२६ चैत, धादिङ – नायिका रेखा थापा आफैंले निर्माण तथा अभिनय गरेको चलचित्र रामप्यारी शुक्रबारदेखि देशैभरका सिनेमाहलहरुमा प्रदर्शनमा आएको छ । धादिङमा रहेको एक मात्र सिनेमा हल ओम शान्ति चलचित्र मन्दिरमा पनि आजदेखि प्रदर्शन हुने जानकारी गराइएको छ ।
महिला टेम्पु चालकको अवस्थाको विषयबस्तुलाई समेटेर निर्माण गरिएको चलचित्रमा रेखा महिला टेम्पु चालकको भूमिकामा देखिएकी छिन् । उनले यो फिल्ममा खलनायकहरुसँग भिड्ने र लड्ने मात्र नभई बाइक उडाउनेसम्मका एक्सन देखाएकी छिन् ।
सविर श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा रेखा सँगै सविन श्रेष्ठ, नायिका आश्मा डिसी र नव नायक आभाष अधिकारीको अभिनय रहेको छ । नव नायक आभाष रेखाका दिदीका छोरा हुन् । रेखा आफैंले शीर्ष भूमिकामा प्रस्तुत भएर आफैंले निर्माण गरेका पछिल्ला दुईवटा चलचित्र काली र हिम्मतवाली सफल भएका थिए । त्यसैले यो चलचित्रबाट पनि निराश हुनु नपर्ने रेखाको अनुमान छ ।