२६ जेठ, काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनतालाई झुटो आश्वासन बाँडेर देश चल्न नसक्ने बताएका छन् ।
सङ्खुवासभाबाट व्यवस्थापिकाका–संसदमा प्रतिनिधित्व गर्ने सांसद दिपक खड्काले सगरमाथा आरोहीलाई राखेको सम्मान कार्यक्रममा बुधबार बोल्दै उनले संविधान कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा लैजानुपर्नेमा प्रधानमन्त्रीले झुटो सपना बाँड्दै हिँडेको आरोप लगाए ।
उनले भने, ‘संविधान कार्यान्वयन गरेर स्थानीय, प्रान्तीय र केन्द्रीय निकायको निर्वाचन गर्नु छ, प्रधानमन्त्री सर्वे नै नगरी रेल कुदाउँछु, घरघरमा तेल र ग्यास ल्याउँछु भन्छन्, यो झुटो आश्वासनले देश चल्दैन ।’
सभापति देउवाले वर्तमान सरकारले जनताबाट उठेको कर र विदेशबाट आएको पैसा भूकम्पपीडितको नाममा गैरसरकारी क्षेत्रमार्फत बाँडेर दुरुपयोग गर्न खोजेको आरोपसमेत लगाए । उनले यो कार्यविरुद्ध आफ्नो पार्टी जस्तोसुकै कदम चाल्न पनि तयार रहेको स्पष्ट पारे ।
संविधान कार्यान्वयन छाडेर चुनाव रु
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संविधान कार्यान्वयनलाई छाडेर प्रतिनिधिसभाको चुनाव गर्न खोजेको भन्दै दुःख व्यक्त गरे । उनले यसले मुलुकलाई अर्को अनिश्चयतातर्फ धकेल्ने खोजेको बताए । यस विषयमा नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बसेर समीक्षा गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
सो अवसरमा सभापति देउवा र वरिष्ठ नेता पौडेलले सङ्खुवासभा जिल्ला मकालु गाविसका एकै परिवारका तीन सगरमाथा आरोहीलाई सम्मान गरे । सम्मानित हुनेहरुमा लाक्पा शेर्पा, मिङ्मा गेलु शेर्पा र मिङ्मा किपा शेर्पा रहेका छन् ।
रासस