Tue. Mar 4th, 2025

इंग्लिस प्रिमियर लिगको उपाधि लिसेस्टर सिटीले जित्यो

_ameivardyvmanutd_gettprimier-ligy
२१ बैशाख, धादिङ – इंग्लिस प्रिमियर लिगको उपाधि लिसेस्टर सिटीले हात पारेको छ ।

सोमबार राति भएको खेलमा उपाधि होडमा रहेको टोटनह्याम डिफेन्डिङ च्याम्पियन चेल्सीसँग २–२ को बराबरीमा रोकिएपछि लिसेस्टरले उपाधि हात पारेको हो । गएको सिजन रेलिगेशनबाट मुस्किलले जोगिएको लिसेस्टरले यो सिजन निकै राम्रो प्रदर्शन गर्दै प्रिमियर लिगका ठूला र बलिया भनिएका टिमलाई पछि पार्दै आफूलाई च्याम्पियनका रुपमा स्थापित गरेको हो ।

क्लाउडियो रानिएरीको प्रशिक्षणमा रहेको टिमलाई उपाधि यात्रासम्म लैजान जेमी भर्डी तथा रियाद महरेजसहितका खेलाडीले महत्वपूर्ण र उत्कृष्ट प्रदर्शन गरे । उपाधि होडमा रहेको टोटनह्यामसहित आर्सनल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड तथा गएको वर्षको विजेता चेल्सीले लिसेस्टरलाई रोक्न सकेनन् ।

आइतबार राति भएको खेलमा लिसेस्टर सिटी म्यानचेस्टर युनाइटेडसँग १–१ को बराबरीमा रोकिएपछि टोटनह्यामलाई उपाधिका लागि लिगका बाँकी तीनै खेल जित्नु पर्ने थियो । तर सोमबार राति भएको खेलमा चेल्सीसँग २–२ को बराबरीमा रोकिएपछि टोटनह्यामको उपाधि सम्भावना सकियो भने लिसेस्टरले लिगका दुई खेल बाँकी हुँदा नै उपाधि पक्का गर्‍यो ।

लिगका दुई खेल बाँकी हुँदा च्याम्पियन बनेको लिसेस्टरको ७७ अंक छ भने दोस्रो स्थानको टोटनह्यामको ७० अंक छ । लिसेस्टरले अब दुवै खेल हार्‍यो र टोटनह्यामले दुवै खेल जित्यो भने पनि लिसेस्टर टोटनह्याम भन्दा एक अंकले अघि नै हुने छ । लिसेस्टरको यो पहिलो प्रिमियर लिग उपाधि हो ।

About The Author

अन्य समाचारहरु: