गायत्री खतिवडा / १६ बैशाख, धादिङ – नागरिकता बनाउँनका लागि हिडेको दुःखले उनी आत्तिसकेकी थिइन् तर हरेस खाएकी थिइनन् । उनलाई लाग्थ्यो ‘अव मेरो नागरिकता नबन्ने भो ।’ गाविस धाउँदा र जिल्लामा धाउँदा दुःख त पाएकी थिइन् नै गाउँका मान्छेले पनि अत्याइदिन्थे ‘तेरो लोग्ने नभइकन कसरी बन्छ नागरिकता ?’ उनलाई बेला बेलामा लाग्थ्यो ‘जिउँदो हिडेर पनि मरेकी जिन्दगी बाँचिरहेको छु ।’ उनी आफैलाई भन्दा पनि छोरीका लागि नागरिकता चाहिएको थियो ।
१५ वर्षकी छोरी १० कक्षामा पुगिन् । अहिले सम्म जन्मदर्ता छैन । जन्मदर्ता नभएको कारण एस एल सि परिक्षाका लागि फारम भर्न मिल्दैन भनेको छ विद्यालयले । आफ्नो नागरिकता छैन, छोरीको जन्मदर्ता बनाउने कसरी ? छोरी १२ कक्षा पास गराउने धोको अधुरो रहने भो भन्नेमा उनलाई झन धेरै चिन्ता भो । तैपनी मनको एउटा कुनोले सोच्थ्यो ‘एक दिन त कसो नबन्ला नागरिकता !’ अन्ततः त्यो एक दिन आयो । उनको मुहारमा खुशिको छाल उम्लियो । बर्षौदेखि पीडाले खाएको अनुहारमा खुशीको रङ्ग पोतियो ।
धादिङ्ग जिल्ला कटुन्जे गाविस वडा नम्बर ७ घर भएकी सुन्तला सुनारको १५ वर्षको उमेरमा मागी विवाह भएको हो । विहे गरेको २ वर्षपछि छोरी जन्मिइन् । छोरी जन्मिएको ३ वर्षपछि श्रीमानले घर छोडेर हिंडे । एक दिन आउलान्, दुई दिन आउलान् भनेर बाटो कुर्दाकुर्दै १२ वर्ष बित्यो । अहिले सम्म न विहेदर्ता छ न नागरिता नै । छोरीको जन्मदर्ता पनि छैन । शुरु शुरुमा उनलाई लाग्थ्यो अरुका पनि श्रीमान बाहिर गएका छन् । एक दिन त कसो नआउलान् र ! श्रीमान फकिन्छन् भन्ने आशमा छोरीलाई जसोतसो हुर्काइ बढाई गरि बसिन् । १२ वर्षमा खोला त फर्किन्छ भन्थे । तर उनको श्रीमान फर्किएनन् ।
दुई चार वर्ष पछि उनले धुइरो धुइरो सुनिन् श्रीमानले अर्को विहे गरेर अन्तै बसेका छन् । तर उनको कान र आँखाले अहिले सम्म देखेकी छैनन । न श्रीमान घर नै आएका छन् । उनले भनिन् ‘सासु र देवर जेठाजुलाई थाहा होला तर मलाई कहिल्यै भनेनन् । अरुका श्रीमान श्रीमति संगै हिडेको देख्दा, संगै बसेको देख्दा मन कुँडिन्छ । मैले के पाप गरेको थिएँ र ? सजायँ भोग्नुपर्यो ।’
श्रीमानले घर छोडेको दुई वर्ष सम्म घरमा सासुसंगै बसिन् । तर सासुको पनि साथ पाइनन् । गाउँलेले पनि अनेक कुरा काट्न थाले । त्यसपछि माइतीको छहारीमा बस्ने निधो गरेर माइती फर्किइन् । तर माइतीमा पनि उनले सोचे जस्तो भएन । सुन्तलाले भनिन् ‘कर्म नहुनेलाई कसैले काखी च्याप्दो रहेनछ । दाजुभाइले पनि वास्ता गरेनन् । सार्वजनिक जग्गामा छाप्रो हालेर बसें । अरुको मेलापात, घाँसदाउरा गरेर छोरीलाई स्कुल भर्ना गरें । आफुले नपढेर दुःख पाएकोले छोरीलाई जसरी भएपनि पढाएर ठूलो मान्छे बनाउने धोको थियो ।’
जव छोरी सात कक्षा पुगिन् अनि विद्यालयले जन्मदर्ता ल्याउनु भन्यो । उनी घर गइन् र सासुसंग कुरा गरिन् । पहिले त श्रीमानका बारेमा सोधिन् । नागरिकता बनाउनेबारे कुरा गरिन् । सासुले भनिन् ‘मेरो छोरालाई मुद्दा हाल्न नागरिकता खोजेकी, तँलाई नागरिकता बनाइदिन पनि सक्दिन । ’ तर उनलाई जसरी भएपनि नागरिकता बनाउँछु भन्ने लाग्यो । गाविसमा सचिवलाई सोध्न पुग्दा गाविस सचिवले भने ‘लोग्ने खोजेर लेउ अनि मात्र नागरिकता बन्छ ।’ गाउँ पुगेर सोधखोज गर्दा श्रीमानको बारे थाहा पाउन सकिनन् । त्यसपछि फेरी गाविसमा पुग्दा गाविस सचिवले उनको आफ्नै जन्मदर्ता बनाएर ल्याउन सल्लाह दिए । उनी पुन ः माइती फर्किएर आफ्नो जन्मदर्ता बनाइन् अनि गाविस पुगिन् ।
सविचले श्रीमानको नागरिकताको फोटोकपी चाहिन्छ भने । त्यो नभए जिल्ला प्रशासनमा गएर श्रीमानको नागरिकता नम्बर ल्याउनु भने । जिल्ला प्रशासनमा आफ्नो भन्ने कोही थिएन । उनलाई श्रीमानको नागरिकता नम्बर खोज्न पनि दुई दिन लाग्यो । श्रीमानको नागरिकता नम्बर लिएर गाविस पुग्दा गाविस सचिवले फेरी श्रीमान स्वयं उपस्थित नभइकन नागरिकता दिन मिल्दैन भने । उनलाई अवभने आफ्नै जिन्दगीदेखि धिक्कार लाग्यो । जुन मान्छेले दशवर्ष देखि तड्पाएको छ, त्यसैका कारण यति दुःख पाएकोमा आकाश खसोस् झैं लाग्यो । पृथ्वी भासियोस् झैं लाग्यो । मनमा लाग्यो ‘ पशु सरहको पनि जिन्दगी पाइन’ ।
सुन्तलाको हिम्मत मरेको थिएन । फेरी अर्को दिन गाविसमा पुग्दा गाविस सचिवले वडाको पाँच जना मान्छेको मुचुल्का उठाएर ल्याउन सुझाव दिए । उनले गाउँ सर्जिमन –मुचुल्का बनाएर ल्याउँदा फेरी मिलेनछ । श्रीमानको नाम फरक परेछ । दोस्रो पटक पुनः मुचुल्का उठाइन् । उनले गाविस सचिवसंग सोधिन् ‘सर ! के श्रीमान नहुने महिलाको बाँच्ने अधिकार छैन ? श्रीमान बेपत्ता हुने महिला बालबच्चाले जिउने अधिकार छैन, आफ्नो हक लिन पाईदैन ?’ सचिवले उल्टै धम्काए । मेरो कार्यालयमा अब आइन्दा मुख देखाउन आउने होइन ,नागरिकता चाहिने भए श्रीमान खोजेर ल्याउनु ।’ अव भने उनलाई बाँच्नु बेकार लाग्यो ।
आफ्नो अधिकारका लागी बोल्दा बिना गल्तीको सजायँ पाएको महशुस भयो । छोरी भएर जन्मेकोमा धिक्कार लाग्यो र त्यत्तिकै फर्किइन् । हरेक दिन नागरिकता पाउने हुटहुटिमा मन अमिलो हुन्थ्यो । गाउँको आमा समुहमा बस्न खोजिन तर नागरिकता नभएकोले बचत गर्न मिलेन । हरेक ठाउँमा शिर निहुरिन्थ्यो । सवैले भन्थे ‘तिम्रो नागरिकता छैन, तिमी के काम लाग्छ र !’
२०७२ बैशाख १२ मा भुकम्प गयो । उनी बस्दै आएको घर भत्कियो । आमा छोरीको फेरी बिचल्ली भयो । आफ्नो भन्ने जग्गाजमिन त थिएन । माइतीको जग्गामा बसेको घर भत्किएपछि घरसंगै आफुलाई पनि लगिदिएको भए वेशै हुन्थ्यो भन्ने लाग्यो । भुकम्प पछि गाउँमा विभिन्न संघ संस्थाले राहत वितरण गरे । तर उनसंग नागरिकता नभएको भन्दै गाउँका अरु मान्छे सरह पाउन सकिनन् । कति संघ संस्थाले पैसा बाँड्यो त्यो पनि उनले पाइनन । सरकारले १० हजार, १५ हजार बाँड्यो । त्यो झन् उनले पाउने कुरै भएन । उनलाई लाग्छ ‘एक पटक एक ठाउँबाट लखेटिएको मान्छे, हरेक ठाउँमा हरेक दिन लखेटिनुपर्ने रैछ । ओरालो लागेको मृगलाई बाच्छाले पनि लखेट्छ भनेको हो रैछ ।’
अहिले आएर फेरी गाउँको कसैले सुन्तलालाई उक्साइदियो, ‘तिम्रो नागरिकता बन्छ ।’ जति पाउनु दुःख पाइसकियो । नागरिकता बनाउन भनेर ३ बर्ष सम्म मार्पाक र कटुन्जे गाविस अनि सदरमुकाम धाउँदा धाउँदा २५ हजार रुपैयाँ सक्किसक्यो । साँच्चै नागरिकता बन्छ भने किन नबनाउने भन्ने लाग्यो र फेरी सदरमुकाम झरिन् । यो पटक सदरमुकाम झर्दा उनी सहयात्री समाज नेपालको कार्यालयमा पुगिन् । त्यहाँका सहयोगी हातहरुले उनलाई साथ दिए ।
सहयात्री समाज नेपालको सहयोग लिएर दुई दिन धाएपछि ०७३ बैशाख ७ गते उनको नागरिकता बन्यो । १२ बर्षदेखि श्रीमानले बेवास्ता गरेर पाएको दुःख, ३ वर्षदेखि नागरिकताकै लागि भौतारिदा पाएको दुःख र अर्काको काम गरेर कमाएको २५ हजार सकिए पनि नागरिकता पाएको दिन उनलाई ति सवै दुःख बिर्साइदियो । उनको आँखामा आँशु छचल्किएको थियो । नागरिकताको कार्ड हातमा लिएपछि सुन्तलाको अनुहार चम्किएर ‘सुन्तला जस्तै रसिलो’ भएको थियो । उनले भनिन् ‘आज म संग बोल्ने शब्द छैन । यो खुशी दिनुहुने सहयात्री समाज नेपालका दिदीबहिनीलाई कहिल्यै बिर्सर्ने छैन । म कति खुशी छु भनेर देखाउन मिल्ने भए देखाउँथें । अव भोली नै छोरीको जन्मदर्ता गर्छु । मेरी छोरीलाई १२ कक्षा पास गराउँछु । अव मैले पनि शिर ठाडो गरेर बाँच्न पाउने भएँ । अब मेरो पनि नाम र परिचय भयो । अव म पनि मान्छे भएँ ।’
सुन्तला सुनार त एक जना उदाहरण मात्र हुनुहुन्छ । सुन्तला सुनार जस्ता धेरै जना दिदीबहिनी हुनुहुन्छ जो आज पनि नागरिकता नै लागि भौतारिहनुभएको छ । नेपालको संविधान २०७२ले कुनै पनि नेपालीलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित गरिनेछैन भनेको छ । तर अहिले पनि लैङ्गिकताकै आधारमा महिला र पुरुषलाई विभेद गरिएको छ । श्रीमानको नातासंग जोडर नागरिकताको हकबाट बञ्चित गरिएको छ । नागरिकता श्रीमानसंगको नाता भन्दा पनि राष्ट्रियताको आधार हो । परिचय कार्ड हो । श्रीमानसंगको हक प्राप्ती विवाहदर्ता हो भने नागरिकता व्यक्तिको जन्मसिद्ध अधिकार हो । राज्यले यसरी बुझ्न सकेमा मात्र सुन्तता जस्ता धेरै महिलाहरुको पहिचानको अधिकार प्राप्तिको बाटो सहज हुनेछ ।