टेकमान शाक्य –
साँझ पर्न लागेको थियो । सवारी साधनहरु ओहोरदोहोर गर्ने क्रम विस्तारै कम हुँदै थियो । त्यतिखेर नै बाईक लिएर यसो हावा खाने विचार पलायो । बाईक चलाउन त्यति सहज नभैसकेकाले पनि मलाई केहि अझै सिक्नु थियो । सिक्नकै लागि पनि एकजना अनुभवी व्यक्तिको साथ मलाई चाहिएको थियो, पाएँ पनि । अनि साँदभञ्ज्याङतिर हिड्ने विचार लिएँ ।
मेरो साथमा लिला अंकल हुनुहुन्थ्यो । अंकलसँग बाईक चलाउन आवश्यक सीप सिक्नु थियो । त्यसैले पनि साँझमा सवारीसाधन कम भएको मौका छोपी बाहिर निस्किएको हुँ ।
चैनपूर गाविस वडा नं.८ लाई पछाडी पार्दै ९ नं. वडातिर प्रवेश गर्दै थियौँ । अचानक मेरो बाईक हिलोमा चिप्लियो । अगाडीको टायर गाडियो । अंकल र म भएर बाईकलाई खाडलबाट बाहिर निकाल्ने कोसिस गर्यौँ । कोसिस गर्दै गर्दा पछाडीबाट मेरो कानमा आवाज बज्रियो–
‘ओई तँ कहाँको गुन्डा होस् ? जाँड खाएर बाईक चलाएको हो कि क्या हो ?’
पछाडी फर्किएँ । करिब आधा दर्जन पुलिस दाईदिदिहरु चढेको पुलिस भ्यान पो रहेछ । मैले सहज रुपमै भनेँ,–
‘ सर म भर्खर बाईक चलाउन सिक्दै छु, हिलोमा चिप्लियो !’
त्यहि आधा दर्जनमध्येबाट नै फेरी फ्याट्ट आवाज आयो,–‘ए भाई तँ कहाँको गुन्डा हो हँ ? ढोलाको कि मैदीको !’
यति भन्दासम्म बाईकलाई बाहिर निकाल्ने ध्याउन्नमा नै थियौँ हामी । भ्यानलाई अगाडी जान भन्दै संकेत पनि नगरेको होईन । बाटो पनि छाडिदियौँ । तर, त्यो भ्यानमा आएका पुलिस प्रशासनका कर्मचारी त झनै भ्यान रोकेर निहुँ पो खोज्न थाल्यो ।
मैले जवाफ फर्काएँ,– ‘म कत्तैको पनि गुन्डा होईन । मैले कत्तैपनि दादागिरी गरेर हिडेको छैन । म अहिले बाईक सिक्दै छु, क्रिपया तपाईहरु जानुहोला ।’
भ्यानको अगाडी बस्ने एक पुलिस दाईले जवाफ फर्काए,– ‘ए भाई तैँले कसलाई दादागिरी देखाउँदै छस् हँ ? तँ अहिले को सँग बोल्दै छस् थाहा छ ? अझै मुखमुखै लाग्दै छस् ?’
–म मुखमुखै लाग्न खोजेको होईन, तपाईहरु तपाईको काममा जानुहोला हामीलाई केही पनि भएको छैन मात्रै भनेको हुँ ।
म त निक्कै अचम्ममा परेँ प्रहरीको मुस्कानसहितको सेवा देखेर । के म ति जनताका सेवक भनौँदासँग बोल्न पाउँदिन र ? के मैले आफ्नो यथार्थ बताउन पाउँदिन र ?
उनीहरुमध्ये १ जना पुलिसदाई गाडीबाट ओर्लिए । बाईकबाट चाबी निकाले । अर्को एकजनाले भ्यानबाट नै भने कि, –‘तँ जिल्ला हिँड् ।’
न मैले कुनै गल्ती गरेको छु, न त कसैलाई हानी गर्ने कर्म गर्दै हिँड्ने मान्छे नै परेँ । यदि मैले कुनै गल्ती नै गरेर हिँडेको छैन भने मलाई के को डर ? मैले भनँे,– ‘ हुन्छ म जिल्ला हिँड्छु, तर तपाईहरुको मुस्कानसहितको सेवाको विषयमा पनि कुरा उठाउँछु ।’
भ्यानबाट फेरी थर्काउने पाराको आवाज आयो,– ‘ओई तँ अझै ठूलो कुरा गर्छस् ?’
ती व्यक्तिबाट थर्काउने भाषामा पटक पटक ‘तँ’ शब्द आएपछि मलाई पनि केही बोलौँ बोलौँ लाग्यो । अनि बोलेँ पनि,– ‘मलाई तँ भन्ने होईन, म तपाईको तँ होईन’
उनी फेरि झर्किए,–‘ओई तँ अझै गुन्डागर्दी गर्दै छस् ? तँलाई तपाई भनेर नमस्कार गर्नुपर्यो अब !’
