Tue. Nov 26th, 2024

धादिङमा नयाँ पाठ्यपुस्तक आउन किन ढिला ?

Students
अस्मिता खतिवडा /१६ बैशाख, धादिङ – धादिङका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले अझै नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता  बित्दा समेत राजधानीसँग जोडिएको धादिङको विकट बस्तीमा मात्रै हैन सदरमुकामकै सरकारी विद्यालयहरुमा पनि पुस्तक उपलब्ध गराइएको छैन ।

विशेष गरी कक्षा ६ कक्षादेखि दशसम्मको त एउटा पनि पाठ्यापुस्तक अहिलेसम्म धादिङ सदरमुकाममा समेत आएको छैन । कक्षा १ देखि ५ सम्मको केही पाठ्यपुस्तकहरु भने जिल्लामा भित्रिए पनि कतिपय विद्यालयमा वितरण हुन सकेको छैन । सरकारले भने बुधबारसम्म सबै सरकारी विद्यालयका विद्यार्थीहरुलाई पुरा सेट पाठ्यपुस्तक दिने भन्दै घोषण गरेको थियो ।

पाठ्यपुस्तक पाउनु त परै जाओस् कहिलेसम्म पुस्तक पाउने भन्ने कुराको समेत अन्योल रहेको विद्यार्थीहरु बताउँछन् । पुस्तक नभएपछि विद्यार्थीहरु अहिले कापी र कलमको भरमा मात्र विद्यालय जान बाध्य छन् । पाठ्यपुस्तक नभएका कारण विद्यार्थीहरु कक्षा कोठामा के अध्ययन गर्ने भन्ने कुराको समेत अन्योलमा छन् । तल्लो कक्षा उत्तीर्ण गरी माथिल्लो कक्षामा प्रवेश गरेका विद्यार्थीहरु भने समयमा नयाँ पाठ्यपुस्तक नपाएका कारण आफूहरुको पढ्नु पर्छ भन्ने मनोवल नै घटेको बताउँछन् ।

जनक शिक्षा सामग्री केन्द्रले हरेक वर्ष शैक्षिक सत्र सुरु हुने वित्तिकै नयाँ पाठ्यपुस्तकहरु पठाउने भन्ने गरेको भए पनि विद्यार्थीहरुले भने एक दुई ओटा आन्तरीक परिक्षा त विना पुस्तक नै दिनु पर्ने बाध्यात्मक अवस्था रहेको छ  । पुस्तक नहुँदा विद्यार्थीहरुको पढाईमा समेत ठूलो नोक्सानी हुने विद्यार्थीहरुको भनाई छ ।

प्राथमिक विद्यालय मात्रै सञ्चालन गरेका विद्यालयहरुले ५ कक्षासम्मको पुस्तक लिए पनि १ देखि १० सम्म सञ्चालन गरेका विद्यालयहरुले पुस्तक नलिएको जिल्ला शिक्षा कार्यलय धादिङका जिल्ला शिक्षा अधिकारी रेनुका पाण्डेको भनाइ छ । जनक शिक्षा सामग्री केन्द्रको ढिलासुस्तीका कारण यस्तो अवस्था आएको बताऊँदै सबै तहका पाठ्यपुस्तक ल्याउनका लागि पहल भई रहेको जिशिअ पाण्डेले जानकारी दिइन्।

About The Author

अन्य समाचारहरु: