२ पुस ,धादिङ- आगामी दुई वर्षभित्र धादिङ जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला बनाउन रणनीति निर्माण गर्ने उद्देश्यले बुधबारबाट प्रथम जिल्ला सरसफाई सम्मेलन सुरु भएको छ ।
दुई दिनसम्म संचालन हुने सम्मेलनले जिल्लाका सबै घर घरमा चर्पी निर्माण गर्ने, चर्पीको उचित प्रयोग गर्ने र सरसफाईयुक्त जिल्ला बनाउन रणनीति तयार गर्न सहयोग पुग्ने आयोजकहरुले बताएका छन् ।
खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति धादिङको आयोजनामा भएको जिल्ला सरसफाई सम्मेलनलाई पूर्व स्थानीय विकास मन्त्री एवं् धादिङ क्षेत्र नम्बर ३ का सभाषद राजेन्द्र प्रसाद पाण्डेलेले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा सभाषद गुरुप्रसाद बुर्लाकोटी, परशुराम तामाङ, जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि सरकारी कार्यलयका प्रतिनिधिहरु, संघसंस्थाहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले जिल्लालाई खुल्ला दिशा मुक्त जिल्ला घोषणा गर्नु पहिले फोहोर ब्यबस्थापन गर्ने ठाउँको पहिचान गर्नु अति आवश्यक रहेको बताएका छन् । मोबाइल फोनमा गरिने लगानी भन्दा शौचालन निर्माण गर्न कम खर्च लाग्ने भएपनि यसतर्फ आम नागरिकले ध्यान पु¥याउन नसकेको गुनासो पनि सहभागीहरुले व्यक्त गरेका छन् ।
सम्मेलनको पहिलो दिन आज धादिङ जिल्लाको खानेपानी, सरसफाई र स्वाच्थ्यको वर्तमान अवस्था, सरसफाई प्रवद्र्धनका लागि चुनौति र सम्भावनाहरु, राष्ट्रिय सरसफाई गुरु योजना २०६८ का बारेमा जानकारी गराइएको छ । त्यस्तै सरसफाई प्रतिष्ठा प्रगति र सामाजिक बजारीकरण, धादिङ जिल्लाको प्रस्तावित सरसफाई रणनीतिक योजनाको बारेमा पनि जानकारी गराइएको छ ।
पुर्ण सरसफाई सबैको अभियान, सम्बृद्ध धादिङ हाम्रो पहिचान भन्ने नाराका साथ आजबाट सुरु भएको सम्मेलनले भोली पूर्ण सरसफाई सम्बन्धी धादिङ घोषणापत्र पनि जारी गर्दै समापन हुनेछ ।