Tue. Nov 26th, 2024

एड्स सङ्क्रमित आमाले सुरक्षित बच्चा जन्माउने क्रम बढ्दै

pegment
९ बैशाख, चितवन – एचआइभी एड्स सङ्क्रमित आमाहरुले उच्च सावधानी अपनाउन सकेमा सुरक्षित बच्चा जन्माउन सक्ने भएका छन् ।

यहाँको भरतपुर अस्पतालभित्र रहेको एड्स हेल्थ फाउन्डेसन नेपालले सङ्क्रमित महिलालाई सङ्क्रमित आमाबाट सुरक्षित बच्चा जन्माउन सहयोग गर्दै आएको छ । गएको एक वर्षमा गर्भवती आठ आमामध्ये चारजनाले सुरक्षित बच्चा जन्माइसकेका छन् भने चारजना जन्माउने तयारीमा छन् । अघिल्लो वर्षको वैशाखबाट गत चैत मसान्तसम्ममा चारजना आमाले सुरक्षित बच्चा जन्माएको फाउन्डेसनका संयोजक कृष्ण सापकोटाले बताए ।

सन् २०१५ भरमा सुरक्षित बच्चा जन्माउने आमाको सङ्ख्या छ रहेको थियो । विसं २०६५ बाट कार्य गर्र्दै आएको उक्त संस्थाको सहयोगमा हालसम्म ७० जना एचआइभी सङ्क्रमित आमाले बच्चा जन्माइसकेका छन् । जसमध्ये तीनजना बच्चामा मात्रै एचआइभी एड्सको सङ्क्रमण भेटिएको संयोजक सापकोटाले बताए । तीमध्ये दुईजनाको मृत्यु भइसकेको छ भने एकजना जीवित रहेको र औषधि सेवन गरिरहेका छन् ।

फाउन्डेसनमा एचआइभी सङ्क्रमितलाई औषधि उपचार गर्दै आउनुभएका डा उन्नत श्रेष्ठ नियमित औषधि सेवन गर्ने, सुत्केरी गराउन अस्पताल आउने आमाबाट जन्मिएको बच्चा सङ्क्रमणरहित हुने प्रवल सम्भावना हुने बताए ।

सामान्यतः औषधि प्रयोग नगरेका आमाबाट जन्मिएका बच्चामा चारजनामध्ये एकजनामा एचआइभी सङ्क्रमण सर्ने सम्भावना रहन्छ भने औषधि सेवन गरेका र उच्च सतर्कता अपनाएका आमाबाट जन्मिएका अधिकतम बच्चा सङ्क्रमणबाट बचाउन सकिने उहाँको भनाइ छ । बच्चा जन्मदा रगतमा बढी लतपत हुने र जन्मिएपछि छ हप्तासम्म नेभिरापिन नामक औषधि खुवाउनुपर्ने हुँदा बच्चा जन्माउँदा अनिवार्य अस्पतालमा आउनुपर्ने उनको भनाई छ । रगतको कम लतपत होस् भन्नका लागि यस्ता आमाको शल्यक्रिया गरी बच्चा निकाल्ने गरिन्छ ।

भरतपुर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा मोना श्रेष्ठले एचआइभी सङ्क्रमित आमाबाट बच्चा जन्माउन अन्यत्र कसैले नमान्ने भए पनि आफूहरुले भरतपुर अस्पतालमा नियमित रुपमा यो काम गरिरहेको बताइन्। उनीहरुलाई औषधि उपचार गराउने चिकित्सकले दिएको परामर्शअनुसार सङ्क्रमित आमाले सावधानी अपनाएर काम गरेमा रोग नसर्ने उनले उल्लेख गरिन्।

एचआइभी सङ्क्रमितले एन्टिरेट्रोभाइरल थेरापी प्रयोग गर्दै आएका छन् । चितवनमा हालसम्म दर्ता भएका एक हजार २९१ सङ्क्रमितमध्ये ६१५ जनाले हाल थेरापी प्रयोग गर्दै आएका छन् । चिकित्सकले गर्भ रहनुभन्दा दुई वर्षअघिदेखि थेरापी प्रयोग गर्दै आएका र सिडी फोरको तह ५०० भन्दा माथि भएका महिला अरु बढी सुरक्षित हुने गरेको बताएका छन् ।

फाउन्डेसनका संयोजक सापकोटा विश्वमा क्युवामा शतप्रतिशत आमाले सुरक्षित बच्चा जन्माएको तथ्याङ्क बाहिर आएको बताउँछन । त्यसपछि नेपालको भरतपुर केन्द्र सुरक्षित बच्चा जन्माउने दोस्रो नम्बरमा रहेको उहाँले दाबी गरे । रासस

About The Author

अन्य समाचारहरु: