२६ चैत, काठमाडौं – अढाइ वर्षदेखि उच्च रक्तचापको औषधि सेवन गरिरहेका कैलाली धनगढी नगरपालिका-३ का ७२ वर्षीय होमनाथ ढकालललाई आफू र परिवारका अन्य सदस्यमा पटक-पटक स्वास्थ्य समस्या देखापर्दा उपचारका लागि आर्थिक जोहो गर्न हम्मे पर्थ्यो । स्वास्थ्यभन्दा ठूलो धन अरु केही हुन सक्दैन भन्ने बुझेका ढकालले आर्थिक अवस्था कमजोर भएका कारण गर्दा पाउने गरेको सकस अब हट्ने भएको छ ।
सरकारले ५० करोड रुपैयाँ छुट्याउँदै बिहीबार कैलालीमा सुरु गरेको बहुप्रतिक्षित स्वास्थ्य बीमा कार्यक्रमको पहिलो सदस्य बनेको ढकाल परिवार । अब स्वास्थ्यमा जुनसुकै समस्या आए पनि ढकाल परिवारका कुनै पनि सदस्यले सरकारले तोकेका स्वास्थ्य संस्थाबाट निःशुल्क उपचार पाउनेछन् ।
सरकारी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा सहयोगी भूमिका निर्वाह गर्दै आएका आफ्नै छोरा शंकरले घरमै पुगेर बीमको सदस्यता प्रदान गर्दा होमनाथ दंग परे ।
कार्यक्रम सुरु गर्न कैलाली पुगेका स्वास्थ्य मन्त्रालयका सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका सदस्य शाखा अधिकृत तुल्सी भट्टराईका अनुसार ढकाल परिवारसँगै बिहीबार कैलालीमा ३० जनाले स्वास्थ्य बीमाको सदस्यता लिएका छन् । उनले सरकारी स्वास्थ्य बीमाको सदस्यता लिएका परिवारका सदस्यहरुले प्राथमिक स्वास्थ्य केन्द्रदेखि केन्द्रीय अस्पतालसम्म आवश्यक स्वास्थ्य सेवा लिन सक्ने बताए ।
अन्नपूर्णबाट