१७ बैशाख, धादिङ – धादिङमा सञ्चालनमा आएका इट्टा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउन सुरु भएको कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
ग्लोबल फेयरनेस इनिशिएटिभ र सफाइ इट्टा समूह नेपाल (बिसिएन) को सहयोगमा प्रयास नेपाल धादिङले धादिङमा सञ्चालनमा रहेका २ ओटा इट्टा उद्योगमा कार्यक्रम भैरहेको छ । गत नोवेम्बर महिनादेखि सञ्चालन भएको कार्यक्रमबारे शुक्रबार सञ्चारकर्मीहरुसंग छलफल गरिएको थियो ।
नेपालमा स्थापना भएका इट्टा उद्योगहरुले १ लाख ७५ हजारभन्दा बढिलाई रोजगारी दिएको भएपनि त्यसलाई बातावरण मैत्री बनाउन, बालश्रम बन्द गर्न र उपयुक्त श्रमज्याला दिन नसकेको छलफलका सहभागिहरुले बताएका थिए । मौसमी रुपमा इट्टा उद्योग सञ्चालन हुँदा र त्यहाँ काम गर्ने मजदुरहरु घुम्ति रुपमा काममा जाने हुँदा तीनका बालबालिकाहरु शिक्षाबाट समेत वञ्चित हुने गरेका छन् ।
मजदुरका बालबालिकाहरुको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सुधार ल्याउन र इट्टा उद्योगलाई पूमाणिकरण गरी बजार प्रवद्र्धन समेत गर्न कार्यक्रम सञ्चालन गरेको प्रयास नेपाल धादिङले बताएको छ । इट्टा उद्योगमा काम गर्ने मजदुरहरुको आवास व्यवस्थित नहुँदा महिला तथा बालबालिकामा स्वास्थ्य समस्या समेत देखिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।
धादिङमा सञ्चालनमा रहेका इट्टा उद्योगले देशको आर्थिक विकासमा सहयोग गरेपनि वातावरण प्रदुषणका कारण स्थानीयहरुलाई समस्या परेको सहभागि सञ्चारकर्मीहरुले बताए । विधिवत रुपमा उद्योग दर्ता गरेर सञ्चालन गर्नुपर्ने प्रावधान रहे पनि विना दर्ता र अन्यत्रबाट आएर उद्योग सञ्चालन गर्नेको संख्या वृद्धिहुँदा जिल्लालाई असर परेको छ ।
छलफलमा विसिएनका कार्यक्रम अधिकृत हरिप्रसाद पौडेलले इट्टा उद्योगमा काम गर्ने मजदुरका बालबालिकाको शिक्षामा विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । प्रयास नेपालका परियोजना संयोजक कमला अधिकारीले कार्यक्रम शुरुभएपछि धादिङका २ ओटा इट्टा उद्योगहरु रक्तकाली इट्टा उद्योग नौविसे र यति इट्टा उद्योग थाक्रेमा पूर्व प्रारम्भिक बालविकास केन्द्र र सिकाइ केन्द्र सञ्चालन गरिएको बताइन् ।
त्यसैगरी इट्टा उद्योगमा काम गर्ने मजदुरहरुको कामलाई सम्मानजनक कामको रुपमा पहिचान गर्ने, इट्टा उद्योगमा बालश्रम तथा बँधुवाश्रमको अन्त्य गर्ने, उद्योगमा अभिभावकहरुसंग आएका बालबालिकाहरुलाई प्रारम्भिक बालशिक्षा, विद्यालय सहयोग तथा विद्यालय पहुँचका कार्यक्रम सञ्चालन गर्ने पनि अधिकारीले बताइन्। कार्यक्रम सञ्चालनपछि उद्योगीहरुले पनि सबै मापदण्ड पुरा गरेर उद्योग प्रमाणीकरण गरी बजार प्रवद्र्धनमा जाने प्रतिवद्धता जनाएका छन् ।