२८ वैशाख, काठमाडौँ –गत वर्ष वैशाखको भूकम्पबाट स्थायी आवास पूर्ण रुपमा क्षति भई पालमुनि बसेका भूकम्पपीडितलाई अस्थायी वा सङ्क्रमणकालीन आवास निर्माण गरिने भएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, सहरी विकास, सङ्घीय मामिला तथा स्थानीय विकास र गृह मन्त्रालय एवं तीन वटै सुरक्षा निकायका अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
विभिन्न कारणले हालसम्म पनि पालमा बसोबास गरिरहेका भूकम्पपीडित घर परिवारलाई स्थायी आवास पुनःनिर्माण नहुँदासम्म बसोबास गर्न सक्ने गरी आवास निर्माण गर्न सहयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिए । “प्राधिकरण, गृह मन्त्रालय, केन्द्रीय दैवी प्रकोप उद्धार समिति, सहरी विकास मन्त्रालय एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबीच आवश्यक समन्वय गरी आगामी मनसुन अगावै अस्थायी आवासको व्यवस्था मिलाइनेछ”– उनले भने ।
यस कार्यको संयोजन र व्यवस्थापन जिल्लास्तरमा जिल्ला दैवीप्रकोप उद्धार समितिले गर्ने निर्णय पनि बैठकले गरेको छ । आफ्नै जग्गामा बसिरहेका घरपरिवारलाई सोही स्थानमा अस्थायी आवास निर्माण गर्नमा सहयोग पु¥याइनेछ ।
जग्गा नभएको कारण वा आफ्नो जग्गा असुरक्षित भई अन्यत्र (पालमुनि) बसोबास गरिरहेका घर परिवारलाई उपयुक्त स्थानको खोजी गरी स्थानीय उपयुक्तता र आवश्यकताका आधारमा अस्थायी सामूहिक आवास निर्माण गरी बसोबास गर्ने व्यवस्था मिलाउन सहयोग गर्ने निर्णय समेत गरिएको छ ।
व्यक्तिगत वा सामूहिक आवासका नमुना ढाँचा सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले तीन दिनभित्र तयार पार्ने प्राधिकरणले जनाएको छ । यसरी निर्माण गरिने सामूहिक आवास भवनको स्वामित्व सम्बद्ध गाविस वा नगरपालिकाको हुने गरी व्यवस्था मिलाइनेछ ।