मनिष दुवाडी / २३ बैशाख, गजुरी (धादिङ) – ३ वर्षको उमेरमै पोलियो लागेर दुवै खुट्टा राम्रोसंग नचल्ने दाङ लमहीकी देवा परियार ९ महिना लामो सिलाइकटाइ तालिम लिएपछि बिदाइ समारोहमा सहभागीहरुको अगाडी आएर भनिन, ‘म अपाङग भएर घरमै बस्नुपर्दा सधै गाउँ समाज र आफ्ना नातागोताको हेलामा बस्नुपथ्र्यो, कहिलेकाँही त लाग्थ्यो सधै अपाङग भएर बस्नुभन्दा त मर्न पाएपनि हुन्थो तर अपाङग कल्याण संघ धादिङले करिव ९ महिना सिलाइ कटाइ तालिम दिएपछि सवै प्रकारका कपडा सिलाउन सक्ने भएकी छु, अहिले त यति आत्मविश्वास बढेको छ की मलाइ पहिला ‘अपाङग केटी’ भनेर कुटा काट्ने समाजको अगाडी गएर कपडा पसल खोल्छु र तिनिहरुकै कपडा सिलाउँछ ।’ उनले यति भन्दै गर्दा तालिममा सहभागी भएका १६ जना अपाङगता भएका ब्यक्तिहरु लगायत अन्य सहभागीहरुले ताली बजाएर हौसला दिए ।
अपाङग कल्याण संघ धादिङले सवैखाले अपाङगता भएका देशका विभिन्न जिल्लाका १६ जना ब्यक्तिहरुलाइ ९ महिनासम्म आवासिय सुविधा सहित निशुल्क तालिम दिएपछि उनीहरुमा काम गरेर खाने आत्मविश्वास बढेको हो ।
३ वर्षको उमेरमै पोलियो लागेर दुवै खुट्टा चल्न नसक्ने भएपछि उनले राम्रोसंग पढ्न पनि सकिनन । ‘घर नजिकै प्राथमिक विद्यालय थ्यो, ५ कक्षासम्म घस्रेर हिढे पनि त्यसपछि पढ्ने रहर हुँदा हुँदै टाढाको विद्यालयसम्म जान नसक्ने भएपछि घरमै थन्किए ।’ देवाले भनिन, ‘परिवारको सवै जना काम गर्न जानुहुन्थो, म संधै घरमै बस्नुपर्ने, गाउँ समाज र आफ्नै नातागोताले समेत बोझको नजरमा हेर्ने गर्थे, बाँच्नै मन लाग्दैन थ्यो त्यतिबेला । मन लागेको खान र मन परेको कपडा लाउन पनि सक्दिनथे । संसारभर अपाङग भएको ब्यक्ति त म आँफै मात्र छु जस्तो लाथ्यो । मन परेको लुगा लगाउछु भन्दा बाबाममीले दिनुहुन्थ्यो तर सिलाएर घर ल्याउनै महिनौ लाग्थ्यो । अव त म आफ्नो लागि मात्र होइन अरुले लगाउने जस्तोसुकै कपडा सिलाउन सक्ने भएकी छु ।’
अव दाङ फर्किएर आफ्नै घर छेउमा कपडा पसलको साथमा टेलर पनि खोल्ने इच्छा त देवाको । तालिम दिने सस्था अपाङग कल्याण संघले केही थान कपडा र सिलाइ मेसिन समेत निशुल्क दिएपछि त उनमा झन हौसला थपिएको छ । देवा भन्छिन, ‘मेरो घरमा ३ जना दिदी बहीनी छन, अव त म पनि काम गर्न सक्ने भएकी छु, म पनि अव उनीहरुमा भन्दा कम छैन, दिदीहरु बाहिर काम गर्लान, तर म पसल खोल्छु र कपडा सिलाउँछु ।’
त्यस्तै झापाको गारामुनी गाउँ विकास समित वडा न ४ का गोपाल श्रेष्ठको पनि दुवै खुट्टाको घुँडाभन्दा मुनीको भाग छैन । उनलाइ आफुले कत्रो हुँदा खुट्टा गुमाए भन्ने पनि थाहा छैन । बाबाममीले बताएअनुसार ९ महिनाको हुँदा आगोले पोलेर उनको दुवै खुट्टा गुम्यो । त्यसपछि परिवारले निकै कष्टका साथ हुर्काए । साथीभाइ र दाजुहरुको सहारामा ७ कक्षासम्म अध्ययन गरेपनि टाढा विद्यालय भएका कारण पढाइ छोडेका गोपालको पनि अव टेलर संचालन गरेर बस्ने इच्छा छ । ‘खुट्टा नभएपछि हिडडुल गर्न सक्दैन थिएँ, अपाङ भएको ब्यक्ति त म मात्रै छु होला जस्तो लाग्थ्यो । अहिले यहाँ तालिम लिन आए आफुजस्तै अरुपनि देखेपछि केही काम गरेरै खाने हौसला मिलेको छ ।’ गोपालले भने, ‘अव म झापा फर्किएर आफ्नै टेलर खोलेर बस्छु ।’
उपचारको सिलसिलामा अपाङग बाल अस्पताल तथा पुनस्थापना केन्द्रमा पुगेका बेला अपाङगता भएका ब्यक्तिहरुलाइ निशुल्क सिलाइकटाइ तालिम दिने भन्ने सुनेर श्रेष्ठ धादिङको अपाङ कल्याण संघको सम्पर्कमा आएका थिए । गोपालले भने, ‘सधै घरमै थन्किएर काम गर्न सक्दैनथे, सधै घरमै थन्किएर बस्नुपर्दा आफैलाइ हिनताबोध हुन्थ्यो के गरौ कसो गरौ हुन्थ्यो, जे गर्न पनि परिवारको सहायता चाहिने, साह्रै गाह्रो भएको थियो जिवन विताउन तर यहाँ ९ महिनासम्म तालिम लिएपछि त अपाङगता भएका ब्यक्तिहरुपनि काम गर्न सक्ने रहेछन भन्ने लाग्यो । अहिले त लागेको छ आगोले पोलेर मैले मेरो खुट्टा मात्रै त गुमाएको हो, तर मन र इच्छाशक्ति भने गुमाएको रहेनछु ।’
अपाङग कल्याण संघ धादिङले गोेपाल र देवा जस्तै धादिङ, दाङ, झापा, लगायतका जिल्लाहरुका १६ जना अपाङगता भएका ब्यक्तिहरुलाइ आवासीय सुविधा सहित निशुल्क तालिम दिएको थियो । अपाङ्ग कल्याण कल्याण संघ धादिङका महासचिव गोविन्द खनालले भने, ‘हामीले विशेष गरेर शारिरिक रुपमा अपाङगता भएका ब्यक्तिहरु, जस्ले अपाङगता भएकै कारण पढ्न पनि सकेका छैनन र आँफै अरु काम गरेर पनि खान सक्दैनन, त्यस्ता ब्यक्तिहरु छनौट गरि हरेक वर्ष विभिन्न संघसस्थाहरुको सहयोगमा निशुल्क सिलाइ कटाइ तालिम दिने गर्दछौँ ।’
अपाङगता भएका ब्यक्तिहरु नै संगठित भइ खोलेको संघले विगत ४ वर्षदेखि निशुल्क तालिम संचाल गर्दे आएको छ । तालिम दिने मात्र नभइ अपाङगता भएका ब्यक्तिहरुलाइ शारिरिक थेरापी र स्वास्थ उपचारको लागि पनि सहयोग गर्दे आएको छ । संघका अध्यक्ष गुणराज खतिवडाले भने, ‘हामीहरु आफ्नो बलबुताले भ्याएसम्म दाताहरु खोजेर अपाङगता भएका ब्यक्तिहरुको सहयोगका लागि यस्ताखाले तालिम संचालन गरिरहेका छौ । आगामी दिनमा यस्ता खाले कार्यक्रम त सरकारी निकायले सरकारी तवरबाटै संचालन गर्नुपर्छ ।’