Fri. Apr 11th, 2025

काउली फल्ने फाँटमा इट्टाँ भरिदैँ

शंकर श्रेष्ठ / २४ बैशाख, धादिङ – अघिल्लो वर्षसम्म बाह्रैमास लहलह हरिया तरकारीले झपक्क देखिने जिवनपुर र आसपासका गैह्री खेत र फाँटहरुमा आजभोलि धुवाँको कालो मुस्लोे उडाउँदै ठडिएका इट्टा भट्टीको चिम्नीले आसपासका वस्ति समेत कुरुप बन्दै गएको छ ।

itta-uddhog 1

धार्के–सितापाइला सडक र पृथ्वी राजमार्गको किनारका फाँटहरु राजधानी शहर काठमाडौंको ताजा तरकारी उत्पादन हुने उर्वर भूमी थियो । तरकारीको पकेट क्षेत्रमा जथाभावी इट्टा उद्योग संचालन हुन थालेपछि धादिङको यस भेगका किसानको रोजिरोटी संकटमा त परेको छ नै तरकारी र अन्न भण्डार मरुभुमी जस्तै फुङ्ग उडेको देखिन्छ ।

काउली, बन्दा, खुर्सानी, काँक्रो लगायतका तरकारीले ढाकिने धादिङको जीवनपुर, छत्रेदेउराली, थाक्रे, नौविसे, गोगनपानी गाविसका फाँटहरु अहिले ३० भन्दा बढि इट्टा भट्टाहरु संचालनमा आएका छन् । इट्टाभट्टाले यस क्षेत्रका सयौ रोपनी खेतीयोग्य जमिन ओगेटेको छ । एउटा इट्टाभट्टाले एक सय देखि दुई सय रोपनीसम्म स्थानीयको जग्गा सस्तो मुल्यमा भाडामा लिएका छन् ।

काठमाण्डौको उपभोक्तालाई ताजा तरकारी खुवाउँदै आएको धादिङको उर्वरशिल जमिन अहिले इट्टा उद्योगले भरिएको छ । उद्योगले गर्दा दिनभरी खेतबारीमा तरकारी सयाहार्ने र विहान बेलुका विक्रि गरेर परिवार पाल्दै आएका विपन्न वर्गाका कृषकको रोजीरोटी नै संकटमा पुगेको छ ।

itta-uddhog 2

एक रोपनी जग्गामा लगाएको तरकारीबाट वर्सेनि एक लाखको हाराहारीमा कमाई गर्दै आएका किसान अहिले रोपनीको बार्षिक १५ देखि २५ हजार भाडा लिएर चित्त बुझाउन बाँँध्य छन् । इट्टाभट्टाबाट निस्किएको धुवा र धुलोले नजिकको जग्गामा लगाएको खेतीले पनि उत्पादन नदिने भएपछि बाध्य भएर जग्गा भाडामा दिनुपरेको जीवनपुर ९ की राधिका लुइटेलले बताइन् । ‘भुकम्पपछि पानी सुक्यो, अब खेती हुँदैन भन्दै धेरै जग्गा हुनेहरुले भट्टालाई जग्गा भाडामा दिए, अहिले न तरकारी खतीबाट हुने कमाई हुन्छ न भाडाले खान र परिवार पाल्न पुग्छ, राधिकाले भनिन् । खेती त भएन नै साँझ परेपछि धुँवाले शास फेर्न समेत गाह्रो हुन्छ राधिकाले दुखेसो गरिन् ।

जीवनपुर गाविसमा मात्रै १८ ओटा इट्टा उद्योगले सञ्चालनको लागि सिफारिस लगेको जीवनपुर गाविस सचिव विन्दा कुमारी खड्काले जानकारी दिइन् । दाउराबाट पोलेर तयार पारिएका इट्टाले खेतीयोग्य जमिन र फाँटहरु भरिएका छन् । इट्टाभट्टा संचालनमा आएसंगै खेतीयोग्य जमिन त मासिएको छ नै प्रदुषणले गर्दा त्यस आसपासमा बसोबास गर्न समेत समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

इट्टा पोल्ने चिम्नी (डग) बाट निस्किएको कालो धुँवा पातमा लागेपछि विरुवामा नै कक्रिएर सुक्ने र फल नदिने समस्या देखिएको छ । धुँवाले एक लाख खर्च गरेर लगाएको खुर्सानीले एक रुपैँया पनि आम्दानी नदिएको रामनाथ आचार्यले गुनासो गरे । आसपासमा लगाएको तरकारीको पातमा कालो धुवा र दिउँसोको धुलो टाँसिएरपछि विरुवा नै नबढ्ने र फल नदिने उनले बनाए ।

tarkari-bali 1

जीवनपुरको पुरानो डी, लामिछानेटार, ठूलीबेसी लगायतका फाँटहरु बर्सैभरी हरियो हुन्थ्यो, हेरिरहुँं जस्तो हुन्थ्यो, अहिले नजिक जान मन लाग्दैन । रातो माटे डाँडाजस्तो छ । जतिखेर नी धुँवा र धुलो बाहेक अरु देखिदैन । एकजना किसानले भने, टाठाबाठाहरुले जग्गा दिइगो हामीले नदिएर सुखै पाएनौं, केही बोल्न नसकेपछि अहिले यस्तो चाल छ’ चिम्नीबाट निस्किएको धुँवा र सुकेको तरकारी (काँक्रो) देखाउँदै उनले इट्टाभट्टालाई जग्गा भाडामा दिनुको बाध्यता सुनाए ।

काठमाण्डौका इट्टा उद्योगहरुलाई विस्थाापित गराउने कुरा उठिरहँदा उद्योगहरु धादिङ केन्द्रित भएका हुन् । पछिल्लो एक वर्षमा घरेलु तथा साना उद्योग विकास समिति धादिङ २२ ओटा इट्टा उद्योग दर्ता भएका छन् । धादिङमा उद्योग सुरु गरेका अधिकांश उद्योग मालिकहरुले यस अघि काठमाण्डौका विभिन्न स्थानमा इट्टाभट्टा संचालन गर्दै आएका थिए ।

अहिले त्यस त्यस क्षेत्रमा संचालनमा आएको उद्योगले एक पटकमा १६ लाखसम्म इट्टा उत्पादन गर्दै आएको जीवनपुर ९ लामिछानेटारमा संचालित टाटा इट्टा उद्योगका संचालक लक्ष्मण लुइटेलले जानकारी दिए ।

itta-uddhog 3

जीवनप्र, गोगनपानी, नौविसे क्षेत्रमा हाल संचालनमा रहेका करिब ३० ओटा इट्टाभट्टाले करिब १५ सय किसानको पाँच हजार रोपनी खेतीयोग्य जग्गा ओगेटेको छ । भुकम्प अघि जिल्लामा ७ ओटा मात्रै इट्टा संचालनमा थियो । अहिले २९ ओटा दर्ता भई अनुमति लिएर संचालनमा छ भने ११ ओटा इट्टाभट्टा दर्ता विना नै संचालनमा रहेको एक तथ्याङ्कमा उल्लेख छ ।

तरकारी फल्ने जग्गामा इट्टा उद्योग संचालनमा आएपछि काठमाण्डौ र पोखराका तरकारी बजारमा जाने तरकारीको परिमाण पनि घटेको छ । अघिल्लो वर्षहरुमा दैनिक ३० टिपसम्म तरकारी काठमाण्डौका बजारमा जान्थ्यो, अहिले १० टिप पुग्न मुस्किल छ, धार्के तरकारी संकलन केन्द्रका बाबुकृष्ण गजुरेल बताए ।

जथाभावी संचालनमा आएको इट्टा उद्योगले तरकारीले समृद्ध बन्दै गएको फाँटहरुको रुप नै बदलिएको छ । ‘दुध फलफुल र तरकारी घरघरमा रोजगारी’को नारा तय गरेर कृषि क्षेत्रको विकासमा लागि परेका निकायहरु जथाभावी ढंगबाट इट्टा उद्योग संचालनमा आइरहँदा बेखबर बनेर मौन बसेको छ । मनोमानी रुपले कृषकको खेतीयोग्य जमिन मासेर संचालनमा आएको इट्टाभट्टाबारे नियमनकारी निकायले समेत ध्यान दिएको छैन ।

tarkari-bali 2

किसानले धान मकैको सट्टा वर्षमा चार बाली फरक फरक किसिमका तरकारी खेती गर्दै आएका थिए । एक रोपनी जग्गामा लगाएको तरकारीबाट वर्षमा एक लाख सम्म आम्दानी लिन सकिने किसानहरुको अनुभव छ । त्यस क्षेत्रमा विशेषगरी काउली, बन्दा, गोलभेडा, खुर्सानी लगात नगदे तरकारी बाली खेती हुँदै आएको थियो ।

itta-uddhog 4

About The Author

अन्य समाचारहरु: