९ वैशाख, इलाम -पूर्वसभामुख तथा नेकपा एमाले नेता सुवास नेम्वाङले नेपालको संविधान जाति भाषा, लिङ्ग सबैको सहमतिको दस्तावेज रहेको बताएका छन् ।

अनेरास्ववियु इलामले इलाममा गरेको संविधानसम्बन्धी अन्तरक्रियामा नेता नेम्वाङले नेपाली जनताले ७० वर्षदेखि नयाँ संविधानको जुन चाहना गरेका थिए त्यो चाहना संविधानसभाबाट पूरा गराएको उल्लेख गरे ।
धेरैले यो संविधानलाई स्वीकार गरेको र थोरैले मात्र संविधान आफू अनूकूल नरहेको प्रतिक्रिया दिइरहँदा ९० प्रतिशत सांसदको हस्ताक्षरबाट अनुमोदित भएको यो संविधान विश्वकै उत्कृष्ट रहेको उनको दाबी थियो ।
अङ्गिकृत नागरिकताका विषयमा विभिन्न टिकाटिप्पणी आइरहँदा नेपालको संविधान विदेशी चेलीहरूप्रति उदार रहेको र संविधान जारी भएयता दुई हजार सातजना भारतीय चेलीहरूले अङ्गिकृत वैवाहिक नागरिकता प्राप्त गरेको उनले बताए । रासस