२४ जेठ, काठमाडौँ – गोरखा भूकम्पपछि बन्द भएको परोपकार प्रसूति गृह, थापाथलीमा ‘टेस्टट्युब बेबी’ सेवा लिनका लागि १५० भन्दा बढी महिलाले नाम दर्ता गराएका छन्।
तीमध्ये भूकम्पको केही दिनअघिसम्म पाँच निःसन्तान महिलाले सेवा लिन शुल्क तिरिसकेका छन् तर सेवा सञ्चालनमा नआउँदा उनीहरू सेवा लिनबाट बञ्चित भएका छन्। भूकम्पका कारण ६२ शय्याको भवनमा क्षति पुग्दा टेस्टट्युब बेबीसम्बन्धी सबै सेवा ठप्प भएको थियो। अब बन्द नहुने गरी टेस्टट्युब बेबी सेवा सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ।
सरकारीस्तरमा पहिलो पटक प्रसूति गृहले आइभिएफ प्रविधिबाट ९पुरुषको शुक्रकिट र महिलाको डिम्ब एउटै प्लेटमा राखी प्रयोगशालामा परीक्षण गरिने० यो सेवा सञ्चालनमा ल्याएको थियो। अस्पतालका निर्देशक डा जागेश्वर गौतमले प्रसूति गृहमा भूकम्पबाट क्षति पुगेका पूर्वाधारको पुनःनिर्माण भइरहेको र असारदेखि नै टेस्टट्युब बेबी सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बताए।
उनले भने, “पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ। जतिसक्दो चाँडो सेवा सञ्चालन गर्न काम तीव्र गतिमा गरिरहेका छौँ।” निर्देशक गौतमका अनुसार प्रसूति गृहले सुरुमा भारतबाट चिकित्सक झिकाएर यो सेवा उपलब्ध गराउँदै आएको थियो। अहिले भने स्वदेशमै जनशक्ति उत्पादन भइसकेको निर्देशक गौतमले जानकारी दिए।
सेवा सञ्चालनमा नआएकै कारण निःसन्तान दम्पती महँगा निजी अस्पतालमा चर्को शुल्क तिरेर टेस्टट्युब बेबीको सुविधा लिन बाध्य छन्। विसं २०७१ मा प्रसूति गृहले सेवा सुरु गरेको थियो । हालसम्म २७ दम्पतीले टेस्टट्युब बेबी पाइसकेका छन्। निजी अस्पतालमा रु पाँचदेखि छ लाखसम्म लाग्ने टेस्टट्युब बेबीका लागि प्रसूति गृहमा प्रतिदम्पती एक लाख ६० हजारसम्म शुल्क तिरे पुग्छ।
आइभिएफ प्रविधिमा पुरुषको शुक्रकिट र महिलाको डिम्ब एउटै प्लेटमा राखी प्रयोगशालामा राखिन्छ। त्यसपछि गर्भाधान भएको भू्रणलाई ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रत्यारोपण गरिन्छ। त्यसको नौ महिनापछि बच्चाको जन्म हुन्छ।
नेपालमा पहिलो पटक वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजालको पहलमा ओम अस्पतालमा विसं २०६१ फागुन २० गते टेस्टट्युब बेबीको जन्म भएको थियो। राजेन्द्र र सन्ध्या तामाङले नेपालमा पहिलो टेस्टट्युब बेबी जन्माएका थिए। प्रसूति गृहबाट भने दुई वर्षअघि कीर्तिपुरकी राज्यलक्ष्मी महर्जनका दम्पतीले यो सेवा लिएका थिए। रासस