काठमाडौं: कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभाबी खाँदा महिलाहरूको ज्यानै धरापमा परेको छ । औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिए पनि निगरानी नगर्दा जथाभाबी औषधि खाएर महिला रगताम्मे वा बेहोस भएर अस्पताल पुग्ने गरेका छन् ।
गर्भ रहेको पत्तो पाउनासाथ काठमाडौं कलंकीकी १९ वर्षीया एक महिला नजिकैको औषधि पसलमा पुगिन् । औषधि पसलले चुपचाप चर्को शुल्क असुल्दै उनको हातमा गर्भ तुहाउने औषधि थमाइदिए । औषधि खाएपछि उनको तल्लो पेट दुख्न थाल्यो । पेटदुखाइ बढ्दै जाँदा रगत पनि बग्न थाल्यो । रिँगटा पनि बढ्दै गयो । ठीक हुने आसमा परिवारले केही दिन उनलाई घरमै थुमथुम्याए । रक्त श्राव र कमजोरीले उनी अचेत भइन् । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पुर्याउँदा सिकिस्त उनलाई बचाउन चिकित्सकलाई हम्मेहम्मे पर्यो ।
पूर्ण जानकारी नलिई उनले साथीको लहैलहैमा औषधि खाएकी थिइन् । कुन औषधि कसरी खानुभयो भन्ने चिकित्सकको प्रश्नको उत्तर दिन सकिनन् उनले ।
सोही अस्पतालमै केही दिनपछि अर्की किशोरी पुगिन् गम्भीर अवस्थामा । बजारबाट किनिएको औषधि तालमेल नमिलाई खाँदा दुई सातामै उनी पनि थला परिन् । गुप्तांग चिलाउन थाल्यो । रगतसँगै पीप बग्न थाल्यो । आत्तिएर प्रेमीका साथमा अस्पताल पुग्दा उनको भ्रूणको केही भाग पेटमा रहेकाले संक्रमण फैलिसकेको चिकित्सकले पुष्टि गरे ।
काठमाडौंकी एक चिकित्सकको क्लिनिकमा नियमित जाँच गराइरहेकी एक महिलाले छल गर्दै छेउकै पसलबाट गर्भपतनको औषधि किनेर खाइन् । डाक्टरले मगाउनुभएको भन्दै ती महिलाले पसलेलाई झुक्याएर औषधि हात पारेकी थिइन् । केही दिनपछि उनको तल्लो पेट दुख्न थाल्यो । रगत पनि अत्यधिक बग्न थाल्यो । अन्ततः त्यही क्लिनिकको ढोका ढकढक्याउन पुगिन् ।
काम, अध्ययन, श्रीमान्, घरपरिवारको दबाब, स्वास्थ्य, अज्ञानतालगायत कारणले गर्भ तुहाउन तयार भइरहेका छन् महिला । अस्पतालमा उपकरणद्वारा गर्भपतन गर्न व्यक्तिगत र पारिवारिक विवरण पेस गर्नुपर्ने, घन्टौं कुर्नुपर्ने । त्यसको सट्टा खुसुक्क औषधि पसल छिर्ने, कसैले नाम सोध्ला भन्ने झन्झट नहुने, गर्भबारे पनि बताउनु नपर्ने, पैसा दिए हातमा औषधि पर्ने, सुटुक्क खान पनि मिल्ने हुँदा गर्भ तुहाउने औषधिमा आकर्षण बढेको छ ।
गर्भ तुहाउने औषधिको जथाभाबी प्रयोगले गम्भीर बिरामी भएर सरकारी अस्पताल पुग्ने महिलाको संख्या बढेको छ । बजारमा पनि छ्यापछ्याप्ती पाइने गर्भपतनका औषधि गर्भको जाँचै नगरी, कहिले, कसरी खाने र खाएपछि के ‘साइड इफेक्ट’ देखिन्छ भन्नेबारे कुनै परामर्श नगरी बेच्ने गरिएको छ । सूचीकृत संस्थाबाट तालिम प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीको सिफारिसमा मात्र यो औषधि खानुपर्छ, कानुनअनुसार ।
प्रसूति अस्पतालकी विशेषज्ञ डा. उषाकिरण खाँडका अनुसार स्वास्थ्यकर्मीको सिफारिसमा निश्चित समय र मात्रा मिलाएर खानुपर्ने औषधि आफूखुसी खाँदा गम्भीर अवस्थामा अस्पताल आउने बढेका छन् । त्यसमा धेरैजसो सहरी क्षेत्रका छन् । कतिपयले श्रीमानले ल्याएपछि खाएको भन्दै चिकित्सकसँग बिलौना गर्छन् । कतिपयले औषधि खाएको भन्न चाहन्नन् ।
अधिकांशले जानकारी नै नलिएर औषधि खाएका हुन्छन् । खाँडले जथाभाबी औषधिको प्रयोगद्वारा गरिने गर्भपतनका कारण महिलाको स्वास्थ्य संकटमा परेको बताइन् । ‘जथाभाबी औषधि खाँदा ठूल्ठूला जटिलता उत्पन्न हुने गरेको छ । उनीहरूको अवस्था निकै गम्भीर बन्ने गर्छ । कहिलेकहीं हामीलाई बचाउन ठूलै संघर्ष गर्नुपर्छ’, उनले भनिन्, ‘औषधि आफैंमा नराम्रो होइन तर त्यसलाई सही तरिकाले नखाँदा र कसरी खाने भन्नेबारे नसिकाउँदा यस्ता जटिलता उत्पन्न भइरहेको छ ।’
कानुनमा ८ सातासम्मको गर्भलाई औषधिद्वारा तुहाउने अधिकार छ । कतिपय महिलाले औषधि नपाउने डरमा ढाँटेर औषधि किन्छन् । समय लम्बिएको गर्भ तुहाउँदा अत्यधिक रक्त श्राव हुनसक्छ । त्यसबाट ज्यानसमेत जानसक्ने चिकित्सक बताउँछन् । डा. खाँडका अनुसार गर्भपतनका लागि खाने औषधि संवेदनशील भएकाले मात्रा र समय मिलाएर खाएन भने विषमा परिणत हुन्छ ।
‘आफूखुसी औषधि खाँदा रक्त श्राव भइरहने, बेहोस हुने, कमजोरी देखापर्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने समस्या लिएर महिला आउँछन् । कतिपयको पाठेघर फुटेको हुन्छ’, उनले भनिन्, ‘महिलाको स्वास्थ्य आफैंमा कमजोर हुन्छ । त्यसमा पनि पटकपटक गर्भवती बन्ने र त्यसलाई तुहाउने गर्दा झनै नाजुक बन्छ ।’
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा केही समयअघि सातवटा गर्भपतनका ‘केस’ अध्ययन गर्दा पाँच महिला गर्भ तुहाउन बजारबाटै औषधि खाएर अत्यधिक रक्त श्रावको समस्या लिएर अस्पताल पुगेका थिए । जथाभाबी औषधि खाएका कतिपय महिला भ्रूणको केही भाग पेटमै रहँदा संक्रमण फैलिएको अवस्थामा अस्पताल आइपुग्छन्, जसलाई शल्यक्रिया गरी फाल्नुपर्छ । कतिपय महिलालाई लामो समयसम्म रगत चढाउनुपर्ने हुन्छ ।
प्रसूति अस्पताल आएका सातवटा गर्भपतनका ‘केस’ अध्ययन गर्दा गर्भ तुहाउन बजारबाट औषधि खाएपछि पाँच महिला अत्यधिक रक्त श्रावको समस्या लिएर अस्पताल आएका थिए ।
गर्भपतनका लागि औषधि व्यवस्था विभागले चारवटा ब्रान्डका औषधिलाई मात्र बिक्री गर्ने अनुमति दिएको छ । तर दर्जनौ ब्रान्डका औषधि बजारमा बिक्री भइरहेका छन् । औषधि व्यवस्था विभागले त्यसको निगरानी राख्नसकेको छैन ।
तत्कालीन स्वास्थ्य सचिवले चार वर्षअघि विकृति बढेकाले औषधिद्वारा गरिने गर्भपतन बन्द गर्न निर्देशनसहितको पत्र पठाए पनि अहिलेसम्म यसबारे अनुगमनसमेत भएको छैन । औषधि खाएर गर्भ तुहाउनेको संख्या बढेपछि सूचीकृत संस्थामा गर्भपतन गराउनेको संख्या घट्दै गएको छ । अहिले वर्षमा एक लाखको हाराहारीमा गर्भपतन भइरहेको तथ्यांक सरकारसँग छ । असुरक्षित गर्भपतनबारे सरकारसँगै कुनै तथ्यांक छैन । कानुनले निर्दिष्ट गरेको प्रविधिभित्र रहेर गर्भपतन गर्न पाउनुलाई महिलाको प्रजनन अधिकारका रूपमा लिएको छ ।
२०६० सालमा सुरु भएको सुरक्षित गर्भपतन सेवा यससम्बन्धी राष्ट्रिय नीति लागू भएपछि मुलुकभर विस्तार गरिएको छ । सेवा विस्तारसँगै विकृति बढेको जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती बताउँछिन् । उनका अनुसार औषधिद्वारा गरिने गर्भपतन परिवार नियोजनको साधन बन्दैछ । परिवार नियोजनको साधन प्रयोग गरेर जीवन सुरक्षित बनाउनुको सट्टा महिला जथाभाबी औषधि खाएर मृत्यु अँगाल्न थालेका छन् । ‘पहिले हामीले गर्भपतनलाई मान्यता दिनुपर्छ भन्ने आवाज उठायौं । त्यसलै राम्रै प्रतिफल दियो तर त्यसको दुरुपयोग व्यापक रूपमा हुन थाल्यो’, उप्रेतीले भनिन्, ‘अब सबैले जथाभाबी औषधि खाएर गरिन थालेको गर्भपतनविरुद्ध आवाज उठाउनुपर्छ ।’ नागरिक दैनीकबाट