Fri. Jan 31st, 2025

नेपाल र नामिबिया आज भिड्दै

Nepal-Vs-Namibia४ बैशाख, धादिङ – आइसिसी वल्र्ड डिभिजन लिग क्रिकेट प्रतियोगितामा शनिबार नेपालले नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । नामिबिया दक्षिण अफ्रिकाकै बलियो राष्ट्र मानिन्छ । चार खेल गुमाएर नेपाल लिग अंकतालिकाको पुछारमा छ । नामिबियाले २ अंक हात पारेको छ । नेपालले नामिबियालाई हराए शीर्ष चारभित्र प्रवेशको बाटो खुल्नेछ ।

तीनपटक भिडन्त
१५ वर्ष माथिल्लो डिभिजनमा प्रतिस्पर्धा गरेको नामिबियाले सन् २००३ मा एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितासमेत खेलिसकेको छ । लामो समय डिभिजन– १ मा रहेको नामिबियाविरुद्ध नेपालले १५ महिनाअघि डिभिजन– २ मा प्रतिस्पर्धा गरेको थियो । आधिकारिक मानिएको सो खेलमा नेपालले तीन विकेटको जित निकाल्यो । यसअघि आइसिसीले मान्यता प्रदान नगरेको दुई अभ्यास खेलमा नेपालले बराबरी नतिजा हात पारेको थियो ।

घरेलु मैदानको फाइदा
नेपाललाई घरेलु मैदानको फाइदा हुनेछ । टर्निङ पिचमा नेपाली स्पिनर चम्कन सक्छन् । नेपालले तीन युवा खेलाडीलाई मौका दिएको छ । शक्ति गौचन, वसन्त रेग्मी, सुशन भारी तथा सन्दीप लामिछाने चम्के भने नामिबियाको ब्याटिङ लाइन धरापमा पर्न सक्छ । अर्कोतिर घरेलु समर्थकको साथ पनि पाउनेछन् । हजारौँ घरेलु समर्थक र मैदानमा नेपाली टोलीको प्रदर्शन अब्बल नै रहँदै आएको छ । अहिले पनि नेपाली खेलाडीले त्यसैको फाइदा उठाउन कोसिस गर्नेछन् ।

विदेशी प्रशिक्षक र कप्तान नेपाली समर्थकसँग सचेत
नेपालझैँ नामिबियालाई पनि शीर्ष चारभित्र प्रवेश गर्न दबाब छ । पहिलोपटक दक्षिण अफ्रिकी टोलीका रूपमा नामिबियाले त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नामिबियाका प्रशिक्षक डी ठाकुर र कप्तान स्टेफन बार्ड नेपाली समर्थकसँग सतर्क छन् । ठाकुर र बार्डले घरेलु समर्थक तथा मैदानमा नेपालको प्रदर्शन उत्कृष्ट हुने बताइसकेका छन् । करिब १५ हजार दर्शकमाझ नामिबियाका खेलाडी ‘नर्भस’ हुन सक्ने उनीहरूको अनुमान छ । ‘हामी यस किसिमको वातावरणमा अभ्यस्त छैनौँ, यसकारण नेपाली हजारांँ समर्थकबीच प्रतिस्पर्धा गरिरहँदा चर्को दबाब सामना गरिरहनुपर्छ,’ प्रशिक्षक ठाकुरले भने । नयाँ पत्रिका दैनिकबाट

About The Author

अन्य समाचारहरु: