२७ बैशाख, धादिङ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा चौथो स्थानको म्यानचेस्टर सिटी तेस्रो स्थानको आर्सनलसँग २–२ को बराबरीमा रोकिएको हो ।
यो बराबरीले चौथो स्थानको होडमा म्यानचेस्टर युनाइटेडको सम्भावना बलियो बनाएको छ । आसर्नलका लागि ओलिभर जिरउड र एलेक्स सान्चेजले एक एक गोल गरे ।
यस्तै घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टर सिटीका लागि सर्जियो अग्युरो र केविन डी ब्राउनले एक एक गोल गरे । आठौं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलई सुरुवाती अग्रता दिलाए ।
त्यसको दुई मिनेटपछि आर्सनलका जिरउडले बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५१ औं मिनेटमा डी ब्राउनले गोल गर्दै फेरि सिटीलाई अग्रता दिलाए । तर ६८ औं मिनेटमा आर्सनलका लागि सान्चेजले बराबरी गोल फर्काए ।
सान्चेजले यो सिजन लिगका पछिल्ला सात खेलमा ६ गोल गरेका छन् । बराबरीपछि लिगको एक खेल बाँकी हुँदा म्यानचेस्टर सिटीको ६५ अंक भएको छ । दुई खेल बाँकी रहेको म्यानचेस्टर युनाइटेडको ६३ अंक छ । तेस्रो स्थानको आर्सनलको एक खेल बाँकी हुँदा ६८ अंक भएको छ ।