६ बैशाख, धादिङ – धादिङबेसीमा तीनदिने निशुल्क मधुमेह (चिनी) रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
नेपाल भारत मानव विकास एवम् मैत्री संघ धादिङ र गान्धी ग्लोबल फेमिली नेपालको आयोजनामा संचालन गरिएको शिविरमा ७ सय ८७ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।
स्वास्थ्य जाँच गराएका मध्ये ३ सय भन्दा बढीमा मधुमेह रोग देखिएको नेपाल भारत मानव विकास एवम् मैत्री संघ नेपालका अध्यक्ष सूर्य भुषालले जानकारी दिए ।
मधुमेहको रोग देखिएकाहरुलाई निशुल्क रुपमा औषधी पनि वितरण गरिएको छ । खासगरी बशांनुगत गुण, जन्मजात तथा बढी चिन्ता लिदा मधुमेह रोग लाग्ने भुषालले बताए ।
शिविरमा सदरमुकाम धादिङबेसी लगायत नलाङ, सलाङ, खरी, सुनौलाबजार, साँकोष, मुरलीभन्ज्याङ लगाायतका ठाँउहरुका मानिसहरुले स्वास्थ्य परीक्षण गराएका छन् । शनिबारदेखि सुरु भएको स्वास्थ्य शिविर सोमबार सम्पन्न भएको हो ।