२ जेठ, धादिङ – दार्चुलाका हिमाली गाविसका अधिकांश विद्यालयहरु बन्द भएका छन् । यार्सा संकलनका लागी विद्यार्थी सबै लेकतिर लागेपछि विद्यालयरु बन्द भएका हुन ।
जिल्लाका हिमाली गाविसहरु घुसा र खण्डेश्वरीका अधिकांश विद्यालय बन्द भएको खण्डेश्वरी गाविस सचिव लक्ष्मणसिह धामीले बताए । शनिबार यार्सा संकलन शुरु भएसँगै गाउँ समेत सुनसान भएका छन् ।
गाउँमा बृद्ध बाहेक कोही नभएको सचिव धामीले बताए । स्थानीय काम छोडेर लेकतिर लागेका हुन् भने विद्यार्थी पढाइ नै छोडेर गएका छन् । खण्डेश्वरीको उमाविसहित निमावि र प्रावि विद्यालय समेत बन्द भएका छन् । घुसा गाविसका मावि सहित केही प्राथमिक विद्यालय बन्द रहेको घुसाका शिक्षक कमानसिंह धामीले बताए । यार्सा संकलनका लागि विद्यार्थी लेकतिर गएपछि शिक्षक मात्र गाउँमा बसेका छन् ।
जिल्ला शिक्षा कार्यालय दार्चुलाले विद्यालय बन्द नगर्न दिएको निर्देशन शिक्षकले पालना गर्न खोजे पनि विद्यार्थी लेकतिर गएपछि विद्यालय बन्द भएका छन् । विद्यार्थी एक महिनाको लागि विद्यालय छोडेर लेकतिर जाने गर्छन् । आर्थिक स्रोतको रुपमा यार्सागुम्बा मात्र पाइने भएकोले अभिभावकले आफ्ना छोराछोरीलाई लेक लगेका हुन् ।