२ असार, धादिङ – यस वर्षको प्रवेशिका परीक्षा एसएलसीको नतिजा सार्वजनिक भएको छ । परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीले बिहीबार प्रकाशित गरेको छ ।
यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो ।
यो बर्ष नियमिततर्फ ४ लाख ३७ हजार ३ सय २६ जना विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये १६ हजार ४ सय ५४ जनाले ए प्लस ल्याएका छन् ।
यस्तै, ४१ हजार ५ सय ७७ जनाले ए, ४८ हजार ६ सय ११ जनाले बि प्लस र ६३ हजार १ सय ८१ जनाले बि ग्रेड ल्याएका छन् । सि प्लस ग्रेडमा ९४ हजार ७ सय १६, सि ग्रेडमा १ लाख ४ हजार २ सय ७८, डि प्लसमा ५६ हजार ७ सय ७३ र डि ग्रेड ल्याउनेमा ८ हजार विद्यार्थी छन् ।
यो बर्ष आंशिकतर्फ १ लाख ५० हजा्र ८ सय २६ विद्यार्थी सहभागी भएकोमा ४ जनाले ए प्लस, ८ जनाले ए, ९४ जना बि प्लस, २ हजार ९ सय ४३ जना बि ग्रेड ल्याएका छन् ।
यसरी हेर्नुहोस् नतिजा
यो वर्ष पास, फेल र डिभिजन हुने छैन । यो बर्ष विद्यार्थीले मोवाइलबाट एसएमएस गर्दा र वेबसाइटमा आफ्नो सिम्बल नम्बर हाल्दा ग्रेड प्वाइन्ट एभरेज (स्तरीकृत अंक) थाहा पाउने छन् ।
ग्रेड प्वाइन्ट भन्नाले अक्षरमा गरिएको विद्यार्थीको मूल्याङ्नको स्तरीकरणलाई अङमा प्रस्तुत गरिएको आनुसाङख्यक मानलाई जनाउँछ । त्यस्तै दुई वटा बिषयमा ‘डी’ र ‘ई’ छ भने बिषय खुलाएर सन्देश पठाउने परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । यो व्यवस्था वेभसाइट मार्फत नतिजा हेर्दा पनि थाहा पाइन्छ । एसएमएसतर्फ नेपाल टेलिकमको १६०० मा आफ्नो सिम्बल नम्बर पठाएपछि आफूले प्राप्त गरेको ग्रेड प्वाइन्ट एभरेज (जीपीए) थाहा पाउन सकिन्छ । एसएमएसका लागि अन्य निजी कम्पनिको नम्बर पनि छन् ।
त्यस्तै शिक्षा मन्त्रालयको एमओई डट जिओभी डट एनपी (moe.gov.np), शिक्षा विभागको डीओई डट जिओभी डट एनपी (doe.gov.np ), परीक्षा नियन्त्रण कार्यालयको एसओसीई डट जिओभी डट एनपी ( soce.gov.np ) , नेपाल टेलिकमको एसएलसी डट एनटीसी डट एनइटी ( slc.ntc.net) बाट पनि नतिजा थाहा पाउन सकिन्छ ।
यस मध्ये नेपाल टेलिकम र परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटबाट कुन बिषयमा कति जीपीए, कुन ग्रेड प्राप्त गर्यो भन्ने सम्पूर्ण विवरण थाहा पाउन सकिन्छ । यी वेबसाइटमा सिम्बल नम्बर र जन्ममिति राखेपछि ग्रेडसिटमा उल्लेख हुने सम्पूर्ण विवरण हेर्न सकिन्छ ।