२१ वैशाख, धादिङ – आज विश्व प्रेस स्वतन्त्रता दिवस । ‘सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति’ नाराका साथ नेपालमा पनि मनाइँदै छ ।
विश्वका एक सय भन्दा धेरै राष्ट्रले हरेक वर्षको मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरेका छन् । नेपालमा प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा नै सुनिश्चित गरिएको छ । तर संवैधानिक रुपमा प्रत्याभूत गरे पनि पूर्ण रुपमा अनुभूति हुन नसकेको गुनासो छ ।
दिवसकै अवसर पारेर नेपालका श्रमजिवी पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको साधारण सभा आयोजना गरिएको छ । चितवनको रत्ननगरस्थित स्टार ब्याङ्क्वेटमा आयोजित साधारणसभामा देशभरका पत्रकारहरु भेला भएका छन् ।
साधारण सभाको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम छ ।
नेपालमा २०४६ सालपछि प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा ग्यारेन्टी गरिएको छ । तर यसको पूर्ण रुपमा अनुभूति गर्न नसकेको पत्रकारहरु बताउँछन् ।