९ बैशाख, धादिङ – भुकम्पका कारण भत्किएका विद्यालय भवनहरु पुर्ननिर्माण नभएका कारण उत्तरी धादिङका विद्यालय जाने बालवालिकाहरु विद्यालय जानबाट बन्चित भएका छन् ।
भुकम्प गएको एक बर्ष वित्न अब केही दिन मात्र बाँकी छ तर विद्यालय बनाउने तिर भने कसैले पनि चासो दिएका छैनन् । उत्तरी धादिङमा भुकम्प पश्चात बालवालिकाहरुको र विद्यालयको क्षेत्रमा काम गर्नका लागि दर्जनौ गैर सरकारी संस्थाहरुले जिल्ला दैविक प्रकोप उद्दार समितिबाट अनुमति लिई कामका लागि गएका थिए ।
अहिले नयाँ शैक्षिक सत्र सुरु भएको छ । तर काम भने अझै भएको छैन । गत साल नयाँ शैक्षिक सत्र सुरु भएको केही दिनमा नै भुकम्पले विद्यालय भवनहरु भत्काएको थियो भने अब फेरी नयाँ शैक्षिक सत्र सुरु भइरहदाँ समेत भवनहरु पुन निर्माण हुन नसकेको कारण बिद्यालय जाने बालवालिकाहरु विद्यालय जान पाउने हो की नपाउने हो भन्ने कुराको अन्योलमा परेका छन् ।
विद्यालय भवन नभएका कारण उत्तरी धादिङका कतिपय स्थानका विद्यालय उमेरका बालवालिकाहरु त एक वर्षदेखि विद्यालय नै गएका छैनन् । लापा, सेतुङ, झार्लाङ, री लगायतका गाविसहरुमा भूकम्पले बढी मात्रामा क्षति पु¥याएको छ । यी गाविसहरुमा रहेका विद्यालय भवनहरु भत्केका कारण अस्थायी टहरामा पढाई संचालन गरिएको छ ।
अस्थाई विद्यालय बनाउने जिम्मा लिएका केही संस्थाले भने भुकम्प गएको केही महिनामा नै तत्कालका लागि अस्थाई सिकाई केन्द्र बनाएर विद्यलयका कक्षाहरु संचालन गराएको थियो । कतिपय विद्यालयहरुले भने अस्थाई सिकाई केन्द्रमा र भत्किएकै जोखियुक्त भवनमा नै कक्षा संचालन गर्दै आएका छन् । धादिङ जिल्लामा मात्र गत बेशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण ३ सय १८ ओटा विद्यालय भवनहरु पुर्ण रुपमा क्षती भएको थियो ।