जेठ ६ ,धादिङ- “हाम्रो गाउँ हामी आँफै बनाऔ” भन्ने मुख्य नाराका साथ निलकण्ठ नगरपालिका वडा नम्बर १० काफलपानी गुरुङ गाउँका गुरुङ यूवाहरु गाउँको प्रचार प्रसारमा एकजुट हुन थालेका छन् ।
सदरमुकाम धादिङवेशींदेखि १८ किलोमिटर उत्तरी क्षेत्रमा पर्ने काफलपानी गुरुङ गाउँमा ९१ घरधुरी गुरुङ जातीको बसोबास रहेको छ भने २२ घर रिजाल र परियार जातीको बसोबास रहेको छ । पर्यटन हिसाबले प्रचुर संभावना रहेको गाउँमा प्रचार प्रसार र गाउँको वृहत्तर विकासको लागि समिति बनाएर अघि बढ्ने तमू ह््यूल छोंजधी धादिङका पूर्व अध्यक्ष एवं समाजका अगुवा कूलबहादुर गुरुङले जानकारी दिए । गाउँमा अब हरेक महिना सरसफाई, गुम्बा निर्माण, गुरुङ भाषाको कक्षा संञ्चालन, स्वागत बोर्ड राख्ने निर्णय गरेका हुन् ।
अहिले गाउँको प्रचार प्रसारको लागि सामाजिक संञ्जाल फेसबुकबाट काफलपानी तमू समाज नामको फोसबुक पेज निर्माण गरि अभियान थालिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई गुरुङ गाउँका विषयमा सामाजिक संञ्जालबाट जानकारी गराउने उद्देश्यले फेसबुकबाट अभियान थालिएको हाल दोहा कतारमा बस्दै आउनुभएका काफलपानीका यूवा एवं फेसबुकका अभियन्ता नेत्र गुरुङले बताए । आफु दोहा कतारमा रहेता पनि आफ्नो गाउँको प्रचार प्रसारको लागी छिटो र सजिलो माध्यम फेसबुक रोजिएको र यो अभियानमा सबैले साथ दिनका लागि सम्पुर्ण गाउँबासी र तमूजातीसँग सरोकार राख्ने विभिन्न संघ संस्था सँग आग्रह गरेका छन् ।
गुरुङ संस्कृतिको संरक्षण र सर्वद्धनको लागी गाउँमा विभिन्न कार्यक्रमहरु ल्याउने र आगमी ५ वर्षको अन्तरालमा गाउँमा होमस्टे समेत चलाउने लक्ष्य रहेको नेपाल तमू विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका सचिव धनबहादुर गुरुङले जानकारी दिए ।
प्रर्यटकिय हिसाबले प्रचुर संभावना बोकेको काफलपानी गुरुङ गाउँबाट गाणेश हिमाल, मनास्लु लगायत अति मनमोहक हिम श्रृङ्खलाका दृश्यहरु हेर्न सकिन्छ भने गाउँ नजिकै रहेको जिल्लाकै प्रमुख धार्मिक स्थल ज्वालामुखी मन्दीरका कारण पनि यो गाउँ पछिल्लो समय निक्कै प्रख्यात गाउँको रुपमा चिनिन थालेको छ ।