Tue. Mar 25th, 2025

काठ नहुँदा मनकामना मन्दिर जीर्णोद्धारमा ढिलाइ

Manakamana-Temple-px_596345108

२६ चैत्र, गोरखा  – टिम्बर कर्पोरेसन नेपालले चाहिएजति काठ उपलब्ध गराउन नसक्दा प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर जीर्णोद्धारमा ढिलाइ भएको छ ।

मन्दिरको जीर्णोद्धार ९पुनःनिर्माण० गत साउन महिनादेखि सुरु भएपनि अहिलेसम्म एकतला पनि निर्माण गर्न सकिएको छैन । दुई वर्षभित्र मन्दिर निर्माण गरिसक्ने पूर्व योजना भएपनि काठको अभाव भएपछि जीर्णोद्धारमा ढिलाइ भएको हो ।

“मन्दिर जीर्णोद्धार गर्न एकहजार एकसय क्युफिट काठ चाहिन्छ,” मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले भने – “टिम्बर कर्पोरेसनले सग्ला काठ दिन सकेन ।” काठ माग्न धेरैपटक कर्पोरेसन गए पनि मागअनुसार काठ नपाएको श्रेष्ठले गुनासो गरे । मन्दिरको जीर्णोद्धार गर्न रु ४३ लाख मूल्य बराबरको काठ आवश्यक पर्छ ।

मन्दिरका पुराना काठ काम नलाग्ने भएपछि धेरै काठ आवश्यक परेको हो । अध्यक्ष श्रेष्ठले भने – “पुरातत्व विभागले ३० प्रतिशत काठ पुरानै प्रयोग गर्न मिल्छ भनेको थियो । मक्किएको काठ हामीले पुनः प्रयोग गरेनौँ, त्यसैले धेरै काठ चाहिएको हो ।” काठको अभावले गर्दा पुनःनिर्माणमा केही ढिलाइ भएको श्रेष्ठ बताए ।

मन्दिर पुनःनिर्माणको काम भक्तपुरका कालिगढले गरिरहेका छन् । झ्याल, ढोका, थाम, दलिन, टुँडाललगायत सामग्रीमा बुट्टा भर्न समय लाग्ने भएकाले पनि पुनःनिर्माणमा ढिलाइ भएको हो । “जगैदेखि भत्काएर बनाए पनि मन्दिर दुरुस्तै पुरानो शैलीको हुन्छ । पुरातत्वको मापदण्डअनुसार बनाएका छौँ,” श्रेष्ठले भने – “मन्दिर निर्माण नहुँदासम्म बाहिरै पूजा गर्न मिल्ने व्यवस्था मिलाएका छौँ ।”

मन्दिरको पुनःनिर्माण चलिरहे पनि भक्तजनको भीड नघटेको पुजारी इन्शानबहादुर थापाले बताए । भूकम्प, मधेस आन्दोलन र भारतीय पक्षले गरेको नाकाबन्दीले मन्दिर दर्शन गर्न आउने भक्तजन केही मात्रामा घटेको उनको भनाइ छ । मनकामना मन्दिरमा एक दिनमा तीन हजारदेखि सात हजारसम्म भक्तजनको घुइँचो लाग्छ । अधिकांश भक्तजन केबलकार चढेर मन्दिर आवतजावत गर्छन् भने केही भक्तजन सडक मार्गमार्फत् पनि मनकामना पुग्छन् ।

मन्दिर पुनःनिर्माणका लागि करिब रु। १४ करोड आवश्यक पर्ने देखिएको छ । सरकारले दुईपटक गरी रु चार करोड उपलब्ध गराएको थियो ।

यस्तै, मन्दिर पुगेका भक्तजनबाट पनि चन्दा सहयोग लिइएको छ । भक्तजनबाट रु पाँच करोड सङ्कलन भइसकेको छ । मन्दिर क्षेत्रको सुरक्षाका लागि सिसी क्यामेरा जडान गरिएको छ । मन्दिरको गजुरलगायत महत्वपूर्ण सामग्रीको सुरक्षा नेपाल प्रहरीले गर्दैआएको छ । रासस

About The Author

अन्य समाचारहरु: