Sat. Apr 12th, 2025

संसद्को बर्खे अधिवेशन आजदेखि

२१ बैशाख काठमाण्डौ- व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन आजदेखी सुरु हुँदैछ ।         व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।  बर्खे अधिवेशनका रुपमा रहने संसद्को यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम  र आव २०७३÷७४ को बजेट प्रस्तुत हुनेछ ।

व्यवस्थापिका–संसद्का प्रवक्ता डा भरतराज गौतमका अनुसार मङ्गलबारको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइने कार्यसूची छ । अन्य कार्यसूची भने टुङ्गो लाग्न बाँकी छ ।

अधिवेशनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नयाँ आवको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुहुनेछ । पूर्वबजेटका रुपमा समेत उक्त छलफललाई लिइन्छ । उक्त छलफल सकिएपछि सदनमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

प्रस्तुत नीति तथा कार्यक्रममाथि दफावार छलफल हुनेछ । सो कार्य सम्पन्न भएलगत्तै आर्थिक सर्भेक्षण प्रस्तुत गरिनेछ । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गतेसम्म सरकारको वार्षिक आयव्यय अर्थात् बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।  अघिल्लो वर्ष सदनको हिउँदे अधिवेशन बस्न नसकेका कारण विधेयक अधिवेशनका रुपमा रहने सदनको उक्त सत्रको जिम्मेवारी पनि बर्खे अधिवेशनको काँधमा सरेको छ ।

सरकारले पुनःनिर्माणका लागि राजनीतिक दललाई स्वयम्सेवक खटाइदिन आग्रह गरेको र यसै बीचमा राष्ट्रपतिको भारत भ्रमणमा जाने कार्यसूची बन्दै गरेको अवस्थामा संसद्मा रहेका  ४० विधेयकलाई पारित गर्नुपर्ने चाप पनि परेको छ । समय अभावका कारण एक महिनाभित्र ती विधेयकले निष्कर्षमा पुग्ने सम्भावना भने कम देखिन्छ ।

त्यसो त सदनको कार्य सञ्चालन नियमावलीलाई नै पहिले टुङ्गोमा पु¥याउनुपर्ने बाध्यता रहेको छ । दलबीच सहमति हुन नसक्दा छ महिनादेखि नियमावली टुङ्गो लाग्न सकेको छैन । अन्तरिक कार्य सञ्चालन नियमावलीअनुसार सदनका कामकारबाही हालसम्म सञ्चालन हुँदै आएका छन् । नियमावली नबनेका कारण संसदीय सुनुवाइ समिति गठन हुन सकेको छैन जसका कारण विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएकाहरुको नियुक्ति हुन सकेको छैन ।

अघिल्लो अधिवेशनले संविधान मात्रै जारी गरेको हुँदा संविधान कार्यान्वयनसँग जोडिएका दर्जनाँै ऐननियम टुङ्गो लगाउनुपर्ने बाध्यता पनि संसद्लाई परेको छ । भूकम्पपछिको पुनःनिर्माण प्रभावकारी हुन नसकेको जनाई जनस्तरबाट आएको आक्रोशलाई समाधान गर्ने उपायको खोजी गर्ने उपयुक्त अवसरका रुपमा समेत संसद्को दोस्रो अधिवेशनलाई लिइएको छ । पुनःनिर्माणका विषयमा सदनमा चर्चा पाउने अपेक्षा गरिएको छ ।

सदनमा हाल ३१ दल र १ स्वतन्त्र सांसद हुनुहुन्छ भने सांसदको सङ्ख्या ५९६  छ ।  रासस

About The Author

अन्य समाचारहरु: