२ असार, काठमाडौँ – मेलम्चीको पानी २०७४ असोज मसान्तसम्म काठमाडौँ आइपुग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । सुन्दरीजलस्थित सुरुङ निर्माणस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै समितिका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले आयोजनाको १७।१४ किमी सुरुङ निर्माण सम्पन्न भएकाले अब बढीमा डेढ वर्षभित्रमा पानी आउने बताए ।
“अब १०.४४ किमी सुरुङ निर्माण गर्न बाँकी छ, गत वर्ष वैशाखको भूकम्प र असोजपछिको नाकाबन्दीले काम रोकिँदा इटालियाली ठेकेदार कम्पनी सिएमसीसँगको सम्झौतामुताविक २०७३ असोजमा सुरुङ निर्माण नसकिए पनि अर्को असोज अघि नै पानी आउँछ” – उनले भने ।
सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खसालेपछि प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । पानी वितरणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याउने काम ४३ प्रतिशत सम्पन्न गरेको निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए।
“सुरुङ निर्माण सम्पन्न हुनु अघि नै आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकावासीको घरघरमा पानी वितरणका लागि लाइन पु¥याउँछ”– उनले भने। रासस