मेरो मेहनतमा पानी फेरिएको छ । टाउको कन्याउँदै उनले मनको बह पोखे । त्यो गुनासो उनकोमात्र हैन ।
राससमा कार्यरत पत्रकारले प्रायः यस्तो गुनासो सुनाउने गर्छन् । चोरी गर्नेको पहिचान र पत्रिकाको कटिङ पनि उनीहरुले राखेका छन् । चोर्ने पत्रकारलाई चिन्छन् तर उजुरी गर्न जाँदैनन् । कारण, ग्राहक बिग्रन्छ कि मनमा डर छ । “चोर्नेले समाचारको लाइन तलमाथि गरिदिए हुन्थ्यो, सोही सूचनालाई लिएर रिराइट गरिदिए हुन्थ्यो, लिड परिवर्तन गरेर समाचारको एंगल फेरिदिए हुन्थ्यो” राससका पत्रकारले चियागफमा सुनाउने गर्छन् । तर हुबहु, माथिदेखि तलसम्म लाइनबाईलाइन शब्दसमेत परिवर्तन नगरेर बाइलाइन राखेर समाचार पठाउँछन् । शीर्षक राती डेस्कमा सम्पादकले लगाउने हुनाले कहिलेकाहीं शीर्षक परिवर्तन हुन्छ, कहिले त जस्ताकोतस्तै पर्छ । यस्तो गुनासो राससमा कार्यरत पत्रकारले दिनकादिन गर्छन् ।
त्यस्तै, एकजना नाम चलेको अनलाइन न्यूज पोर्टलमा कार्यरत पत्रकारले राससका पत्रकारजस्तै गुनासो सुनाए । “एकसाता लगाएर समाचारको खोजी गरें । अनलाइनमा साँझ बाइलाइनसहित समाचार अपलोड पनि भयो । भोलिपल्ट नामचलेको दैनिक पत्रिकामा अर्काेले आफ्नो बाइलाइन राखेर जस्ताकोतस्तै समाचार प्रकाशन गरिदियो । न साभार लेख्यो न मेरो समाचारको कुनै क्रेडिट नै ।” अनलाइन न्यूज पोर्टल सञ्चालन भएपछि प्रिन्टलाइनका पत्रकारलाई निकै सहज भएको बुझाई ती पत्रकारको छ । न्यूज पोर्टलमा तथ्य गलत भएको समाचार अपलोड हुँदा भोलिपल्ट प्रिन्ट मिडियामा पनि त्यही गलत तथ्यसहितको समाचार प्रकाशन हुनेगरेको उनले धेरै उदाहरण सुनाए । तर उनले समाचार चोरी भएको उजुरी दिन सम्बन्धित निकायमा गएनन् । कारण, चोर्ने पत्रकार उनको आफ्नै साथी रहेछ ।
एउटा ब्रोडसिट पत्रिकामा अर्को न्यूज पोर्टलको समाचार हुबहु स्रोत उदृत नगरी प्रकाशित भएछ । यत्तिसम्म कि सो पत्रिकाका पत्रकारले स्रोतको बाइटलाई समेत सच्याउन भ्याएनछन् । फलानो अनलाइनलाई बताए भनेर समाचार ब्रोडसिट दैनिकमा प्रकाशित गरेछन् । डेस्कवालाले पूरै समाचार नपढी लिडमात्र पढेर शीर्षक लगाइदिएछ । समाचार प्रकाशित भएपछि भोलिपल्ट सम्पादकीय शाखामा हल्लीखल्ली मच्चेछ । समाचार लेख्ने र सम्पादन गर्ने डेस्कवालालाई सम्पादकले स्पष्टीकरण लिन भ्याएछन् । तर समाचार कसले लेखेको हो भन्ने पत्ता लगाउन सकेनछन् । अन्दाजको भरमा एउटा पत्रकारलाई धम्क्याएछन् । जागीर खाइदिनेसम्मको धम्की दिएपछि पत्रकार तनावमा । ‘मैले लेखेको समाचारै हैन’, भन्दै पत्रकार उल्टै जङ्गिएपछि सम्पादकलाई उल्टै तनाव । समाचार कसरी प्रकाशित भयो, कसले चलखेल ग¥यो भन्ने कुरा सो पत्रिकाका सम्पादकले अहिलेसम्म पत्ता लगाउन सकेका छैनन् ।
माथिका यी कपिपत्रकारिताका केही उदाहरण मात्रै हुन् । यस्ता घटनाहरुको फेहरिष्ट कति छन् कति । हरेक मिडिया हाउसमा यस्तो समस्या आउनेगर्छ । कसैले भूलबस गल्ती गर्छन् । कसैले नियतबस । जसरी गरेपनि गल्ती त गल्ती नै हो । पत्रकारले गर्ने गल्तीको शिकार निर्दोष पाठक पनि हुन्छ । गलत तथ्य दिएर समाचार प्रकाशन गर्दा पाठकले त्यही समाचार पढ्छ र त्यसैलाई सही मान्छ । पैसा तिरेर पत्रिकाको ग्राहक बनेका पाठकको एकातिर पैसा नास हुन्छ, अर्कोतिर गलत सूचनाको शिकार । पत्रकारले समाचार आफ्नो लागि लेख्ने होइन । अरुका लागि लेख्ने हो । मात्र उसले सूचना प्रवाहको पुलको काम गर्ने हो । समाजलाई सुसूचित गर्ने जिम्मेवारी लिएर पत्रकारितामा प्रवेश गर्नेले आफ्नो जिम्मेवारीको हेक्का राख्नैपर्छ । पत्रकारिता एक किसिमिको समाजसेवा हो । नागरिकलाई सुसूचित गर्ने धर्म र कर्तव्य दुवै पत्रकारको हो । आफ्नो कर्तव्यबाट च्यूतहुन पत्रकारलाई सुख छैन । तर सही र तथ्यपरक सूचना र समाचार पस्कनुपर्छ । समाजलाई दिग्भ्रमित हुनेखालका तथ्यहिन सूचना एवं समाचार पस्कनु हुँदैन । पत्रकारको सानो गल्तीले समाजलाई ठूलो नोक्सान भइरहेको हुन्छ । पत्रकारले भोलिपल्ट पत्रिकाको एक कुनामा त्रुटी सच्याउन सक्छ तर व्यक्ति र समाजमा परेको नोक्सानको गल्ती सच्याउन सम्भव हुँदैन । कतिपय विषयहरु सच्याउन चाहेर पनि सच्चिनेखालका हुँदैनन् । हुने नोक्सान भइसकेका हुन्छन् ।
अहिले न्यू मिडिया अनलाइनको जगजगी छ । संख्यात्मक विकास ठूलो भएको छ । पत्रकारपिच्छे न्यूज पोर्टल हुनेगरी संख्या बृद्धि भइरहेको छ । तर सबै न्यूज पोर्टलको तथ्याङ्क सम्बन्धित निकायमा छैन । सामाजिक सञ्जालमा शेयर हुने समाचारबाट कतिपय न्यूज पोर्टलबारे जानकारी हुन्छ । आफू केन्द्रीत समाचार प्रकाशन गरेर सामाजिक सञ्जालमा शेयर हुनेगर्छन् । लाइकका लागि फेसबुकको मेसेन्जरमा अनुरोध आउने गर्छन् । त्यही न्यूज पोर्टलको समाचारहरु स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित हुन्छन् । तर साभार उदृत गरिदैनन् । प्रिन्टलाइन मिडिया र इलेक्ट्रोनिक मिडियाहरुको अधिकांश न्यूजको आधार त्यही अनलाइन न्यूज पोर्टल बन्छन्, बन्नेगरेका छन् ।
अहिलेको युग सूचना प्रविधिको युग हो । मान्छेको हातहातमा स्क्रीनटच मोबाइल छन् । मोबाइलमै अनलाइन न्यूज पोर्टलका समाचारहरु उपलब्ध छन् । रेडियो एफ.एम. त्यही मोबाइल सेटमा प्रशारण हुन्छन् । छिनछिनमा पाठकले त्यही प्रविधि प्रयोग गरेर आफूलाई अपडेट बनाइरहेको हुन्छ । न्यू मिडियाको प्रयोग बढेसँगै पत्रकारलाई पनि थप जिम्मेवार र संवेदनशील हुन आवश्यक छ । प्रिन्ट मिडियाको समाचारभन्दा बढी पहुँच अनलाइन मिडियामा पाठकको छ । अहिले नेपालमा करिब ४४ प्रतिशत नागरिकको इन्टरनेटमा प्रत्यक्ष पहुँच छ । त्यसैले पनि सही र तथ्यपरक सूचना एवं समाचार पस्किन पत्रकारको ठूलो जिम्मेवारी बनेको छ । ख्यालख्यालमा गरिने पत्रकारिताले समाजलाई ठूलो समस्यामा पार्नसक्छ । न्यू मिडियामार्फत् गरिने पत्रकारिता अहिले परिपक्व भइसकेको छैन । सामाजिक सञ्जाललाई पनि अहिले न्यू मिडियाको कोटीमा राख्ने गरिएको छ । सामाजिक सञ्जालमा जोकोहीले सुचना पोष्ट गरिदिनसक्छ । त्यो सूचना तथ्यपरक होस् कि नहोस् । कसैले आफ्नो लाइक बढाउनका लागि तथ्यहिन सूचना प्रेषित गरिदिने गर्छ । कसैले सेलेव्रेटिका लागि पोष्ट गर्छ । सञ्जालमा आउने सबै सूचनाहरु आधिकारीक हुँदैनन् । त्यसलाई पाठकले त्यहीरुपमा बुझ्नुपर्छ । सूचनालाई भेरिफाइ गर्नुपर्छ । अन्यथा ठूलो फँसादमा पर्न बेर लाग्दैन । सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने सबै पत्रकार होइनन् । यो हेक्का पाठकले गर्नुपर्ने आवश्यकता छ ।
प्रेस काउन्सिल नेपाल मिडियाको नियमनकारी एकमात्र स्वायत्त निकाय हो । पत्रकारको अभिभावक संस्था हो । तर त्यसले सही अभिभावकत्व प्रदान गर्न सकेको छैन । उसको आफ्नै समस्या छन् । सीमित स्रोत साधनको घेरामा खुम्चिन बाध्य काउन्सिललाई त्यो सम्भव हुने विषय पनि होइन । आजभन्दा छयालिस वर्ष पहिले वि.सं. २०२७ असोज ६ गते स्थापना भएको प्रेस काउन्सिल नेपालको स्रोतसाधन त्यही हो । जनशक्ति त्यही हो । थोरैमात्र बढोत्तरी भएको छ । छयालिस वर्ष पहिले सयको हाराहारीमा मिडियाहाउस थिए । त्यसको नियमन गर्न सहज थियो । अहिले दशौंहजार छन् । जनशक्ति त्यही छ । स्रोतसाधन त्यही छ । नियमन कसरी प्रभावकारी हुन्छ ? यस विषयमा काउन्सिलले सरकारको ध्यानाकर्षण नगराएको होइन । गुनासो नपोखेको होइन । तथापि अपेक्षित सुधार भएन । सीमित स्रोतसाधनले काउन्सिलो काम प्रभावकारी हुने कुरै भएन । यो समस्या काउन्सिल सामु छ नै । तथापि समयानुकुल आफूलाई परिमार्जित गर्नु पर्छ नै । नियमनकारी निकाय नै कमजोर र स्रोतसाधनविहिन भयो भने त्यसको प्रतिफल राम्रो आशा गर्न सकिदैन ।
नेपालको पत्रकारिता आचारसंहिताले न्यू मिडियालाई सम्बोधन गर्न सकेन भनेर अहिले काउन्सिलले आचारसंहिता २०७३ को मस्यौदा गरेको छ । त्यसमा अनलाइनलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । प्रस्तावित आचारसंहिताको भाग ४.९ मा निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने व्यवस्था गरेको छ । त्यसअन्तर्गत प्रचार शक्तिको आधारमा कुनै पत्रकारले कसैलाई डराउने, धम्काउने, अनुचित आर्थिक फाइदा उठाउने, व्यक्तिगत स्वार्थपूर्ति गर्ने घृणित कार्य गर्नुहुँदैन भनिएको छ । तर केही पत्रकार यस्ता पनि छन् जसले आफूसँग मिडिया छ भन्दैमा आरुलाई धम्काएर ठूलो रकम हात पार्नेगरेका छन् । संघ संस्था र व्यक्तिको कमजोरीलाई सार्वजनिक गरिदिने धम्कीसहित पैसामा मोलमोलाई गर्छन् । रकम नपाए सूचना सार्वजनिक पनि गर्छन् । त्यसले एकातिर पत्रकारलाई अमर्यादित बनाएको छ भने अर्कोतिर ज्यानको जोखिम पनि बढाएको छ । पत्रकारितालाई कमाउधन्दा बनाउने पत्रकार पनि छन् यहाँ । यसको अनुगमन काउन्सिलले गर्न सकेको छैन । पत्रकार आफै इमान्दार र नैतिकवान भएमा आचारसंहिताको आवश्यकता पनि पर्ने थिएन । समाजमा यस्ता विकृति र विसंगतिहरु जहाँ पनि हुन्छन् । तर त्यसको न्यूनिकरणमा जिम्मेवार निकाय तदारुकता देखाउनै पर्छ ।
त्यस्तै, प्रस्तावित मस्यौदाको भाग ४.२८ मा अनलाइन पत्रकारितामा थप सचेत हुनुपर्ने बुँदा राखिएको छ । त्यसमा कुनैपनि अनलाइनमा आएको सामग्रीको सत्यता परीक्षण नगरी पुनः समावेश (रिपोष्ट) गर्नुहुँदैन भन्ने व्यवस्था गरिएको छ । तर हाम्रो पत्रकारिताको गलत ट्रेन्डले त्यसलाई झन मलजल गरिरहेको छ । अनलाइनमा आएका समाचारलाई विना भेरिफाइ प्रिन्ट र इलेक्ट्रोनिक मिडियामा धमाधम प्रकाशन र प्रशारण हुने गरेका छन् । यसले ‘कपिपत्रकारिता’लाई झन पोस्नेकाम गरिरहेका छ । यसको नियमन कसले गर्ने ? काउन्सिल एक्लैले सबै विषयको नियमन गर्न सम्भव पनि छैन । पत्रकार महासंघ लगायतका सञ्चार सम्बद्ध संघ संस्थाले पनि यसमा तदारुकता देखाउनुपर्छ । मिडियाकर्मी आफै सचेत र जिम्मेवार बन्न सक्नुपर्छ । पाठकमा भ्रम फैलाएर समाजको प्रगति सम्भव छैन । सही सूचना र समाचारले मात्रै समाजलाई सही अर्थमा रुपान्तरण गर्नसक्छ । गलत र तथ्यहिन सूचना र समाचारले समाजलाई दिग्भ्रमित बाहेक केही गर्दैन ।
(लेखकः नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हुन् ।)