रविना पौडेल / ३० जेठ, धादिङ – दिनेश थापा धादिङको नीलकण्ठ नगरपालिका ३ मा यतिखेर चटपटे र पानीपुरी बेच्न व्यस्त छन् । डेढ वर्षदेखि सदरमुकाम धादिङबेसीमा सटर भाडामा लिएर चटपटेको व्यवसाय गरिरहेका छन् ।
यस अघि उनी नेपाली सेनामा कार्यरत थिए । ६ वर्षसम्म काम गर्दा पनि आफ्ना आवश्यकताहरु परिपूर्ति नभएपछि यो व्यवसायलाई अंगालेका हुन् । थोरै लगानीमा र नगदमै कारोबार हुने भएकोले यस्तो पेशा रोजेको उनको भनाई छ । चटपटे र पानीपुरी बेचेर दैनिक २५ सय देखि ३ हजार सम्मको आम्दानी गर्ने गरेको छ । यसबाट उनले मासिक १५ हजार जोगाउने गरेको छ ।
उनलाई सँगै श्रीमतीले पनि चटपटे बेच्न सघाउने गरेकी छिन् । यहि आम्दानीले बालबच्चाहरुलाई पढाई रहेका छन् भने घरयासी व्यवहारलाई सघाउ पुगेको छ । चटपटे खानमा प्रायजसो युवायुवतीहरु आउने गरेको छ। खासगरी गर्मी मौसम र बेलुकाको समयमा बढी भीड हुने गर्दछ । रोजगारीका लागि दैनिक विदेशीनेहरुका लागि दिनेश उदारणको पात्र बनेको छ ।
दिनेश मात्र होइन झापाकी बबिता दाहाल पनि यतिखेर चटपटे र पानीपुरी बेच्न व्यस्त छिन् । उनले धादिङ बेसीको मिलनटोलमा सटर भाडामा लिएर पुर्वेली स्पेशल चटपटे पानीपुरी बेचिरहेकी छिन् । झापाको खेतिपाती छोडेर यो व्यावसाय सुरु गरेको ४ वर्ष बितिसकेको छ ।
एस.एल.सि पास गरेकी बबिता भन्छिन् – “गाउँमा काम गर्न गाह्रो भयो, सधै अरुकै मात्र भरमा कति बस्नु त्यसैले यो व्यावसाय सुरु गरे ।” काम सानो र ठूलो हुदैँन भन्ने मान्यता राख्ने बबिता आफ्नो पेशा प्रति सन्तुष्ट रहेको बताउँछिन् ।
उनले चटपटे बेचेर दैनिक ४५ सय देखि ५ हजारसम्मको व्यापार गर्छिन् । चटपटे बेचेको आम्दानीले ५ जना भाइबहिनीलाई पढाइरहेकी छिन् । भने घरको व्यवहार पनि चलाउँन्छिन् । पहिले पहिले मधेसी समुदायका मानिसहरुले मात्र यस्तो व्यवसाय गर्ने गरेका थिए तर अहिले हरेक समुदायका मानिसहरुले यसलाई नै व्यवसायको रुपमा अंगालिरहेका छन् ।
दिनेश र बबिता त एक उदारणीय पात्र मात्र हुन् । चटपटे र पानीपुरी बेचेर आफ्नो जीविका धान्नेहरु धेरै छन् । अहिले शहर बजारमा मात्र नभई गाँउमा पनि चटपटे लोकप्रिय बनेको छ । खासगरी विद्यार्थीहरुको खाजाका रुपमा बढी खाने गर्दछ ।
के चटपटे स्वास्थ्य खानेकुरा हो त ?
सिनियर एग्जुलरी हेल्थ वोर्कर (एस एच डब्लु) गोपी बहादुर श्रेष्ठ भन्छन्–“चटपटे पानीपुरी आफैँमा खान नहुने कुरा भने होइन । यसमा राखिएको चना, केराउ, बदाम, आदिबाट प्रोटिन पाइन्छ । आलु, पापडहरुबाट कार्बोहाइडेड पाइन्छ । काँक्रो, धनियाहरुबाट भिटामिन पाइन्छ । तर यसलाई सडकमा, खुल्ला ठाउँमा लगेर बेच्न राख्दा धुलो मैलो बढी हुन्छ ।
खुल्ला ठाँउमा राख्दा झिँगाहरुले बढी फोहोर गरिदिएको हुन्छ । त्यहाँ प्रयोग गरिने कतिपय मसला, रङहरुले पनि त्यस्तो स्वस्थ खानालाई अस्वस्थ बनाइदिन्छ । ”
त्यसैले कुनै हानीकारक मसला, रङहरुले नहाली सफासँग खाने बानीको विकास गरेमा यो एक सन्तुतित भोजनको रुपमा पनि प्रयोग हुने गर्दछ ।