१८ बैशाख, धादिङ – दोस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आगामी जेठ ६ गतेदेखि नेपालमा हुने भएको छ।
नेपाल सितोरियो कराते डो सङ्घ, शाखा डोजो सामाखुसीको आयोजनामा राजधानीमा हुने प्रतियोगितामा नेपालसहित ६ दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने छ। प्रतियोगिताको पुरुषतर्फ १५ र महिलामा १३ गरी जम्मा १८ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा आयोजक नेपालबाट सर्वाधिक ४०० तथा पाकिस्तानबाट सबैभन्दा कम १० खेलाडीले भाग लिने छन्। त्यस्तै, भारतले ३००, बङ्गलादेश र श्रीलङ्काले १५–१५ तथा भुटानले १३ खेलाडी सहभागी गराउने आयोजक डोजोका प्रमुख तथा प्रतियोगिता संयोजक राजेन्द्रकुमार ओझाले जानकारी दिए।
तीनदिने प्रतियोगिताअन्तर्गतका खेल लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन् । गत संस्करणको उपाधि नेपालले जितेको थियो। रासस