२९ चैत, काठमाडौं – सर्वोच्च अदालतले सरोगेसी सेवामा रोक लगाएपछि सरकारले गर्भमा रहेका र जन्मिसकेका शिशुको भविष्यबारे निर्णय गरिसकेको छ तर अस्पतालले समय नपुग्दै शल्यक्रियाको जोखिम उठाइरहेको छ ।
अस्पतालले बच्चा जन्मिने परिपक्व समय नपुग्दै शल्यक्रिया गरेर सरोगेट दम्पतीलाई शिशु बुझाउन थालेका छन् । उनीहरुले गर्भाधान भएको सात महिना नपुग्दै सम्बन्धित सरोगेट आमाको गर्भबाट शिशु निकालेर हस्तान्तरण गर्न लागेका हुन् ।
एक अष्ट्रेलियन दम्पतीले एक भारतीय महिलामा २०७२ साउन ३ गते भ्रुण प्रत्यारोपण गरेको थियो । काठमाडौं प्रमुख सरोगेसी सेवाप्रदायक अस्पताल ग्रान्डी सिटी क्लिनिकले २०७२ माघ १४ मा शल्यक्रिया गरेर जुम्ल्याहा शिशु जन्माएको छ जुन गर्भ रहेको ६ महिना ७ दिन मात्र हो ।
अर्को एक अस्ट्रेलियन जोडीले २०७२ साउन १७ गते भारतीय आमासँग कोखा भाडामा लिएकोमा त्यही अस्पतालबाट सातौ महिनामा शल्यक्रियाबाट शिशु जन्माइएको थियो । गर्भाधानको छैंटौं, सातौँ र आठौँ महिनामा शल्यक्रियामार्फत शिशु दिइएका धेरै घटना सार्वजनिक भएका छन् ।
गृह मन्त्रालय र अध्यागमन विमागले गत कात्तिक १२ मा जन्मिसकेका र सर्वोच्चले आदेश दिनुअघि गर्भवती भइसकेका सरोगेट आमाबाट भविष्यमा जन्मने शिशुलाई विदेशी दम्पतीले घर लैजान पाउने निर्णय गरे । अदालतको निर्णयअघि गर्भाधान भएका आमाहरुको हकमा ९ महिनासम्म पर्खिने निर्णयसमेत भएको थियो । नागरिक दैनिकबाट