३ बैशाख, जेनेभा – विश्व स्वास्थ्य संगठन डब्लुएचओले अबको एक वर्षभित्र विश्वबाटै पोलियो उन्मुलन हुने घोषणा गरेको छ । पोलियो उन्मुलनका लागि डब्लुएचओले कयौंवर्षदेखि विश्वभर अभियान चलाउँदैं आएको छ ।
सन् २०१६ को चार महिनामा डब्लुएचओले अहिलेसम्म २ देशमा पोलियोका केस फेला पारेको छ । अफगानिस्तान र पाकिस्तानमा पोलियोका ९ केस फेला परेका हुन् । जसअनुसार अफगानिस्तानमा २ वटा र पाकिस्तानका ७ केस छन् ।
भारतमा पोलियो समाप्त भएपछि छिमेकी अफगानिस्तान र पाकिस्तानका कारण अझै पनि सतर्कता कायमै रहेको जनाइएको छ ।
सन् १९८० पछि पोलियोको भाइरस दादुरापछि बढी फैलने भाइरस मानिएको छ । यसअघि डब्लुएचओले सन् २००० सम्ममा पोलियो उन्मुलनको लक्ष्य राखेको थियो । तर, यसपटक सन् २०१६ को अन्त्यसम्ममा विश्वबाटै पोलियो उन्मुलन गर्ने घोषणा गरेको छ ।
पोेलियो उन्मुलन अभियान सन् १९८० देखि विश्वका १ सय ५० देशमा एकसाथ भएको थियो थियो । अब जम्मा २ देशमा मात्र पोलियोको प्रभाव देखिएको छ । ‘यो एक खालको उपलब्धी हो,’ डब्लुएचओका पोलियो उन्मुलन अभियानका निर्देशक मिसेल जाफरानले भने । एजेन्सी