Thu. Mar 6th, 2025

पुनःनिर्माणका बारे एमाले सांसदलाई जानकारी

UML-Party-Office-Dhumbarahi२ असार, काठमाडौँ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्ना कार्यप्रगतिका बारेमा नेकपा (एमाले)का सांसदहरुलाई जानकारी गराएको छ ।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमाले संसदीय दलको आजको बैठकमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले हालसम्म प्राधिकरणका कामका बारेमा सो दलका सांसदहरुलाई प्रशिक्षित गराएका थिए ।

सदनको बुधबार बैठकमा सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्राधिकरणको कार्यप्रगतिका बारेमा असन्तुष्टि जनाएका थिए । त्यसपछि एमालेले आफूले नियुक्त गरेको कार्यकारी निर्देशकलाई दलको बैठकमा बोलाई कामका बारेमा जनकारी लिएको थियो ।

“स्वयम् सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भनेजस्तो प्राधिकरणले कामै नगरेको भन्ने सत्यता रहेनछ, प्राधिकरणले धेरै काम गरेको रहेछ” – बैठकपछि सांसद गङ्गालाल तुलाधरले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनले भूकम्पपीडितको चाहनाअनुरुप प्राधिकरण अगाडि बढ्न नसकेकै हो, यसो भन्दैमा कामै भएन भन्न मिल्दैन भने ।

प्राधिकरणको कार्य प्रगति यस्तो छ

प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवालीले सो बैठकमा प्रस्तुत गर्नुभएको प्रगतिमा हालसम्म एक लाख छ हजार ५४० भूकम्पपीडित घरधनीसँग घर निर्माणका लागि पहिलो चरणमा दिइने रु दुई लाख वितरण गर्न अनुदान सम्झौता गरेको छ ।

यसैगरी एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको अनुदान रकम बैंकमार्फत वितरण गर्न क्षेत्रगत विभाजन गरी बैंकहरु तोकिएको, यसका लागि क, ख र ग वर्गमा परेका ५८ बैंक तथा वित्तीय संस्थासित सम्झौता भएको, तीन हजार ३५९ घरधनीको पहिलो किस्ता रकम बैैंक खातामा जम्मा भएको उनले जानकारी गराए।

रमक प्राप्तिपछि दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोर्खालगायत जिल्लाका करिब दुई हजार घर निर्माणकार्य सुरु भएको, निजी आवासका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसित रु १२ अर्ब ४४ करोड, ६८ हजार निकासा भएको कार्यकारी निर्देशक ज्ञवालीले सांसदलाई जानकारी गराए ।
कार्यप्रगतिमा भूकम्प सुरक्षित १७ वटा घरका ढाँचा स्वीकृत भएको, प्रकृति र संस्कृति सुहाउँदो संरचनालाई समावेश गरी प्रकाशनका क्रममा रहेको, घरधनीले आफ्नो आवश्यकताअनुसार अरु ढाँचाका घर बनाउन सक्ने व्यवस्था मिलाइएको र हालसम्म सरकारी तथा गैरसरकारी संस्थाबाट १० हजार जनालाई डकर्मी तथा सिकर्मीसम्बन्धी तालिम सम्पन्न गरेको रहेको छ ।

सामूहिक आवास

सहरी विकास मन्त्रालयमार्फत ५० वटा सामूहिक आवास निर्माणका लागि बोलपत्र आह्वान भएको, नेपाली सेनाले भूकम्प अति प्रभावित जिल्लामा ३६ वटा सामूहिक आवास निर्माणकार्य जारी रहेको प्राधिकरणले जनाएको छ ।

पुरातात्विक सम्पदा पुनःनिर्माण

प्राधिकरणले रानीपोखरीको पुनःनिर्माणकार्य जारी रहेको, आगामी भाइटीकासम्म निर्माण सम्पन्न गरिने, स्वयम्भूको अनन्तपुर, भक्तपुरको फसिदेग, हनुमानढोकाको वंशगोपाल र साँखुको बज्रयोगिनीजस्ता पुरातात्विक सम्पदाहरुको पुनःनिर्माणकार्य सुरु गरिएको, ५१ वटा पुरातात्विक आयोजनाहरुको बोलपत्र प्रक्रिया अगाडि बढेको जानकारी गराएको छ ।

शैक्षिक संस्था पुनःनिर्माण

जाइकाको सहयोगमा ललितपुरको पाँच विद्यालय, गोरखामा २८ विद्यालय भवन निर्माणमा बोलपत्र आह्वान अगाडि बढेको, एसियाली विकास बैंकको सहयोगमा काभ्रेमा ११ वटा विद्यालय भवन निर्माणमा बोलपत्र आह्वान भएको र शिक्षा मन्त्रालयद्वारा प्रस्ताव गरिएअनुरुप विद्यालय व्यवस्थापन समितिद्वारा विद्यालय पुनःनिर्माण गर्न रु पाँच अर्ब निकासाका क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

यसैगरी घर पुनःनिर्माणमा प्राविधिक सल्लाह र अनुदान सम्झौता सहयोग पु¥याउन एक हजार ३४६ इञ्जिनियर परिचालन भएको पनि उसले आफ्नो कार्यप्रगतिमा जनाएको छ । रासस

About The Author

अन्य समाचारहरु: