अस्मिता खतिवडा /२२ बैशाख, धादिङ- गर्मी बढ्न थाले संगै साुमदायिक आँखा केन्द्र धादिङमा आँखाका बिरामीको भीड लागेको छ ।
दैनिक ६० जना भन्दा बढी आँखासम्बन्धी समस्या समाधानका लागि आइरहेको अस्पतालको तथ्यांकले देखाउँछ ।
आँखा सम्बन्धी समस्या लिएर आउनेहरुमा विशेषगरी आँखा पाक्ने, पोल्ने, बिझाउने, चिलाउने, टाउको दुख्ने लगायतका समस्या बढि मानिसहरुमा देखिएको छ । त्यसमध्ये लगभग ४० प्रतिशत बिरामी भने आँखा पाक्ने समस्या लिएर आउने गरेका डाक्टर रामसिंह तामाङले बताऊनुभयो । अहिले हावा हुरी चल्ने समय भएको हुँदा आँखामा धुलो र कसिङ्गर पस्ने जस्ता कुराले आँखा पाक्ने गरेको तामाङको भनाई छ ।
आँखा पाक्ने रोग, सरुवा रोग भएकाले एक जनाको आँखा पाक्ने बित्तीकै अरुको पनि आँखा पाक्ने नेत्र प्राविधिकहरु बताउँछन् । आँखा पाक्ने रोगबाट बच्न चश्मा लगाउने, गर्मीको बेला बिहान बेलुकी चिसो पानीले आँखा सेक्ने र घाममा छाता ओढ्ने चित्किसहरुको सुझाव छ ।
त्यस्तै गर्मी महिनामा हुन सक्ने आँखा सम्बन्धी अन्य समस्याबाट बच्न प्रदूषित वातावरणमा नजाने, हरियो सागपात बढी मात्रामा खाने, भिटामिन ए युक्त फलफूल सेवन गर्ने, कम्प्युटर चलाउँदा वा टिभी हेर्दा केही समय आराम गर्ने तथा चिसो पानीले मुख धुने गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।