Tue. Nov 26th, 2024

गृहमन्त्री गौतमले भने-सिन्डिकेट लाउनेलाई पक्रेर थुन्नु

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले यातायातमा सिण्डकेट लाउनेलाई पक्रेर थुन्न निर्देशन दिएका छन् । उनले यातायात क्षेत्रमा अवरोध गर्नेलाई पक्रेर थुन्नसमेत क्षेत्रीय सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

पाल्पा सद्मुकाम तानसेनबाट ७० किलोमिटर पूर्व रामपुर नगरपालिकास्थित रामपुर बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सोमबार उद्घाटन गर्दै उपप्रधान एवं गृहमन्त्री गौतमले यातायातमा देखिएको सिन्डिकेटलाई खारेज गरेरै छाड्ने बताए ।

‘जसले सिन्डिकेट लाउन खोज्छ, त्यस्ता व्यक्ति र संस्थालाई सबैभन्दा पहिला पक्रेर थुन्नुुस्’ उनले निर्देशन दिए, ‘अनि त्यसपछिमात्र अघि बढ्न सकिन्छ ।’

उनले सिन्डिकेटको पक्षपोषणा गर्न नहुने बताँउदै जो कसैले सिन्डिकेट लागू गर्न खोजे त्यसलाई हटाएर यातायात सुचारु गर्नसमेत क्षेत्रीय प्रशासक र सुरक्षा प्रमुखलाई कडा निर्देशन दिए ।

‘म यो कार्यक्रममार्फत निर्देशन दिदैँछु, यो कार्यान्वयन भए नभएको जनतासँग बुझ्ने छु’, गौतमले भने, ‘सरकारले सिन्डिकेट हटाउने कार्यभार लिएको छ । यस्तो प्रणालीलाई तत्कालै खारेज गर्नेतर्फ लाग्नुस् ।’

रामपुर यातायात व्यवसायी समितिले स्याङ्जाको साँखर, तनहुँको भिमाद, खैरेनीटार हुँदै काठमाडौ सिधा यातायात सेवा सञ्चालन गर्न नपाएपछि गृहमन्त्री गौतमसँग यस क्षेत्रका व्यवसायीले सिन्डिकेट खारेज गर्न माग गरेका थिए ।

उनीहरुको गुनासो सम्बोधन गर्दै गौतमले तनहु“का सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई ठाडो निर्देशन दिएर सिन्डिकेट खारेज गर्न भनेको बताए । ‘जिल्लामात्र होइन, क्षेत्रीय प्रशासन र सुरक्षा प्रमुखलाई समेत यसबारे ठाडो आदेश दिएको छु’ उनले भने, ‘व्यवसायीले अवरोध गरे भने पहिला थुन्नु र कारबाही अगाडि बढाउनु भनेको छु ।’
(अन्नपूर्ण अनलाइनबाट साभार)

About The Author

अन्य समाचारहरु: