राजाराम शर्मा, २४ चैत, धादिङ – नेपाली युवाहरुको मुख्य गन्तव्य भनेको वैदेशिक रोजगारी बनेको छ । त्यसमाथि पनि धादिङ जिल्लाबाट विदेशिनेहरु प्रशस्त मात्रामा भेट्न सकिन्छ । घरको आर्थिक अवस्था धान्नका लागि पनि पढाईलाई बीचमा नै छाडेर विदेशिनेहरुको लहर देख्न सकिन्छ ।
रोजगारीमा जाँदा प्रक्रिया पूरा नगर्ने, सीप नसिक्ने र कागजातहरु घर परिवारलाई नछोड्नाले धेरैले दुख वेहोर्नु परेको छ । दलालहरुको विश्वास गर्दा ठगिने, कामका सम्बन्धमा गरिएको सम्झौता नहेर्ने र रकम दिएको भरपाई पनि नलिदाँ वैदेशिक रोजगारमा जानेहरुले दःख पाएको उदाहरण धादिङ जिल्लामा प्रशस्तै भेटिएका छन् ।
यस क्रममा धादिङको नलाङ गाउँ विकास समितिमा पनि वैदैशिक रोजगारीमा जानेहरु ठगिएका, दःख पाएका धेरै भेटिएका छन् । स्वीस हेल्भेटास इन्टरकोअपरेशनको सहयोगमा सञ्चालन भैरहेको सुरक्षित आप्रवासन परियोजना सामी अन्तरगत बुधबार अनुगमन गर्ने क्रममा थुप्रैले दुःख पाएको भटिएको हो ।
अनुगमनका क्रममा रोजगारीका लागि विदेश गएका नलाङ ९ का समीर सिलवाल १४ वर्षदेखि बेपत्ता छन् । घर परिवारमा कागजपत्र नछोड्दा समीरको खोजिमा समस्या भएको बाबु पूर्णप्रसाद सिलवालले बताए । त्यस्तै नलाङ ७ का दुर्गा खनालले आफ्ना दुईभाई कामका लागि मलेसिया गएका तर पहिले अनुसारको काम नपाएपछि फर्किएको बताइन् । भागेर फर्कने क्रममा राहदानी समेत अरुकै कब्जामा भएकोले समस्या भएको र जाने बेलामा दलाललाई दिएको लाखौं रुपैयाँ डुबेको खनालले गुनासो गरे ।
त्यसैगरी काम गर्ने क्रममा मलेसियाको एक कम्पनीमा मेसिनमा परेर ज्यान गुमाएका सिजन गिरीको क्षतिपूर्ति लिनको लागि समस्या परेको सीजनकी श्रीमती राधिका गिरीले बताइन् । क्षतिपूर्ति पाउन नसक्नुको पीडा त एकातिर छँदैछ , क्षतिपूर्ति पाएको पीडा पनि उस्तै छ ।
नलाङ ३ का जीवनाथ दुवाडीले आफ्नो जेठो छोरोलाई गुमाउनु प¥यो तर त्यस वापत पाएको क्षतिपूर्ति रकम पनि बुहारीले लिएपछि समस्या भएको बताए । छोरालाई विदेश जाँदा साहुसंग लिएको ऋण, छोराको काजक्रियामा खर्च भएको रकम र साथमा रहेको ३ वर्षिय नातीको पालनपोषणको समस्याले सताएको दुवाडीले बताए ।
क्षतिपूर्तिको रकम नातिको नाममा मात्र राखिदिन पाए उसको भविष्यको लागि काम लाग्ने उनको भनाई छ । तर श्रीमानको नाममा आएको रकमको हकदार श्रीमती हुने कानुनको कारण नातिको भविष्य अन्धकार हुनसक्ने दुवाडीको चिन्ता छ । अनुगमनका क्रममा देखिएका यस्ता समस्या सामी परियोजनको सहयोगमा समाधान गर्न पहल गर्ने सहभागिहरुले बताएका छन् ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकिय अधिकृत तोरण पराजुलीले वैदेशिक रोजगारीमा जाँदा आवश्यक प्रक्रिया पूरा गर्न, सीप सिकेर जान, कागजातहरु घर परिवारमा छोड्न, दलालहरुको भर नपर्न, कामका सम्बन्धमा गरिएको सम्झौता हेर्न र रकम दिएको भरपाई सुरक्षित राख्न आग्रह गरे ।
त्यसैगरी परियोजनाका जिल्ला प्रवन्धक कमल रोकाय र सिर्डस् धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतिले नलाङ लगायत धादिङका विभिन्न ठाउँमा भेटिएका बैदेशिक रोजगारी सम्बन्धि समस्या समाधान गर्न पहल गर्ने प्रतिवद्धता पनि जनाए ।