अस्मिता खतिवडा /१८ बैशाख, धादिङ- धादिङमा गएको ५ वर्ष यताकै सबै भन्दा धेरै जंगल यस वर्ष डढेलोको कारण सखाप भएको छ । सधैं जसो गर्मी महिना सुरु भएदेखि डढेलो लाग्ने भए पनि यस वर्ष भने जाडो मौसमदेखि नै जंगलमा डडेलो सुरु भएको हो ।
धादिङ जिल्लामा ६७४ सामुदायीक वन र ४९५ कवुलीयति वन रहेको छ । धादिङ जिल्ला नेपालकै सबै भन्दा धेरै समुदायीक बन भएको जिल्ला हो । गत पाँच महिनादेखि सल्केको डढेलोका कारण धादिङमा ८५ प्रतिशत जंगल सखाप भईसकेको छ ।
सरकारी निकाय र स्थानीय समुदायको बेवास्थाका कारण पनि यसरी जंगलमा हरेक दिन डडेलो सल्केको हो । लामो समयदेखी परेको खडेरी र जंगलमा जथाभावी अनियन्त्रीत रुपमा लागेको डडेलोले जंगल विनास हुँदा पानीको मुहानहरु समेत सुक्दै गएको छ । जंगलमा सल्केको डढेलोका कारण चरचुरुङ्गीहरुको बासस्थान नासिनुका साथै घस्रेर हिड्ने जिवहरु समेत मार्ने भएकाले चरचुरुङ्गी र त्यस्ता जिवहरु लोप हुने अबस्थामा छन् ।
यसै गरी जंगलमा पाईने महत्व पुर्ण बहुमूल्य जडिवुट्टीहरु हराउदै जान थालेको छ । लामो समयदेखी खडेरी र दिनहु सयौ हेक्टर जमीनमा सल्केको डढेलोका कारण हाव समेत प्रदुषीत भई बाक्लो तुवालोको समस्या समेत रहेको छ ।
डढेलोका कारण स–साना बोट विरुवा सखाप हुने र ठुला रुखहरु समेत मर्दै जान थालेका कारण भु–क्षयको समेत समस्या हुने देखिन्छ । यसरी पर्यावरणका लागि अत्यावश्यक यस्ता जिव जन्तुहरु लोप हुदै गएका कारण वातावरणमा समेत प्रतिकुल प्रभाव पर्ने विज्ञहरुको भनाई छ ।