२५ चैत, धादिङ – शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शिक्षालाई मौलिक अधिकारको रुपमा लिनुपर्ने बताएका छन् ।
एसएलसी परीक्षाको निरीक्षण गर्ने क्रममा विहिबार धादिङ आइपुगेका उनले शिक्षामा परिवर्तन एकै पटक नभइ दशकौ लाग्ने भएका कारण शिक्षा प्रणाली शुद्धिकरण भइसकेपछि मात्र शिक्षक, विद्यार्थीहरुको मापन हुने बताए ।
सरकारले लागु गरेको लेटर ग्रेडिङ प्रणालीले सबै विद्यार्थीलाई पढ्ने अवसर प्रदान गरेको उनको भनाई छ । लेटर ग्रेडिङ प्रणालीले अघिल्लो वर्षको तुलनामा अहिले परीक्षा मर्यादित र व्यवस्थित भएको उनको दाबी छ । एसएलसीमा जति विद्यार्थी पास हुन्छन्, तिनिहरुलाई उच्च शिक्षा अध्ययनका लागि समावेश गराउन सकिन्छ कि सकिदैन भन्ने चिन्ता भएपनि सबै कलेजहरुमा विद्यार्थीहरुलाई समावेश गराउने चुनौती थपिएको बताए ।
भूकम्पले भत्काएको विद्यालय बनाउनका लागि २० करोड छुट्याइसकेको र अबको ३ वर्षभित्र भूकम्प प्रतिरोधी विद्यालय बनाउन कामलाई गति दिने समेत बताए । अहिलेको एसएलसी परीक्षा अस्थायी टहरा तथा टेन्टमा नै दिनुपर्ने बाध्यता आगामी वर्षमा नहुने समेत उनको दाबी छ ।
अबको वर्षमा कक्षा ८ सम्म आधारभूत र कक्षा १२ सम्म विद्यालय शिक्षाको रुपमा लैजाने तयारी भइरहेको समेत जानकारी गराए । अंपागता भएका विद्यार्थीहरुको परीक्षा प्रणालीमा पनि सुधार गर्न कार्यतालिका बनिसकेकोले अब छिट्टै कार्यन्वयनको पक्षमा लैजाने बताए ।
उनले नौविसेमा रहेको मछिन्द्र उमावि र थाक्रेमा रहेको जनजागृति उमाविको एसएलसी परीक्षा निरीक्षण गरेका हुन् ।