मैले सुनेको थिएँ की, प्रहरीले मुस्कान सहितको सेवा प्रदान गर्न सुरु गरिसक्यो भनेर । तर यहाँ त मुक्का सहितको सेवा दिन पो खोज्दो रहेछ पुलिसहरु त । ती पुलिस दादा दिदिहरुको भनाईले मलाई पनि चुप बस्न मन नै लागेन । मैले एकचोटी फेरी उनिहरुलाई स्मरण गराएँ,– ‘तपाईहरुलाई मुस्कान सहितको सेवा दिन भनेर सिकाएको यहि हो ? सर्वसाधारण हो या गुन्डागर्दी गर्ने हो भनेर पहिचान गरेर बोल्दा राम्रो हुन्थ्यो की ? अनि रुखो नबोल्ने, मिठो बोल्ने भनेर यसरी नै सिकाईएको थियो हो ?’
ती व्यक्तिको नाम के हो त मलाई थाहा भएन, उनी झनै झोक्किएर बोल्दै थिए,–‘ओई तँको होस् ?’
मैले भनेँ,–‘म पत्रकार हुँ !’
–तँ कुन मिडियाको पत्रकार होस् र ? जे पायो त्यहि बोल्छस् ?
–तपाईलाई फेरी पनि म भन्दै छु की, तपाई जे पायो त्यहि नबोल्नुस्, तपाई शासक हो र ? जे जे भन्यो त्यसैमा ज्यु ज्यु गर्नुपर्ने ?
–तँ कुन मिडियामा काम गर्नेवाला हो र ? हामीलाई धम्की दिएको ? त्यतिकै हामीसँग धाक लगाउने !
–म रेडियो धादिङमा कार्यरत छु अहिले । यो भन्दा पहिले काठमाडौंको राष्ट्रिय मिडियामा थिएँ ।
अलिक पछाडीबाट एकजना फेरी बोल्यो–‘यस्तो फुच्चे पनि पत्रकार हुन्छ कहीँ !’
मैले भनेँ,–‘के दारी जुँगा काट्दा फुच्चे देख्यो भन्दैमा हेपेर बोल्न पाईन्छ ? झ्वास्स हेर्दैमा तपाई मेरो पहिचान गर्न सक्नुहुन्छ ? मैले तपाई चोर जस्तै देखेँ भन्दैमा तपाईलाई मैले चोर भन्न पाउँछु ?’
म डगमगाएको नै थिइन । किनभने मेरो कुनै गल्ती नै छैन । अर्को फेरी बोल्यो,–‘ए भाई हामीले तिमिलाई भर्खरै ७ कक्षामा पढ्दै गर्ने फुच्चे लाग्यो त्यसैले तँ भनेको हो । गल्ती भए माफ गर्नु ।’
–‘म ७ कक्षामा पढ्ने बालक हो या डिग्री होल्डर हो भनेर सर्टिपिकेट हेर्नुभएको छ र ?’ मैले पनि जवाफ फर्काएँ ।
प्रश्न, प्रतिप्रश्नका पोकाहरु बढ्दै थियो । यसो दायाँबायाँ हेरेँ । त्यहाँ गाउँका मेरा छिमेकीहरु टन्नै भैसकेका रहेछन् ।
उनीहरुमाथि मैले एकचोटी नजर बजारेँ । मलाई चुप लाग्न संकेत गर्दै थिए उनीहरु । उनीहरुलाई के डर रहेछ भनेनी, मलाई पुलिसले समातेर लग्यो भने के गर्ने ?
ती सोझासाझा मेरा छिमेकीहरुलेपनि मलाई साथ दिँदै भन्दै थिए की,–‘बिचारा ! उ त्यस्तो मान्छे होईन सर, यो गाउँकै सोझो बाबु हो । त्यस्तो गल्ती गरेर हिड्ने मान्छे होईन ।’
यति भन्दा समेत उनीहरु मलाई अझै थर्काउने भाषामा नै बोलिरहेका थिए । सबैले आफ्नो बाटो लाग्न सुझाव दिएपछि ति पुलिस दादादिदीहरु करीब आधा घण्टापछि त्यहाँबाट हिँडे ।
घरमा आएर म टुसुक्क मुडामा बसेँ । मुसुक्क हाँस्न मन पनि लाग्यो एक्लै ती दृश्यहरु सम्झिएर । अहिलेसम्म पुलिसहरुसँग मैले त्यसरी सवाल जवाफ गरेको थिइन । मलाई त मुस्कान सहितको सेवा धादिङ प्रहरीले पनि दिईरहेकै होला भन्ने विश्वास थियो । तर त्यसो होईन रहेछ, उनीहरु त दादागिरी पो गर्दै हिँड्दो रहेछ । नसक्नेलाई कुनामा अचेट्ने सक्नेको अगाडी नपर्ने दैनिकी पो व्यतित गर्दै हिँड्दोरहेछ । यहाँ त मुस्कानसहितको सेवा होईन मुक्का सहितको सेवा प्रवाहका लागि मात्रै अग्रसर हुँदारहेछन् त्यो पनि निर्दोशहरुका लागि धादिङ प्रहरी ।