२०७२ साल बैशाख १२ मा भुकम्प गएपछि धादिङ्ग जिल्लामा महिलामाथीको जोखिम बढेको छ । भुकम्पले घर त भत्काएको थियो नै, सामाजिक रुपमा धेरैको जिन्दगीका पत्रहरु पनि च्यातिदियो । धादिङ्ग जिल्लाको ४६ गाविस र एक नगरपालीका सवै भुकम्पको चपेटामा प¥यो । पाँच वटा गाविसहरु झार्लाङ, तिप्लीङ्ग, रि, लापा र दार्खा गाविसका प्रायः सवै परिवार विस्थापित भए ।
भुकम्पले धेरै जनमानसमा डर, त्रास र तनाव बढायो । खुल्ला बासका कारण असुरक्षा बढ्यो । जस्ले गर्दा समाजमा हिंसाको घटनाहरु बढेको देखियो । महिला, बालबालिका, बृद्धबृद्धा र अपाङ्गता भएका व्यक्तिहरु प्रत्यक्ष प्रभावित भए । भुकम्प गएको एक वर्षको अवधिमा आइपुग्दा धादिङ्गमा यौन हिंसाको घटना अत्यधिक भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कलाई हेर्दा गत बैशाख देखि यो बैशाख सम्म २७ वटा जवरजस्ती करणीको घटना भएको छ । त्यस्तै ११ वटा जवरजस्ती करणी उद्योगको घटना भएको छ । घटनामा ४ बर्षिया बालिका देखि ४५ वर्षकी महिला सम्म परेका छन् ।
देशमा प्राकृतिक विपत्ति होस् या मानव सिर्जित द्वन्द्व । यस्तो संक्रमणको अवस्थामा महिला र बालबालिकाहरु सवैभन्दा धेरै प्रभावित हुने गर्छन् । धादिङ्ग जिल्लामा यस एक वर्षको अवधिमा १ सय २४ वटा घरेलु हिंसाको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको छ । हाम्रो समाजले छोरा या छोरी भएकै कारण उनीहरुको भूमिका र जिम्मेवारी फरक फरक हुन्छ भन्ने सोचाइ राख्छ र त्यसै अनुसारको व्यवहार निर्देशित गर्दै आएको छ । समय र समाज बदलिदै गएको छ भनिए पनि त्यस्ता व्यहारहरु जुन धर्म, सस्कृति, परम्परासंग जोडेर महिला र पुरुषलाई हेर्ने गरिएको छ । जन्मेदेखि नै हुर्काइ, बढाई, शिक्षा, सुचना, अवसर, रोजकारी, श्रम, सहभागिता लगायत हरेक कुरामा छोरालाई भन्दा छोरीलाई कम प्राथमिकता दिइनेगरिन्छ ।
स्वतन्त्र रुपमा हिडडुल गर्ने, बोलचाल गर्ने र निर्णय गर्ने कुरामा समेत महिलाले भन्दा पुरुषले एक कदम अगाडी बढ्न पाउने अवस्थाले महिलालाई कमजोर साबित गराइरहेको छ । समय बदलिए पनि हाम्रो सोच र व्यवहार बदलिन सकेको छैन । समाजिक संरचनाको कारण संक्रमण या विपत्तिको मार सवैभन्दा धेरै महिला र बालबालिकामाथी परेको देखिन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क हेर्दा १ सय ५ कुटपीट, खानलाउन नदिएको ७४, गालीगलोज र्दुव्यवहार ७, घर निकाला ४, शारिरीक तथा मानसिक यातना २४ र बोक्सी आरोपको १० वटा घटना उजुरीमा आएको देखिन्छ । बहुविवाहको १५ वटा उजुरी परेको छ ।
भुकम्प पछि महिला र बालबालिकाहरुको बेचविखन तथा ओसारपसारको घटना बढेको देखियो । पढाउन लैजाने, पाल्न लैजाने, रोजगारीका लागि लैजाने प्रलोभनमा पारेर धेरै किशोरी र बालबालिकाहरुलाई ओसार पसार गरियो । नागढुङ्गा, मुग्लिन र अन्य नाकाबाट जोखिममा पर्न सक्ने आशंकामा यस्ता धेरै व्यक्तिहरुलाई उद्धार गरियो । यस अवधिमा मानवबेचविखन तथा ओसार पसारको ५ वटा मुद्दा दर्ता भएको छ । अझै पनि ५९ जना महिला, ८ जना बालक र ११ जना बालिका हराइरहेका छन् । भुकम्पले डर र त्रास मात्र बढाएन मनोसामाजिक समस्या पनि बढायो । परिवारमा झै–झगडा, बेमेल, खाना, बास र सुरक्षाको अभावले व्यक्तिमा तनाव बढ्यो । जस्ले गर्दा हिंसाको रुप लियो । हिंसाले व्यक्तिलाई आत्महत्या गर्न बाध्य बनाएको देखिन्छ । एक वर्षको अवधिमा झुन्डिएर १८ जना, विष सेवन गरि १० र त्रिशुली नदीमा हाम फालेर २ जना महिलाहरुले आत्महत्या गरेका छन् । एक वर्षमा ३० जना महिलाहरुले आत्महत्या गर्नु डरलाग्दो अवस्था हो ।
धादिङ्ग जिल्लामा लामो समयदेखि महिला अधिकार, सामाजिक न्याय र हिंसा विरुद्धमा काम गरिरहेको संस्था सहयात्री समाज नेपालले भुकम्पपछि गर्भवति, सुत्केरी र हिंसामा परेका महिलाहरुलाई सहयोग तथा परामर्श गर्ने काम गरिरहेको छ । जिल्लाको पाँच स्थानमा महिला सुरक्षित स्थान मार्फत जोखिममा परेका जुनसुकै उमेरका महिलाहरुका लागि कानुनी सहयोग तथा परामर्श, मनोसामाजिक विमर्श, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श र सुरक्षित आवास सेवा प्रदान गर्दै आएको छ । भुकम्प यता हालसम्म सहयात्री समाज नेपालमा लैङ्गिक हिंसाको ५ सय २७ वटा केश अभिलेखिकरण गरिएको छ ।
यि घटनाहरुमा घरेलु हिंसाको धेरै छ भने त्यसपछि यौन हिंसाको केश रहेको छ । कुटपिट, बहुविवाह, खानलाउन नदिएको, घर निकाला, श्रोत साधनबाट बञ्चित गरिएको र अरुसंग लागेको अरोपका घटना अत्यधिक रहेको छ । यस्तै २ सय ५ जना मनोसामाजिक समस्या भएका महिलाहरुलाई मनोविमर्श प्रदान गरिएको छ । सहयात्री समाज नेपालले विगत लामो समय देखि पुर्नस्थापना गृह सञ्चालन गरिरहेको छ । भुकम्प पछिको अवधिमा विभिन्न प्रकारको हिंसा र जोखिममा परेका ३ सय २५ जना महिला, किशोरी र बालिकाहरुलाई पुर्नस्थापना गरिएको छ ।
हरेक गाउँ, टोल र घर घरमा दिनहुँ महिलामाथी हिंसाका घटनाहरु भइरहेका छन् । कसैसंग बोलेको आरोपमा, हिडेको आरोपमा या आफुले भने जस्तो नभएको आरोपमा आफ्नै घरका छोरी बुहारी र आमाहरु हिंसाको शिकार भइरहेका छन् । जुनसुकै उमेरमा आफनो जिवन सुरक्षित र स्वतन्त्र जिउन पाउने अधिकार छैन । जन्मेदेखिनै एउटा साँघुरो दायराभित्र छोरीलाई हुर्काउने र सिकाउने गरिन्छ । जस्ले गर्दा ठूलो भैसकेपछि जब उनीमाथी कुनै खालको दुःख या आपत आइलाग्छ त्यसपछि प्रतिकार गर्न सक्ने अवस्था नै रहदैन । घटनाबाट प्रभावित भैसकेपछि पनि सुरक्षा र संरक्षण पाउने वातावरण छैन । प्रभावितलाई मात्र होइन उनका पक्षमा बोल्नेलाई पनि घर निकाला गर्ने, गाउँ निकाला गर्ने, बहिष्कार गर्ने र मार्ने सम्मको धम्कि दिने गरिन्छ । राजनीतिक आडमा उभिएर पीडकलाई संरक्षण गर्ने र पीडितलाई झन पीडा दिने गरिन्छ । बलात्कार जस्तो जघन्य अपराधमा समेत पीडकलाई उन्मुक्ति दिने, मिलापत्र गर्ने र पैसाको लोभमा फसाउने गरिन्छ ।
उजुरी गरिसकेपछि पनि खाना र बासको समस्या, जीविकोपार्जनको कुनै आधार नहुँनु र असुरक्षाका कारणले हिंसा प्रभावित महिलाहरु अझ धेरै जोखिममा पर्ने गरेका छन् । जब सम्म महिलामाथी हुने कुनै पनि प्रकारको हिंसालाई अपराधको रुपमा बुझिदैन र त्यस अनुसारको पीडकलाई कारबाही र पीडितलाई सुरक्षा, संरक्षण र न्याय प्रदान गरिदैन तबसम्म महिलामाथी हुने हिंसा जारी रहनेछ ।